प्रतिबन्धित नेकपाबाट सत्तारूढ नेकपामा राइलाई प्रचण्डको स्वागत
काठमाडौं, १९ जेष्ठ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका पोलिटब्युरो सदस्य पदबहादुर राई सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । राईलाई आइतबार नेकपा केन्द्रीय कार्यलायमा अध्यक्ष प्रचण्डले स्वागत गरेका थिए ।
उनलाई पार्टीमा भित्र्याएर स्वागत गर्ने क्रममा पार्टी अध्यक्ष प्रचण्डले आफूले हुर्काएको सिकाएको र नेता बनाएको एक असल योद्धालाई पार्टीमा स्वागत गर्न पाउँदा अत्यन्तै खुसी लागेको सुनाए । पार्टी प्रवेशका क्रममा राईले गलत बाटोबाट हित हुँदैन भनेर पुरानै पार्टीमा फर्केको बताए ।
पूर्वभौतिक योजना तथा निर्माण राज्यमन्त्री राई तत्कालीन नेकपा माओवादी विभाजित भएपछि विप्लवसँग लागेका थिए। भोजपुरको बोया घर भएका राईसहितको नेता कार्यकर्ताको ठूलो पंक्ति तत्कालीन नेकपा माओवादी छाडेर विप्लवतर्फ लागेको थियो ।