काठमाडौं, २० जेष्ठ । कुनै अप्ठेरो काम फत्ते नभएमा भन्ने गरिन्छ ‘सगरमाथा चढ्न सजिलो छैन्’ यो भनाइ त्यत्तिकै जनजिब्रोमा झुण्डिएको होइन रहेछ भन्ने प्रमाण हो यस सिजनमा मात्रै नाै जना आराेहीको ज्यान जानु । यस वर्ष विश्वकै सर्वोच्च शिखर सगरमाथा चढ्ने आरोहीको संख्या बढेसँगै मृत्यु हुनेको संख्या पनि बढेकाे छ। सन् २०१९ मा नौ आरोहीको मृत्यु भएको पर्यटन विभागले जनाएको छ। यस वर्ष भारतका चार, अमेरिकाका दुई, बेलायतका एक, आयरल्यान्डका एक र एक नेपाली आरोहीको मृत्यु भएको छ। यस सिजनमा तीन सय ८१ जनाले सगरमाथा आरोहण गरेका छन्। सगरमाथामा ट्राफिक जामका कारण बढीले ज्यान गुमाउनुपरेको चर्चाबीच आरोहीको संख्या तोक्ने कि नतोक्ने भन्ने विषयमा बहससमेत सुरु भएको छ।
कतिपयले सगरमाथा आरोहणलाई सस्तो बन्न दिन नहुने र यसका लागि निश्चित मापदण्ड तय गरिनुपर्ने माग पनि गरेको पाइन्छ। तर, सरकार र शेर्पाहरू भने आरोहीको संख्या बढी भएकैले मृतकको संख्या बढेको अस्वीकार गर्छन् । अनुभवी गाइड र शेर्पा नलगेकाले आरोहीको मृत्यु भएको जानकारहरू बताउँछन् । यस वर्ष तीन सय ८१ जनाले पर्यटन विभागबाट आरोहणको अनुमति लिएका थिए । उनीहरूको शेर्पा र गाइडसमेत ६ सय ३१ जना सगरमाथा आरोहणमा गएका थिए । आरोहीको संख्या अघिल्ला वर्षमा भन्दा बढी भए पनि अत्याधिक भने होइन ।