सार्वजनिक जग्गा मिचेको देखेमा यसरी दिनुस् उजुरी


काठमाडौं : सरकारी, सार्वजनिक तथा गुठी जग्गा अतिक्रमण सम्बन्धमा उजुरी दिन सार्वजनिक आह्वान गरिएको छ । सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धी जाँचबुझ आयोगले कसैले जग्गा अतिक्रमण र हिनामिना गरेको सम्बन्धमा उजुरी दिन सार्वजनिक आह्वान गरेको हो। यस्तो सूचना तथा उजुरी अयोगको इमेल,फ्याक्स वा हुलाक मार्फत वा कार्यालयमा आफैं आई दिन सकिने छ । जाँचबुझ आयोगले ‘सरकारी, सार्वजनिक, गुठी जग्गा कुनै व्यक्ति वा संस्थाले गैह्र कानुनी तरिकाले दर्ता गरी गराई हिनामिना गरेको सम्बन्धमा र सार्वजनिक हितका लागि समय समयमा सरकारबाट अधिग्रहण तथा जफत गरिएका जग्गा हिनामिना भए गरेका सम्बन्धमा सूचना/जानकारी/निवेदन/उजुरी अयोगको इमेल,फ्याक्स वा हुलाक मार्फत वा कार्यालयमा आफै आई दिन सकिने’ उल्लेख छ ।
बालुवाटार जग्गाबारे सरकारले तीन कोणबाट अनुसन्धान थालेको छ : मन्त्री अर्याल



जेठ १५ गते सिंहदरबारभित्र केन्द्रीय सर्भिस सेन्टरको भवनमा कार्यालय स्थापना गरी आयोगले काम थालेको अध्यक्ष मोहनरमण भट्टराईले जानकारी दिए। उनका अनुसार आयोगले विज्ञहरूसँग छलफल र परामर्श थालेको छ। सोमबार आयोगले नापी विभागका पूर्व महानिर्देशक पुन्यप्रसाद ओली, सुकुम्बासी समाधान आयोगका पूर्व सदस्य एवं लेखक झलक सुवेदी, लेखक मुमाराम खनाल लगायतका विज्ञसँग छलफल र पदामर्श गरेको छ। जाँचबुझ आयोग ऐन २०२६ को दफा ३(२) बमोजिम सरकारले भट्टराईको अध्यक्षता जनकीबल्लभ अधिकारी, जगतबहादुर देउजा, दुर्गा दाहाल सदस्य रहेको आयोग गठन गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव शंकर थापालाई आयोगको सदस्य सचिव तोकिएको छ।
कसरी दिने उजुरी ?
सरकारी, सार्वजनिक, गुठी जग्गा कुनै व्यक्ति वा संस्थाले गैह्र कानुनी तरिकाले दर्ता गरी गराई हिनामिना गरेको भेटिएमा आयोगको इमेल ठेगाना plic@molcpa.gov.np मा जानकारी दिन सकिन्छ। आयोगको फोन नम्बर ०१-४२००६७० मा फोन गरेर वा फ्याक्स नम्बर ०१-४२००६७१ मा फ्याक्स गरेर पनि यसखालको सूचना दिन सकिन्छ । यस्तै सिंहदरबारभित्र रहेको केन्द्रीय सर्भिस सेन्टरमा रहेको आयोगको कार्यालयमा आफैं उपस्थित भएर पनि यसखालको निवेदन वा उजुरी दिन सकिन्छ। आयोगलाई हुलाकमार्फत (सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धी जाँचबुझ आयोग, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सिंहदरबार, काठमाडौं) पनि उजुरी पठाउन सकिनेछ। अन्नपूर्णबाट ।