काठमाडौं : रातो मच्छिन्द्रनाथको रथ बिहीबार अन्तिम दिन तानिएको छ। रथ ललितपुरको लगनखेलबाट जाउलाखेल लगिएको हो। यसैजात्रामा कुमारीको दर्शन गर्न भ्याइनभ्याइ भएको छ । वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथ रथयात्राका क्रममा बिहीबार ललितपुरमा जीवित देवी कुमारीको दर्शनका लागि भक्तजनको ओइरो लाग्यो। बैशाख शुक्ल पक्ष प्रतिपदादेखि सुरू भएको रातो मच्छिन्द्रनाथको जात्राको अवसरमा ललितपुरको कुमारीपाटीमा जीवित देवी कुमारीलाई भक्तजनको दर्शनका लागि राखिएको हो।
त्यसक्रममा कुमारीको दर्शन र आशिर्वाद लिनेहरुको घुँइचो लागेको थियो। करिब एक हजार ६०० वर्ष रातो मच्छिन्द्रनाथको रथयात्रा वैशाख शुक्ल पक्ष प्रतिपदादेखि असार शुक्ल चौथीसम्म दुई महिना मनाइन्छ । यो जात्राको विशिष्ट सांस्कृतिक एवं धार्मिक महत्व रहेको संस्कृतिविद बताउँछन् । पाटनको सबैभन्दा महत्वपूर्ण र उपत्यकाको सबैभन्दा लामो यो जात्राका क्रममा जीवित देवी कुमारीलाई हख बहालको मूलढोकामा राखिन्छ । मच्छिन्द्रनाथको सम्पूर्ण जात्रालाई जीवित देवीका रूपमा लिइने कुमारीले पनि अवलोकन गर्ने प्रचलन छ।
किम्वदन्तीका अनुसार लिच्छवी राजा नरेन्द्रदेवका पालामा भारतको कामरूप कामाख्या गई ’वुंगद्य’ अर्थात् रातो मच्छिन्द्रनाथलाई काठमाडौं उपत्यकामा ल्याइएको थियो । गुरु गोरखनाथले नव नागको आसन बनाई बसिदिएका कारण १२ वर्षसम्म पानी नपरी अनिकाल लागेपछि राजा नरेन्द्रदेव, तान्त्रिक बन्धुदत्त आचाजु, ललित ज्यापु तथा कर्कोटक नागराजासमेत कामरूप कामाख्या गई ‘वुंगद्य’ अर्थात् रातो मच्छिन्द्रनाथलाई काठमाडौं उपत्यकामा ल्याएका थिए । आफ्ना गुरु मच्छिन्द्रनाथ देखेपश्चात् गोरखनाथ गुरुको दर्शनका लागि जाने क्रममा नव नाग मुक्त भई वर्षा भएको र सहकाल लागेको विश्वास गरिँदै आएको छ।
वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ बिहीबार कीर्तिपुर, सतुङ्गल, मच्छेगाउँ, पुल्चोक, बलम्बु, थानकोट र पाँगा सात गाउँका मानिस आएर ठटिटोलदेखि इटिटोलको बाटो हुँदै मान भवन, कुमारीपाटी गरी जावलाखेल पुर्याएका हुन् । प्रत्येक गाउँबाट १५ देखि २० जनाको टोली धिमेबाजा बजाउँदै आएर करीब १५० देखि २०० जनाको टोलीले रथ तानेको थियो । हरेक वर्ष ठटिटोलबाट जावलाखेलसम्म रथ लान यी सात गाउँका मानिस अनिवार्य उपस्थित हुने चलन बसेको पाटनका स्थानीय सूर्यमान डङ्गोलले जानकारी दिए ।