सार्कको समस्या हल गर्न बिम्सटेक नै उत्तम विकल्पः एस जयशंकर
एजेन्सी : नवनियुक्त्त भारतीय विदेशमन्त्री एस जयशंकरले दक्षिण एसिया क्षेत्रमा कनेक्टिभिटी बढाउँदै आर्थिक सहकार्य विकास गर्ने कामलाई उच्च प्राथमिकतामा राखेको बताएका छन्। मन्त्री नियुक्त भएपछि पहिलो विदेश भ्रमणका क्रममा शुक्रबार भूटान जान लागेका उनले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को तुलनामा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्सटेक)लाई प्राथमिकता राखिएको संकेत गरे।
बिम्सटेकमा भारतसँग शत्रुतापूर्ण सम्बन्ध रहेको छिमेकी पाकिस्तान सामेल छैन। ‘सार्कमा केही समस्या छन्, सबैलाई थाहा भएकै कुरा हो’, जयशंकरले भने, ‘आतंकवादको मुद्दालाई पर राख्ने हो भने पनि सार्कमा व्यापार र कनेक्टिभिटीको समस्या छ। बिम्सटेक हाम्रो लागि हामीले खोजेजस्तै फोरम हो, आर्थिक सहकार्यको दिशामा बिम्सटेकप्रति हामी धेरै आशावादी छौं।’ उनले छिमेकीसँगको सम्बन्ध पनि उच्च प्राथमिकतामा रहने भन्दै भारतले ‘साना छिमेकीसँग’ उदारतापूर्वक व्यवहार गर्ने धारणा राखे।
‘हाम्रो स्रोतसाधन र क्षेत्रीय स्वार्थ वृहत्तर हुने हुँदा त्यस्तो सम्बन्ध ठ्याक्कै पारस्पारिक त हुन सक्दैन,’ बंगलादेशतर्फ संकेत गर्दै उनले भने, ‘तैपनि छिमेकीहरुले हामीबाट लाभ लिन सक्छन्।’ मन्त्री भएपछि क्षेत्रीय सहकार्यबारे उनले पहिलोपटक सार्वजनिक टिप्पणी गरेका हुन्।