सर्वोच्चको आदेशमा रिहा भए ज्ञानेन्द्र शाही

काठमाडौं, २४ जेष्ठ  :  ज्ञानेन्द्र शाही सर्वोच्च अदालतको आदेशबाट रिहा भएका छन् । भ्रष्टाचार विरोधी अभियन्ता शाहीलाई गैरकानूनी थुनामा राखिएको भन्दै परेको बन्दी प्रत्यक्षीकरणको रिटमा न्यायधीशद्वय आनन्दमोहन भट्टराई र हरि फुयालको संयुक्त इजलासले शुक्रबार रिहा गर्न आदेश दिएको हो ।

पत्रकारहरुलाई गालीगलौज गर्दै अन्तर्वार्ता दिएको आरोपमा शाहीलाई जेठ १५ गते प्रहरीले सुर्खेतको खुल्लामञ्चबाट पक्राउ गरेको थियो। शाहीको पक्षमा बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेलगायतले बहस गरेका थिए। भ्रष्टाचार विरुद्ध खरो रुपमा अभिव्यक्ति दिँदै आएका शाहीलाई उनको आवाज दबाउन भुठ्ठा मुद्दामा फँसाइएको भन्दै त्यसविरुद्ध नागरिक समाज आन्दोलित हुँदै आएको छ। शाहीलाई पक्राउ पूर्जीविनै पक्राउ गरेर हिरासतमा चरम यातना दिइएको भन्दै प्रहरीको चर्को आलोचना भएको छ । तर प्रहरीले हिरासतमा राखेर यातना दिएको कुरा अस्विकार गर्दै आएको छ।

सुर्खेतबाट काठमाडौं ल्याइएका शाहीले आफूलाई सुर्खेतमा हिरासतमा लिएर प्रहरीले निर्घात कुटपिट गरेको, हात पछाडी राखेर हत्कडी लगाएरै काठमाडौं पुर्याएको तथा पानी खान र पिसाब गर्न समेत नदिएको बताएका थिए । उनको शरीरमा निलडाम देखिन्छ भने खुट्टाको औँलाको नङ उप्किएको छ। गत वैशाख १८ गते आफ्नो पत्रकार सम्मेलनमा नआएको भन्दै सुर्खेत र कर्णालीका पत्रकारलाई गालीगलौज गर्दै शाहीले भिडियो पोष्ट गरेका थिए ।

सम्बन्धित खवर

Back to top button