लुटेरा समाउन प्रहरीले चलायो गोली

काठमाडौं : प्रहरीले ‘काका’ नामले परिचित कुख्यात लुटेरा छिरिङ तामाङलाई दुई राउन्ड गोली हानेर पक्राउ गरेको छ। शुक्रबार दिउँसो जोरपाटीको अत्तरखेलमा तामाङलाई अपराध महाशाखाको विशेष टोलीले दुई राउन्ड गोली हानेर नियन्त्रणमा लिएको छ।

महानगरीय अपराध महाशाखाको टोलीले तामाङ भाग्न खोजेपछि गोली प्रहार गरेर नियन्त्रणमा लिएको हो। तामाङ हतियार देखाएर लुटपाटमा संलग्न थिए । प्रहरीले केही समय अगाडि राजधानीका विभिन्न स्थानमा शृंखलावद्ध रुपमा लुटपाटमा संलग्न भएको आरोपमा यसअघि नै चार जनालाई पक्राउ गरेको थियो । त्यसरी पक्राउ पर्नेमा इलामका धराने भन्ने नितेश तामाङ, रौतहटका मुन्द्रे भन्ने अजय तामाङ, काभ्रेका बाहुन भन्ने रुपेश चौलागाई र मकवानपुरका जिग्री भन्ने भीमराज थिङ रहेका छन्। उनीहरुलाई पक्राउ गरेपछि त्यही सूचनका आधारमा तामाङलाई महाशाखाको टोलीले पक्राउ गरेको हो।

उनीहरुले यही जेठ ४ गते वजोरपाटीस्थित बुद्धराम सुनारले सञ्चालन गरेको भीमेश्वर सूनचाँदी पसलबाट नगद ८० हजार लुटपाट गरेका थिए। त्यस्तै जेठ ३ गते ललितपुरको इमाडोलस्थित कृष्णमन्दिर जजिकै रहेको असन इन्भेस्टमेन्ट प्रालिका कर्मचारीलाई नियन्त्रणमा लिई एक लाख नगद लुटेका थिए । यसअघि पनि उनीहरुले मनि ट्रसफ र सहकारीमा लुटपाट गर्दै आएको प्रहरीले जनाएको छ।

सम्बन्धित खवर

Back to top button