साेच्दै नसाेचेको घटनाः काल बनेर आए आफ्नै पति

अर्घाखाँची : सँगै बाँच्ने सँगै मर्ने कसम खाएका पति नै आफ्नो काल बनेर आउँला भनी कसैले सोचेको हुँदैन । तर, यस्तै नसोचेको घटना भयो शीतगंगा नगरपालिका–१ सुवर्णखाल मन्द्रे घर्तीसाराकी ३४ वर्षीया वसन्ता खत्रीको जीवनमा । मदिरा सेवन गरी घरमा आएका वसन्ताका पति ३७ वर्षीय विष्णु खत्रीले श्रीमतीलाई मुखमा हानेर घरको झ्यालमा टाउको ठोक्काइ हत्या गरे। हत्या गरेपछि फसिने डरले उनले झुन्डिएर मरेको भन्ने बनाउन डोरीले बाँधी घरको दलिनमा झुन्डाएर राखे। तर, सत्य कहाँ लुक्छ र? जब घटनास्थलमा प्रहरी पुग्यो वास्तविकता खुल्यो। अनुसन्धानको क्रममा वसन्ताको हत्या आफूले नै गरेको विष्णुले स्वीकारे।

‘रक्सीमा मातेर आएको थिएँ। झगडा भयो। पिट्दा पिट्दै बेहोस भएर ढली । छोरा पारसले आमा त मर्नुभएछ भन्यो,’ खत्रीको बयान उद्धृत गदै प्रहरी निरीक्षक गम्भीरजंग थापाले भने, ‘मरेपछि फस्सिन्छ भन्ने लाग्यो। घरको दलानमा झुन्डाएर राखेँ।’ जेठ २० गते भेटिएको शवलाई जिल्ला अस्पताल सन्धिखर्कमा पोस्टमार्टम गर्दा कुटपिटबाटै हत्या भएको रिपोर्ट आएको थियो । यसले प्रहरीलाई अनुसन्धानमा थप मद्दत गर्यो । विष्णु अहिले जिल्ला अदालतबाट म्याद थप भई थुनामा रहेका छन् ।

सिरहामा पनि श्रीमानले गरे श्रीमतीको हत्या

सिरहाको बरियारपट्टि गाउँपालिकामा बिहीबार साँझ एक युवकले धारिलो हतियार प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् । घरायसी विवादका कारण बरियारपट्टि–३ बलुवा टोल निवासी ४० वर्षीय परमेश्वर यादवले धारिलो हतियार प्रहार गरी आफ्नै श्रीमती ३५ वर्षीया सविता यादवको हत्या गरेको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ ।

घटनास्थलमा हत्या गर्न प्रयोग भएको घरेलु हतियार भेटिए पनि हत्यामा संलग्न परमेश्वर फरार भएकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता राजन भेटवालले जानकारी दिए । सविताको शव परीक्षणका लागि जिल्ला अस्पताल, सिरहा पठाइएको प्रहरीले जनाएको छ । नेपाल-भारत सीमाबाट करीब ५०० मिटरको दूरीमा मात्र रहेको घटनास्थलबाट अभियुक्त यादव सीमापार हुनसक्ने सम्भावना रहेकाले सीमा क्षेत्रमा सशस्त्र र जनपद प्रहरीको गस्ती टोली परिचालन गरी कडाइ गरिएको प्रहरी नायब उपरीक्षक भेटवालले बताए ।

सम्बन्धित खवर

Back to top button