दमक : मोटरसाइकल एक आपसमा ठोकिएर झापामा आज एक जना युवकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा गौरादह नगरपालिका ५ बस्ने ३० वर्षीय टेकनाथ घिमिरे रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरिक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
विर्तामोड २ स्थित रामचोकमा बिहान १० बजेको समयमा पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको को १ च ६२१९ नम्बरको कारलाई सोही दिशाबाट आउँदै गरेको को ११ प ६३३७ नम्बरको मोटरसाईकलले ओभरटेक गर्ने क्रममा बिपरीत दिशाबाट आउँदै गरेको मे १० प ५१९९ नम्बरको मोटरसाईकलसंग ठोक्किदा दुवै मोटरसाईकलमा सवार ४ जना गम्भीर घाईते भएका थिए ।
घाईतेहरुलाई उपचारको लागि तत्काल बिर्तामोडकै बि एण्ड सी अस्पताल लगिएकोमा उपचारकै क्रममा ६३३७ नम्बरको मोटरसाईकल चालक घिमिरेको दिउँसो १२ वजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ । दुर्घटनामा परेर सोही मोटरसाईकलको पछाडी सवार गौरादह ४ की ३१ बर्षीया यमुना देवी न्यौपाने, मे १० प ५१९९ नम्बरका मोटरसाईकल चालक दमक १० का २० बर्षीय जिवन भण्डारी र सोही मोटरसाइकलको पछाडी सवार दमक ९ का २३ बर्षीय कर्म उरावको सोही अस्पतालमा उपचार भईरहेको जनाईएको छ । दुर्घटनामा को १ च ६२१९ नम्बरको कारमा समेत सामन्य क्षति भएको छ भने तीन वटै सवारी साधन ईलाका प्रहरी कार्यालय विर्तामोडको नियन्त्रणमा रहेका छन् ।
दुर्घटना परी गौरादह ५ की ३१ वर्षीया यमुनादेवी न्यौपाने, दमक ९ का २० वर्षीय जीवन भण्डारी र २३ वर्षीय कर्म उराउ घाइते भएका प्रहरीले जनाएको छ । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।