विश्वकप क्रिकेटः अष्ट्रेलियाको भारतमाथिको बर्चस्व ८ वर्षपछि ताेडियो
काठमाडौं, जेठ २७ । इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले लगातार दोस्रो खेलमा पनि जीत हासिल गरेको छ । आइतबार राति भएको खेलमा अष्ट्रेलियालाई ३६ रनले हराउँदै भारतले लगातार दोस्रो खेलमा पनि जीत हासिल गरेको हो । भारतीय टिमले ८ वर्षपछि विश्वकपमा अष्ट्रेलियालाई हराउन सफल भयो । यसअघि उसले २०११ मा अष्ट्रेलियालाई पराजित गरेको थियो ।
आइतबार ३५३ रनको विशाल लक्ष्यका साथ जवाफी ब्याटिङमा आएको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ३१६ रन मात्र बनाउन सक्यो । उसका लागि स्टिभ स्मिथले ६९, डेभिड वार्नरले ५६, एलेक्स केरीले नट आउट ५५, कप्तान आरोन फिन्चले ३६, उश्मान ख्वाजाले ४२, ग्लेन म्याक्सवेलले २८ रन बनाए । बलिङमा भारतका भुनेश्वर कुमार, जसप्रित बुमराहले ३–३ र युजवेन्द्र चहलले एक विकेट लिए । यसअघि टस जितेर पहिला ब्याटिङ गर्दै भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३५२ रन बनायो ।
उसका लागि ओपनर शिखर धवनले उत्कृष्ट शतक बनाए । उनले १६ चौकाको सहयोगमा १०९ बलमा ११७ रन बनाए । जारी विश्वकपमा शतक बनाउने उनी छैठौं ब्याट्सम्यान बनेका छन् । यस्तै, कप्तान विराट कोहलीले ८२, रोहित शर्माले ५७, हार्दिक पाण्ड्याले ४८, महेन्द्रसिंह धोनीले २७ र केएल राहूलले नट आउट ११ रनको योगदान दिए । बलिङमा अष्ट्रेलियाका मार्कस स्टोइनिसले २, प्याट कमिन्स, मिचेल स्टार्क र नाथन कल्नर–नाइलले एक–एक विकेट लिए ।