नेपाललाई मोदीको १ अर्ब ६० करोडको मद्दत

काठमाडाैं : भारतले नेपालको भूकम्पपछिको पुनर्निर्माणका लागि दोस्रो किस्तावापतको रकम १ अरव ६० करोड उपलब्ध गराएको छ । सोमबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच अर्थमन्त्री डा. युवराज खतिवडालाई नेपालका लागि भारतीय राजदुत मंजीवसिंह पुरीले भूकम्पपछिको पुनर्निर्माणका लागि दोस्रो किस्तावापतको रकम १ अरव ६० करोडको चेक हस्तान्तरण गरेको हो ।

भारतले नेपालको निजी आवास पुनर्निर्माणका लागि दोस्रो किस्ता वापत १ अरव ६० करोड रुपैयाँ उपलब्ध गराएको अर्थ सचिव राजन खनालले जानकारी दिए । भारतले नेपालको पुनर्निर्माणका लागि पहिलो किस्तावापत यस अघि नै २ अरव १० करोड रुपैयाँ उपलब्ध गराइ सकेको छ ।

कार्यक्रममा बोल्दै नेपालका लागि भारतका राजदुत सिंहले नेपालको भूकम्पपछिको पुनर्निर्माणको काममा सहकार्य गर्न पाएकोमा भारत सरकार खुसी भएको बताए । उनले नेपालको विकास, निर्माणको काममा भारत सरकारको सदा साथ रहने पनि बताए । २०७२ साल बैशाख १२ गते गएको विनाशकारी भूकम्पले नेपालमा ठूलै धनजनको क्षति भएपछि भारतलगायतका देशहरुले पुनर्निर्माणमा सघाउने समझदारी गरेका थिए ।

कार्यक्रममा नेपालका लागि भारतीय राजदुत पुरीले नेपालको निजी आवास पुनर्निर्माणको काम करिव ७० प्रतिशत भन्दा बढि सम्पन्न हुनु आफ्नो मुलुकका लागि सुखद् समाचार भएको पनि बताएका थिए ।

सम्बन्धित खवर

Back to top button