अछाम, ३० जेष्ठ : अछाममा एकजना युवकले दाउराकाे चिरपट प्रहार गरि आफ्नै बुवाको हत्या गरेका छन् । जिल्लाको चौरपाटी गाउँपालिका वडा नम्बर ५ लुङ्ग्रा निवासी ५६ बर्षीय निने ढोलिलाई उनकै जेठो छोरा प्रेम ढोलिले दाउराको चिरपट प्रहार गरी हत्या गरेका हुन् ।
घरपिरवारकाे सामान्य विवादमा बुधबार राती ११ बजे जेठा छाेरा प्रेमले दाउराकाे चिरपट गर्धनमा प्रहार गरी बुवा निने ढोलिको हत्या गरेकाे प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार उनकाे घटनास्थलमै मृत्यु भएको थियाे भने मंगलबार मृतक ढोलिलाई पोस्टमार्टमको लागि जिल्ला अस्पताल मंगलसेन लगिएकाे छ ।
जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक कलेन्द्र शाहीका अनुसार अहिले अभियुक्त प्रेम प्रहरीकाे नियन्त्रणमा छन्, उनीमाथि थप अनुसन्धान भइरहेकाे छ । उनलाई मुलुकी अपराध संहिता अनुसार दण्ड सजाय हुनेछ ।