पाण्डवेश्वर महादेवको त्रिशुल दर्शन गर्नाले सम्पूर्ण प्राणीलाई पापबाट छुटकारा मिल्छ
हिन्दू धर्मका विभिन्न सम्प्रदायहरु मध्ये शैव सम्प्रदायका अनुयायीहरु भगवान् शिवलाई मुख्य देवता मान्छन् । भगवान् शिवलाई विभिन्न नामले पुर्काछन् । उनलाई शिव , महादेव, भोलेनाथ , परमेश्वर , पशूपतिनाथ आदि नामले सम्बोधन गर्दछन्। शिवलाई प्रायःजसो शिवलिङ्गको रुपमा पूजा गर्ने प्रचलन छ । नेपालभर शिवका अनेकौ धाम र मन्दिरहरु छन् । ती मध्ये अत्यन्त महत्वपुर्ण धामको रुपमा पाण्डवेश्वर महादेवको मन्दिरलाई पनि लिईन्छ । पाण्डवेश्वर मन्दिर नेपालको मध्यपश्चिमाञ्चल विकास क्षेत्रको राप्ती अञ्चलमा पर्ने दाङ्ग जिल्ला अन्तर्गत धर्ना गा।वि।स वार्ड नं। १ धारापानी गाउँमा पर्दछ । यो मन्दिर समुन्द्र सतहबाट ६३३ मिटर उचाइमा रहेको छ । यसको दक्षिणमा चुरे पहाड, उत्तरमा सरयु गंगाको उदगम नदि,पुर्वतर्फ घना जङ्गल र पश्चिमतर्फ धारापानी गाउँ पर्दछ । धार्मीक किम्वदन्ती अनुसार द्धापरयुगमा पांचपाण्डवहरु द्रोपदीसहित स्वर्गको यात्रामा रहेको वखत यस स्थलमा आएर महादेवको आरधाना गर्दै यज्ञ लगायको विस्वास गरिन्छ । यहिबाट नै पाण्डवहरु स्वर्ग गएको किम्बनन्ति छ । पाँच पाण्डवले ध्यान र तपस्या गर्दा ज्योति लिङ्ग स्थापना गरेकोले पाण्डवेश्वर महादेव भनि नामाकरण गरिएको भन्ने धार्मिक मान्यता रहेको छ । हवन कुण्डको पश्चिमतर्फको खोल्सामा पाच पाण्डव, द्रौपदी र कुकुरको आकृति भएका ढुङ्गा एकै स्थानमा रहेका छन् । ज्योति लिङ्ग भएको शिलामा पादुका,बाघका आँखा, नागको चित्र देख्न सकिन्छ । भगवान् शिवको प्रिय दिन शिवरात्रीको अवसरमा अन्य शक्ति पिठमा जस्तै दाङको धारापानी स्थित पाण्डबेश्वर महादेव मन्दिरमा ठूलो मेला लाग्यो । पाण्डबेश्वर महादेव मन्दिर दाङ जिल्लाकै प्रमुख पर्यटकिय एवं धार्मिक स्थलका रुपमा चिनिन्छ ।
शिवरात्रीका अवसरमा धारापानी पाण्डवेश्वर मन्दिरमा महोत्सव समेत आयोजना गरिएको थियो । विगतको वर्षहरुमा झै यसवर्ष पनि २०७३ सालको फागुन १३ गतेको शिवरात्रीमा भक्तहरुको निकै ठुलो भिड लागेको थियो । विभिन्न किसिमका विश्वास लिएर दाङलगाएत देशैभरिका हजारौं हजार भक्तजन शिवरात्रीको दिन पुजा आराधना गर्न पुगेका थिए । यहाँ गएर पुजा गरे मरेपछि स्वर्ग पुगिने विश्वास लिईन्छ । पाण्डवेश्वर महादेवको दर्शन गर्दा मानसिक र शाररिक पिडा कम हुने धार्मीक विश्वास रहि आएको छ । त्यति मात्र नभई पाण्डवेश्व्र मन्दिरदेखि अलिक माथि विश्वकै ठूलो त्रिशुल समेत स्थापना गरिएको छ । जसका कारण धारापानी मन्दिरको चर्चा स्वदेशमा मात्र नभई विदेशमा समेत छ । सो विशाल त्रिशूलमा पूजा र दर्शन गर्न भक्तजनहरुको ठुलो भीड लाग्ने गर्दछ । शिवरात्रीका अवसरका गरिएको पत्रकार सम्मेलनमा पाण्डव्श्वर मन्दिर व्यवस्थापन समितिले २।५ किमि को दुरीमा रहेको खड्कादेवी मन्दिरको शिल्यान्यास गरिसकेको भन्दै मन्दिर जाने सिढि निर्माणका लागि ईच्छुक व्यक्तिहरुका लागि सहयोग गर्न समेत आवह्वान गरेको छ । चार हजार ९ सय सिढि निर्माण गर्दा प्रत्येक व्यक्तिलाई एक एक सिढी निर्माणको लागि अपिल गरिएको हो । पाण्डवेश्वर मन्दिर परिषरमा सुरक्षाका लागि संविधानविद् डा। भिमार्जुन आचार्य , धार्मीक अभियन्ता बाबा शिवान्द र पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समितिको पहलमा प्रहरी चौकी स्थापना गरिएको छ भने पार्किकङ स्थल वा पिक्निक स्पटको पनि विकास गरिएको छ । धारपानी मन्दिर परिषरमा १ हजार ८ बर र पिलको जोडि त्रिशूलको आकारले रोपिनुले पनि धारापानीको महत्व अझ बढेको छ । मन्दिर परिसरमा एक सय आठ शिव लिङ्गको दर्शन गर्न पाईन्छ भने पाण्डेश्वर मन्दिर तल्लोपट्टि दुईवटा कुण्ड पनि निर्माण गरिदैछ । त्यसैगरि कुण्डमा एक सय आठ धारा समेत राखिने पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समितिले जानकारी दिएको छ । शिवरात्री मेलाका अवसरमा विभिन्न ठाँउवाट आएका सन्त र बाबाहरुको उपस्थिति पनि बाक्लो थियो । पाण्डवेश्वर महादेव मन्दिरसंगै रहेको साजको वृक्षको पनि रुखको धार्मिक र ऐतिहासिक महत्व बेग्लै छ । यस मन्दिरमा रहेको साजको रुखवारे विशेष किम्वदन्ति रहेको छ । यो रुखलाई जति सुकै काट्न प्रायस गर्दापनि नकाटिएपछि त्यँही मन्दिर निर्माण गरेर पूजा अर्चना सूरु गरिएको धार्मिक विश्वास छ । लगातार सात दिनसम्म रुख काट्ने प्रयास हुँदा पनि त्यो प्रयास असफल रहेकोे थियोे ।
करिव २०० वर्ष पहिलाको कुरा हो धारापानी नजिकैको गुरुवा गाँउका चौधरीहरुले माघीपर्व मनाउने क्रममा दाउराको खोजिमा त्यस जंगलमा पुगी एउटा साजको रुख काट्न खोज्दा जतिकाटे पनि रुख नढले पछि अर्को दिन काट्न जादा अघिल्लो दिनमा काटेको डोब पुरियर जस्ताको तस्तै भयपछि उनिहरु अचम्म भय । त्यसैगरि सात दिनसम्म रुख काट्ने प्रयास भएको र सातै दिन काटेको घाउ पुरिएर जस्ताको त्यस्तै देखेपछि सबै अचम्मित भएर यहाँ के रहेछ भनि पात पतिङ्गर पन्छाइ हेर्दा शिवलिङ्ग र सानो गहिरो जलकुण्ड फेला परेपछि त्यहाँ मन्दिर स्थापना गरिएको थियो । त्यसैले पाण्डवेश्वर मन्दिको बीच भागमा दिव्य शिवलिङ्ग रहेको विश्वास गरिन्छ । पाण्डवेश्वर मन्दिर भित्र रहेको दिव्य शिवलिङ्ग पाँच हजार वर्ष अघिको भएको अनुमान छ । त्यसैगरि, शिवरात्रीका दिन बाबा शिवानन्द र उहाँका शिष्यहरुद्धारा रातभर पाण्डवेश्वरमन्दिर भित्र चार प्रहरको विशेष पूजा गरिएको थियो । विश्व शान्तीको कामना गर्दै भगवान् शिवको पूजा आराधना भएको थियो ।
यो पूजाले जिव शिवलोक वास गर्ने शिव पुराणमा व्याख्या गरिएको छ । यो पूजा नेपालमा विरलै हुने गरेको बाबा शिवानन्द बताउँछन् । धार्मीक अभियन्ता बाबा शिव आनन्दले यस्तो आफुले विगत पाँच वर्षदेखि भगवान् शिवका विभिन्न शक्तिपिठहरुमा गएर गर्ने गरेको बताउँछन् । मन्दिर भित्र रहेको शिवलिंगसंगै रहेको कुण्डमा भ्यागुता र सर्प सगै मिलेर बस्ने गरेको बेला बखत बाहिर निस्कने र फेरी भित्र पस्ने गरेको प्रत्यक्षदर्शि बताउँछन् । उक्त कुण्डमा जति पानि हालेपनी कहिले नभरिएको अनौठो तथ्य छ । र सो कुण्डको गहिराइ हालसम्म पनि पत्ता लाग्न सकेको छैन भने त्यहाको पानी कहाँबाट आउछ र कहाँ जान्छ भन्ने तथ्य पत्ता लाग्न सकेको छैन । पाण्डवेश्वर शिव मन्दिर धार्मीक कारणले मात्र नभयर पर्यावरणिय,जैविक,ऐतिहासिक तथा पौराणिककथा र विषयवस्तुका दृष्टिकोणले पनि उतिकै महत्वपुर्ण मानिन्छ । मन्दिर परिसरमा महादेवको ,गणेश,सूर्यनारायण,र भगवतीको मन्दिर निर्माण गरिएको छ । त्यसैगरी मन्दिर परिसरमा यज्ञशाला,गौशाला र नागशिला आदीको संरचना समेत वनाइएको छ । जिल्ला सदरमुकाम घोराही देखि ९ कि मिको मोटर मार्ग वाट पुग्न सकिने पाण्डवेश्वर शिव मन्दिर धार्मीक पर्यटकहरुको लागी महत्वपूर्ण स्थान मानीन्छ । यसलाई धार्मीक र पर्यटकिय दृष्टिले अझै विकास गर्न लाग्नुपर्ने देखिन्छ । मन्दिर नजिकै अत्यन्त स्वच्छ वातावरणमा धर्मशाला समेत निर्माण गरिएको छ । प्राचिन काल देखिनै यस पवित्र स्थलमा ऋषिमुनी, देवगण र तपस्वीहरुले चिन्तन गर्ने, यज्ञ लगाउनेजस्ता कार्यहरु गर्दै आएको पौराणिक इतिहास छ ।