ललिपुर : गुठी विधेयकको विरोधमा शुक्रबार साँझ मसाल जुलुस निस्किएको छ। पाटन दरबार स्क्वायरबाट बेलुका ६ः३० बजे मसाल जुलुस सुरु भएर करिब आधा घण्टामा सकिएको हो । जुलुस पाटन मंगलबजारबाट सुरु भएर गाभाहल, असोक हल, पाटन ढोका हुँदै पुन मंगलबजार पुगेर टुंगिएको हो।
गुठी विधेयक खारेजीको माग गर्दै अहिले हेरेक दिन उपत्यकाका विभिन्न ठाँउमा प्रदर्शन भइरहेका छन। विधेयकमा राखिएका प्रावधानले गुठीको अस्तित्व मास्ने भन्दै काठमाडौं उपत्यकाका गुठियार र संरक्षणकर्मी सरकारविरुद्ध आन्दोलनमा छन्। गुठी विधेयकले नेवार संस्कृतिमाथि प्रहार गरेको भन्दै नेवार समुदायले विभिन्न किसिमले विरोध गरिरहेका छन्। हातमा मसाल लिएर विधेयक र सरकारको विरोध गर्दै विशाल जनसमुदायले नगर परिक्रमा गरेकाे पाइन्छ ।
गुठी संरक्षण आन्दोलनका एकजना अभियन्ता रविन्द्र ताम्राकारले सरकारले उक्त विधेयकमार्फत संस्कृति, सम्पदा मास्न खोजेको र सामान्यरुपमा आन्दोलन गर्दा सुनुवाई नभएकाले मसाल जुलुस निकाल्नुपरेको बताए । पाटनका अर्का अभियन्ता न्युच्छे महर्जनले सरकारले गम्भीर भएर नसोच्दा जनताले आगो बालेर हिड्नुपर्ने अवस्था आएको बताए। ‘जति नै कराएपनि सरकारले नसुन्ने प्रवृत्तिको विकास भएको छ’ महर्जनले भने, ‘आगो भनेकै खतराको संकेत हो, सरकारले बुझनुपर्छ। एउटा झिल्को मात्र पनि खतरनाक हुनसक्छ,’ उनले भने।