किन गरियो भारतीय मालबाहक सवारीलाई मात्रै चेकजाँच नगर्न निर्देश ?


काठमाडौं : स्वदेशी मालबाहक सवारीसाधनलाई छुट्याएर गृह मन्त्रालयले भारतबाट कच्चा पदार्थ बोकेर नेपाल आउने मालबाहक सवारीसाधनलाई मात्रै चेकजाँच नगर्न निर्देशन दिएको छ। मन्त्रालयले मेचीदेखि महाकालीसम्म भारतसँग सीमा जोडिएका जिल्ला प्रशासनलाई परिपत्र गरेर चेकजाच नगर्न निर्देशन दिएको हो। नेपाली उद्योगका लागि भारतबाट कच्चा पदार्थ लिएर नेपाल प्रबेश गर्ने मालवाहक सवारी साधनको चेकजाँच नगर्न परिपत्र जारी गरिएको मन्त्रालयका शाखा अधिकृत दीपक पौडेलले जानकारी दिए।
भारतीय मालबाहक गाडीलाई प्रहरीले ठाउँ ठाउँमा रोकेर अनाबश्यक दुख दिएको उद्योगीले लिखित गुनासो गरेकाले चेकजाँच नगर्न परिपत्र गरिएको पौडेलले जानकारी दिए । बाटोमा ट्राफिक प्रहरीबाट ओभरलोड भनेर ट्रक र ट्रेलरहरु समाति दुःख दिने, जरिवाना तिराउने, हैरानी दिने, दुई/तीन दिनसम्म होल्डमा राख्ने गरेको लिखित र मौखिक गुनासाहरु आएको हुँदा भारतबाट आयात गरिने औद्योगिक कच्चा पदार्थ बोकेका पारवहन ट्रक र ट्रेलरहरुलाई चेकजाँच नगर्न गृहको परिपत्रमा भनिएको छ।



बैशाख २७ गतेको गृहमन्त्री स्तरीय निर्णयबाट जारी भएको परिपत्रको नेपाली ट्रक व्यवसायीले विरोध गरेका छन्। भारतीय ट्रक र ट्रेलरहरुको चेकजाँच नगर्ने तर, कच्चा पदार्थ बोकेका नेपाली ट्रकलाई भने दुःद दिने गरिएको भन्दै व्यवसायीले बिरोध गरेका हुन् । नेपाली ट्रक व्यवसायीले निर्णय सच्याउन गृहमन्त्रालयमा लिखित गुनासो गरेका छन् । नेपाली व्यवसायीको गुनासोबारे भने गृहमन्त्रालय छलफलमै रहेको शाखा अधिकृत पौडेलले जानकारी दिएका छन् ।