काठमाडौं, ३ असार : अफगानिस्तानका रसिद खान विश्वकै उत्कृष्ट स्पिन बलर हुन । यस अघि एक नम्बर बलरका रूपमा चिनिएका खेलाडि हुन । त्यस्तै इंग्ल्याण्डका जाेय रूट पनि विश्वकै उत्कृष्ट व्याट्स म्यानका रूपमा चिनिएका खेलाडी हुन । आज उनीहरूबीच घम्साघम्सी भिडन्त हुँदैछ । इंग्ल्याण्ड र वेल्समा जारी एकदिवसीय विश्वकप क्रिकेटमा इंग्ल्याण्ड र अफगानिस्तान भिड्दै छन् । यी दुई टिमबीचको खेल ओल्डट्राफोर्डमा नेपाली समयअनुसार दिउँसो ३ः१५ बजेदेखि सुरु हुँदैछ ।
अफगानिस्तानविरुद्ध जीत निकाल्दै इंग्ल्यान्ड आफ्नो उत्कृष्ट लयलाई कायम राख्न चाहन्छ । तर, कप्तान इओन मोर्गन र ओपनर जेसन रोयको चोटले भने इंग्ल्यान्डलाई धक्का लागेको छ । मैदान पनि बलरमैत्री भएकाले आज रसिद खानकाे उत्कृष्ट प्रदर्शन देख्न सकिनेछ ।
यी दुई मध्ये रोय आजकाे खेलमा उपलब्ध नहुने पक्का भइसकेको छ । कप्तान मोर्गन पनि खेल्ने–नखेल्ने टुंगो लागिसकेको छैन । रोय र मोर्गन वेस्ट इन्डिजविरुद्धको खेलमा घाइते भएका थिए । इंग्ल्यान्ड ६ अंकका साथ तालिकाको चौथो स्थानमा छ। अफगानिस्तान भने तालिकाको पुछारमा छ । आज म्यानचेस्टरको ओल्ड ट्राफोर्ड मैदानको बाउन्ड्री ठूलो भएकाले ब्याट्सम्यानभन्दा बलरलाई फाइदा हुने देखिन्छ । यही मैदानमा भारतले पाकिस्तानविरुद्ध ३३६ रन बनाएको थियो ।