अज्ञात समूहले गर्याे वडा कार्यालयमा आगजनी
सल्यानः सल्यानको छत्रेश्वरी गाउँपालिकाको वडा नम्बर ३ को वडा कार्यालयमा अज्ञात समूहले सोमबार राति आगजनी गरेको छ । आगजनीबाट मुलखोलामा रहेको वडा कार्यालयका सबै सामान जलेर नष्ट भएका छन् । प्रहरी र स्थानीयको सहयोगमा बिहान मात्रै आगो नियन्त्रणमा आएको थियो ।
आगोबाट कार्यालयमा रहेका सम्पूर्ण कागजपत्र, ल्यापटप, कम्प्युटर, फोटोकपी मेसिन, सोलार प्यानल, कुर्सी, कार्पेट लगायतका सम्पुर्ण सामान जलेर नष्ट भएको वडा अध्यक्ष राजबहादुर बुढाथोकीले जानकारी दिए छन् ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय लुहामबाट प्रहरी निरीक्षक नरबहादुर खड्काको नेतृत्वमा प्रहरी टोली पुगेको छ । घटनाको अनुसन्धान भैरहेको र थप विवरण आउन बाँकी रहेको लुहाम प्रहरीले जनाएको छ ।