त्रिभुवन विश्वविद्यालयमा अख्तियारकाे छापाः ‘गोल्ड मेडल’ नै किनबेच भएकाे खुलासा
काठमाडौं, ५ असार : नेपालकै एक मात्र ठूलाे त्रिभुवन विश्वविद्यालयमा ‘गोल्ड मेडल’ नै किनबेच हुने गरेको खुलासा भएको छ । गोल्ड मेडल किनबेचमा संलग्न भएको आरोपमा परीक्षा नियन्त्रण कार्यालय बल्खुको गोप्य शाखाका प्रमुख रामु कर्माचार्य र विद्यार्थी सुरेन्द्र कोइराला पक्राउ परेका छन् । पाटन क्याम्पसमा अर्थशास्त्र विषयमा अध्ययनरत कोइराला र कर्माचार्यबीच गोल्ड मेडलका लागि पाँच लाख रुपैयाँ लेनदेनकाे डिल भएको थियो ।
नयाँ पत्रिकाका अनुसार उनीहरुमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ । अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले यसको पुष्टि गरेका छन् । अख्तियार स्रोतका अनुसार परीक्षा नियन्त्रण कार्यालय बल्खुका कर्मचारीहरुले आर्थिक प्रलोभनमा विद्यार्थीको मार्कसिटमा नम्बर तलमाथि गरिदिने गरेका छन् ।
अख्तियारको उच्च अधिकारीले भने ’फेल भएकालाई पास गराउने र कम अंक ल्याएका विद्यार्थीलाई अंक थप्ने गतिविधि बढेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । यसमा विद्यार्थी नेतादेखि धेरै ठूलो गिरोह सक्रिय छ भन्ने सूचना छ । एक कर्मचारीबाट मात्र अंक हेरफेर गर्ने सम्भावना देखिँदैन ।’
सहायक डिन नै घुससहित पक्राउ
त्रिवि कीर्तिपुरस्थित विज्ञान संकायका सहायक डिन शम्भुप्रसाद पटेल नै ५० हजार घुससहित बुधबार ट्यांलाफाँटबाट रंगेहात पक्राउ परेका छन् । अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार उनले कलेजको सम्बन्धन नवीकरणका लागि घुस मागेका थिए । उनले विगतमा पनि धेरै कलेज सञ्चालकलाई घुस मागेर हैरान पारेका थिए ।