प्रहरीद्वारा मारिएका कुमार पाैडेलबारे अनुसन्धान थाल्दै मानव अधिकार आयाेग


काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले सर्लाहीमा दोहोरो मुठभेडका क्रममा प्रहरीको गोलीबाट बिहीबार नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) का जिल्ला ईञ्चार्ज कुमार पौडेलको मृत्यु भएको भनिएको घटनाप्रति अनुसन्धान गर्ने भएकाे छ । आयाेगले यस घटनाप्रति आफ्नो गम्भीर चासो भएको जनाएको छ ।
आयोगले शुक्रबार एक वक्तव्य जारी गरी घटनाको सत्यतथ्यको अनुसन्धान तथा अनुगमन गर्न आयोगको केन्द्रीय कार्यालय एवं प्रदेश नं. २ कार्यालयबाट टोली खटिएको जनाएको छ । आयोगको केन्द्रीय कार्यालयको टोली आज (शुक्रबार) बिहानै घटनास्थलतर्फ प्रस्थान गरिसकेको विज्ञप्तिमा उललेख छ ।



आयोगको उक्त टोलीले घटनाको अनुसन्धान तथा अनुगमन गरी तत्कालै आयोगमा प्रतिवेदन पेश गर्ने समेत वक्तव्यमा जनाइएको छ । आयोगको उक्त टोलीलाई आवश्यक सहयोग पुर्याइदिन आयोगले सम्बन्धित सबै पक्ष तथा सरोकारवालालाई आग्रह समेत गरेको छ ।