इन्सेफ्लाइटिसको महामारी लियाे १६१ को ज्यान


विहार : भारतको विहार प्रदेशमा फैलिएको इन्सेफ्लाईटिस रोगका कारण मृत्यु हुनेहरूको संख्या १६१ पुगेको छ। राज्यद्धारा सञ्चालित रेडियो अल इन्डिया रेडियोले शुक्रबारसम्म मृत्यु हुनेको संख्या १६१ पुगेको जनाएको छ । मुजफ्फर जिल्लामा फैलिएको इन्सेफ्लाईटिसका कारण मृत्यु हुनेको सङ्ख्या बढ्दै गइरहेको अधिकारीहरूले जनाएका छन्।
उनीहरूले प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी, स्वयम्सेवकलगायतका विषेश सहयोगीहरू परिचालन गरिएको पनि जानकारी दिएका छन्। विहारका मुख्यमन्त्री नीतिशकुमारले पनि स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीहरूसँग पटक पटक छलफल गर्दै रोग फैलिन नदिन र बिरामीहरूको उपचारलाई प्रभावकारी बनाउन आवश्यक निर्देशन दिएको बताइएको छ। रोग नियन्त्रणका लागि आवश्यक सबै कार्य गर्न र त्यसका लागि जुनसकै श्रोत साधन परिचालन गर्न पनि स्वास्थ्य विभाग, जिल्ला प्रशासन र चिकित्सकहरूलाई नीतिशकुमारले निर्देशन दिएका छन्।



मुख्यमन्त्री नीतिशकुमारले इन्सेफ्लाईटिसबाट मृत्यु भएकाको परिवारलाई राहत स्वरुप चार लाख रुपैँया दिने घोषणा यसअघि नै गरिसकेका छन्। टाउको दुख्ने, उच्च ज्वरो आउनेलगायतका लक्षण देखिने यो रोग सरुवा रोग भएकाले त्यसबाट बच्न र त्यस्ता लक्षण देखिँदासाथ नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न चिकित्सक र विभिन्न निकायहरूले आह्वान गरेका छन्।