युवतीमाथि सामूहिक बलात्कारमा संलग्न राेजगार संयाेजक पक्राउ


रुपन्देही : रुपन्देहीमा दुई युवतीमाथि सामूहिक बलात्कार भएको खुलेको छ। गैडहवा गाउँपालिकाका दुई युवतीलाई यही असार २ गते राति युवाको समूहले बलात्कार गरेको घट्ना बाहिर आएको छ। पीडकले घटना सार्वजनिक गरे ज्यान मार्ने धम्की दिएकाले घटना बाहिर ल्याउन ढिलाइ भएको स्थानीयले बताएका छन्।
प्रहरीले घटनामा संलग्न रहेको आरोपमा प्रधानमन्त्री रोजगार कार्यक्रममा गाउँपालिका संयोजकसमेत रहेका गैडहवा गाउँपालिका ८ का जीवन ज्ञवालीलाई पक्राउ गरेको छ। अन्य आरोपीहरू फरार रहेका इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक शंकर पोखरेलले जानकारी दिए।



प्रहरीका अनुसार फरार रहेका आरोपी विण्णु थारुले असार २ गते साँझ ती युवतीलाई खाजा खानका लागि बोलाएको र अन्य दुई युवासँग मिलेर बलात्कार गर्न खोज्दा एक युवती भागेकी खुलेको छ। तर भागेकी युवतीले गुहार माग्दा हसनापुर गाउँका स्थानीय जीवन ज्ञवालीसहित चार जनाले सहयोग नगरी उल्टै उनीमाथि पनि बलात्कार गरेका पीडितलाई उद्धृत गर्दै गैडहवा–९ का अध्यक्ष टेकबहादुरले बलालले जानकारी दिए ।