तुइनकाे जाेखिम यात्रा गरेर पढ्न विवश छन् विद्यार्थी

जाजरकोट : दैनिक तुइनकाे जाेखिम यात्रा गरेर पढ्न पढ्न विवश छन् जाजरकाेटका विद्यार्थी । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पहिलो कार्यकालमा दुई वर्षभित्र तुइन विस्थापन गर्ने घोषणा गरेका थिए। २०७२ असोजमा प्रधानमन्त्रीको कार्यभार सम्हाले लगत्तै ओलीले गरेको पहिलो निर्णय नै ‘तुइन विस्थापन’ थियो। आर्थिक वर्ष २०७२/०७३ को बजेट भाषणमा पनि तुइन विस्थापन गर्ने घोषणा गरिएको थियो। तीन बर्ष वित्यो तर तुइन भने अझै विस्थापन भइसकेका छैनन् । दुर्गम पहाडी जिल्ला जाजरकोटको विकट बस्तीमा अहिले पनि तुइनमा झुन्डिएर स्थानीयले नदी वारपार गर्नुपर्ने बाध्यता छ।

भेरी त्रिवेणी माध्यमिक विद्यालय रिम्नाकाे १० कक्षामा अध्ययनरत नलगाड नगरपालिका १ ठूलाबगरकी अमला पुन दैनिक जोखिम मोलेर तुइनबाटै विद्यालय आउजाउ गर्छिन्। ‘पुल नहुँदा तुइनबाटै वारपार गर्छौँ। भेरी नदीमा खसिने पो हो कि भनेर डर लाग्छ तर पढ्नका लागि तुइन नचढी धरै छैन’ उनले भनिन्, ‘वर्षातको बेला झनै डर लाग्छ।’ सोही ठाउँका अमर पुन पनि पढ्न जाँदा तुइन चढ्नुको विकल्प नभएको बताउँछन्। उनले प्रत्येक दिन तुइन चढेर स्कुल जाने गरेको र तुइन चुडिने हो कि भन्ने डरले सताउने गरेको बताए। अमला र अमर मात्र होइन ठूलाबगरका ३०/३५ विद्यार्थी तुइनको भरमा नदी वारपार गरी विद्यालय आउजाउ गर्न बाध्य छन्। ठूलाबगरका ६ देखि १० कक्षा पढ्ने बालबालिकालाई माध्यमिक तहको पढाईका लागि रिम्ना विद्यालय पुग्न जोखिमपूर्ण तुइन चढ्नुको विकल्प छैन।

स्कुले बालबालिका मात्र हैन, वर्षौदेखि यहाँका स्थानीयलाई तुइनकै भरमा नदी वारपार गर्नु परेको छ। ठूलाबगर, खर्चा, दम्सीला, भित्रखोला, ओडारा, पाली लगायत गाउँका एक सय घरपरिवार स्थानीय प्रविधिबाट निर्मित तुइनकै भर वारपार गर्न बाध्य छन्। शिक्षक विद्यार्थीलाई हरेक दिन तुइनबाटै नदी वारपार गर्नुपर्ने बाध्यता भएको सिर्जना आधारभूत विद्यालय आठबीसकोट १४ का शिक्षक ज्ञानबहादुर घर्तीले बताए। उनले तुइनबाट जोखिमपूर्ण तरिकाले वारपार गर्नुपर्ने बाध्यता सुनाए। स्थानीय बासिन्दालाई आवतजावत गर्न नलगाड नगरपालिका १, माउरे ठूलाबगर र पश्चिमरुकुमको आठबीसकोट नगरपालिका १४, छोटेतराबीच भेरी नदीको तुइनको विकल्प छैन। नदीमा झोलुंगे पुल नहुँदा र अन्य स्थानबाट पनि आवजावत गर्ने बाटो नहुँदा वर्षौदेखि यहाँका बासिन्दा तुइनको जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन्।

त्यस्तै पश्चिमरुकुमको पिपलचौर, छोटेतरा, छेपारे, चाख्लेमेला लगायत ठाउँका बासिन्दा पनि तुइनको सहयोगले भेरी नदी वारपार गर्दै आएका छन्। स्थानीय प्रविधिबाट काठले बनेको ढुंग्रोमा बसी फलामको डोरीमा झुन्डिएर एक सय मिटर चौडा भेरी नदी वारपार गर्ने गरेको स्थानीयको भनाइ छ। तुइन तरेरै जिन्दगी बित्न थालेको स्थानीयको भनाइ छ। पुल बनाइदिन विभिन्न निकायसँग आग्रह गर्दा पनि कसैले नसुनेको स्थानीयको गुनासो छ। पुल भएको स्थानसम्म पुग्न डेढ घण्टासमय लाग्छ। त्यो पनि जोखिमपूर्ण भीरको बाटो छ। उक्त अप्ठेरो बाटोबाट लडेर गएका १० वर्षमा ४ जनाले ज्यान समेत गाएको नलगाड १ ठूलाबगरका वीरबहादुर पुनले बताए। अप्ठेरो बाटोबाट लडेर ज्यान गुमाउनु भन्दा जोखिमपूर्ण तुइनकै सहायता लिनु जाति भएको उनको भनाई छ। ३०/४० वर्ष अघिसम्म नदी वारपार गर्दा चिन्डा र ढुंगा (नाउ) को प्रयोगमा थियो। चिन्डा र ढुंगाको माध्यमले वारपार गर्ने क्रममा नदी बगेर ३ जनाले समेत ज्यान गुमाउनु परेको थियो। तत्कालीन जिल्ला विकास समितिसँग फलामे लठ्ठा माग गरेर तुइन बनाएको पुनले जानकारी दिए।

उनले भने–‘भेरी नदी आउजाउ गर्न स्थानीयलाई धेरै दुःख छ, विभिन्न निकायहरुमा पुल बनाउन माग गरेपनि कतैबाट सुनुवाइ नभएपछि स्थानीय जोखिम मोलेरै तुइन चढेर नदी तर्न बाध्य छन्।’ २० वर्ष अघि बनेको उक्त तुइनकै भरमा दैनिक उपभोग्य बस्तुको आपूर्ति गर्न, औषधोपचार गर्न र अन्य कामकाजका सदरमुकाम खलंगा आवतजावत गर्नुको विकल्प छैन। भेरी नदीमा पुल बनाइदिन विभिन्न निकायमा पटक पटक आग्रह गरेपनि राजनीतिक पहुँच नहुँदा सम्बन्धित निकायको ध्यान नपुगेको ठूलाबगरबासीको गुनासो छ। विकासे कार्यकर्ता र राजनीतिक दलका स्थानीय नेता पनि यसै तुइनको सहायताले नदी वारपार गर्छन्। चुनाव आउँदा नेताले पुल निर्माणको पहल गर्छौँ भन्ने गरेको तर जितेर गएपछि फर्केर नआउने गरेको स्थानीय झरना घर्तीले बताइन्।

नलगाड नगरपालिकाको २ स्थानमा तुइन सन्चालनमा रहेको बताउँदै नगरप्रमुख टेकबहादुर रावलले तुइन विस्थापित गर्न पुल बनाउनु पर्ने तर नगरसँग प्रयाप्त बजेट नुहँदा समस्या भएको बताए। वडा नम्बर १ को ठूलाबगर र वडा नम्बर ८ मैदे मालुवातरामा तुइन सञ्चालनमा छन्। ‘पुल बनाउन नगरको बजेटले नभ्याउने हुदा संघीय सरकारसँग माग गरेपनि अहिसम्म कुनै सुनुवाई भएको छैन’, नगर प्रमुख रावलले भने, ‘पुल नहुँदा स्थानीय जोखिम मोलेर तुइनबाट नदी तर्न बाध्य छन्।’ तुइनको पोल, घिर्नी र मान्छे बस्ने ढ्वांग्रो काठबाट बनेकोले झन् जोखिम भएको छ। वर्षेनी उक्त काठ बदल्ने र मर्मत खर्च स्थानीयबाट चन्दा उठाएर जुटाउने गरेका छन्। यस वर्ष १० हजार खर्चेर तुइन मर्मत गरिएको छ। याे सामग्री अन्नपूर्णका लागि राेजेन्द्र कार्कीले तयार पारेका हुन् ।

सम्बन्धित खवर

Back to top button