काेपा अमेरिका फुटबलः अर्जेन्टिना सेमिफाइनलमा
एजेन्सी : गएराती सम्प्पन्न क्वाटरफाइनल खेलमा अर्जेन्टिनाले भेनेजुएलालाई २-० गोल अन्तरले पराजित गर्दै कोपाको सेमिफाइनलमा पुगेको हो । अर्जेन्टिनाको जितमा लाउटारो मार्टीनेज र जिओभानी लो केल्सोले एक एक गोल गरेका थिए । मार्टीनेजले खेलको १०औ मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए । अर्जेन्टिनाका लागि १०औ खेल खेलेका मार्टिनेजले आफ्नो छैठौ गोल गर्ने क्रममा अर्जेन्टिनालाई महत्वूर्ण अग्रता दिलाएका थिए ।
पहिलो हाफमा १-० को अग्रता लिएको अर्जेन्टिनाले दोस्रो गोल खेलको ७४औ मिनेटमा गरेको थियो । खेलको ६८औ मिनेटमा सबस्टिच्युटको रुपमा मैदानमा आएका केल्सोले ७४औ मिनेटमा कोल्सोले गोल गर्दै अर्जेन्टिनाको जित सुनिस्चित गरेका थिए । यो सँगै अर्जेन्टिनाले भेनेजुएलालाई कोपा अमेरिकामा अहिलेसम्म खेलेका ६ वटै खेलमा पराजित गरेको छ ।
यो जितसँगै अर्जेन्टिनाको लागि उपाधि जित्ने लिओनेल मेसीको सपनालाई यस प्रतियोगितामा जिवितै राख्न अर्जेन्टिना सफल भएको छ । अब सेमिफाइनलमा बहुप्रतिक्षित ब्राजिल र अर्जेन्टिनाबीच खेल हुने भएको छ । सेमिफाइनल खेल आगामी बुधबार बिहान हुने छ । ब्राजिल पेनाल्टी सुटआउटमा पराग्वेलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । कोपाको इतिहासमा पछिल्लो ५ पटक सेमिफाइनलमा पुगेपछि फाइनलमा पनि पुग्न सफल भएको इतिहास रहेको छ ।