ओली-प्रचण्ड जनताको जनबादमा सहमत
काठमाडौं, असार १५ : सत्तारुढ नेकपाले जनताको जनवादलाई नै राजनीतिक कार्यदिशा बनाउने भएको छ। पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली यसमा सहमत देखिएका छन्।
पार्टी सचिवालयको गत शनिबार बसेको बैठकमा राजनीतिक प्रतिवेदन प्रकाशन गर्नुपर्ने एजेन्डा छलफलमा आएपछि कार्यदिशाबारे विवाद देखिएको थियो। जनताको जनवाद कि जनताको बहुदलीय जनवाद कुन मान्ने भन्नेमा नेताहरू दुई धारमा बाँडिएका थिए।
प्रधानमन्त्री ओलीले एकीकृत पार्टीको कार्यदिशा पुनर्लेखनको प्रस्ताव गर्दै जबजमा जोड दिएका थिए। तर, अर्का अध्यक्ष पुष्पकमल दाहाल एकता प्रक्रियामा भएको सहमतिभन्दा दायाँ(बायाँ नगरी त्यसलाई कार्यान्वयन गर्नुपर्ने पक्षमा उभिएका थिए।
पार्टी एकता गर्दा जबज र एक्काइसौं शताब्दीको जनवाद र माओवादलाई महाधिवेशनमा बहसमा लैजाने गरी स्थगन गरिएको थियो। तत्कालीन एमालेले जबज र तत्कालीन माओवादीले एक्काइसौं शताब्दीको जनवाद र माओवाद मान्दै आएका थिए। महाधिवेशनसम्म समाजवाद उन्मुख हुने गरी जनताको जनवादलाई राजनीतिक कार्यक्रम बनाएर जाने सहमतिमा एमाले र माओवादीबीच एकता भएको थियो।
संगठनात्मक विवादमा रुमल्लिरहेका बेला सचिवालय बैठकमा कार्यदिशाको किचलो बढेको थियो। त्यसपछि एक सातायता प्रधानमन्त्री ओलीले सरकारी निवास बालुवाटारमा पार्टीका शीर्ष नेतासँग एक्लाएक्लै संवाद गर्दै आएका थिए। उनले शनिबार भने जनताको जनवादलाई पार्टी कार्यक्रम बनाएर अघि बढ्ने धारणा सार्वजनिक गरेका हुन्। तत्कालीन एमाले महासचिव मदन भण्डारीको ६८ औं जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले गरेको कार्यक्रममा अर्का अध्यक्ष दाहालकै सामुन्ने ओलीले पार्टी कार्यक्रम जनताको जनवाद हुने बताए। अन्नपूर्ण पोष्टमा रामकृष्ण अधिकारीले लेखेका छन् ।