गृह सचिवकै हस्ताक्षर किर्तेगरी क्षतिपूर्ती माग्ने पक्राउ


काठमाडौं : पछिल्लो समय मुलुकमा विभिन्न अपराधिक घटनाहरु बढ्न थालेको पाइन्छ । त्यसमाथि चोरी र जालसाजी सम्बन्धी घटनाहरु व्याप्त नै रहेको पाइन्छ । त्यस्तै एक उदाहरण हो गृह सचिवकै हस्ताक्षर किर्ते गरि करिव एक अर्ब रकम क्षतिपूर्ति माग गर्नु । बाराको निजगढ घर भइ काभ्रेको धुलिखेल बस्दै आएका ३८ वर्षीय राजन कुमार थापा र उनकी श्रीमती ३३ वर्षीया लक्ष्मी अधिकारीले गृह सचिवकै हस्ताक्षर किर्ते गरेका हुन् । उनीहरुले सहसचिव सुवेदीको हस्ताक्षर किर्ते गरेर गृह मन्त्रालयको नक्कली लेटरप्याडमा नेपाल सरकारबाट क्षतिपूर्ति प्रदान गरिने व्यहोराको कागजात बनाएका छन् ।
गृह मन्त्रालयका प्रवक्ता एवम् सुरक्षा तथा समन्वय महाशाखाका प्रमुख (सहसचिव) रामकृष्ण सुवेदीको हस्ताक्षर किर्ते गरेर ९५ करोड क्षतिपूर्तिको नक्कली कागजात बनाउने यी दुई जनालाई सिंहदरबार नजिकबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।



उक्त कागजमा लक्ष्मीका बुवाको मृत्यु नेपाल सरकारबाट भएको र जसको क्षतिपूर्तिस्वरुप सरकारले लक्ष्मीको परिवारलाई ९५ करोड रुपैयाँ दिने निर्णय गरेको व्यहोरा उल्लेख गरिएको थियो । यस्तै अर्को एक कागजमा भौतिक क्षतिवापत ८ करोड ७६ लाख रुपैयाँ क्षतिपूर्ति सरकारले दिने भन्ने व्यहोरा पनि उल्लेख गरिएको पाइएको छ ।
नक्कली कागजका आधारमा क्षतिपूर्ति मागदावी गर्ने भन्दै गृहमन्त्रालय जान सिंहदरबार प्रवेश गर्न लागेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट ४२ हजार रुपैयाँ नगद र गृह मन्त्रालयको छाप, विभिन्न बैंकका चेक र अन्य केही नक्कली कागजात पनि फेला परेको जनाइएको छ ।
पक्राउ परेको दुवै जनालाई अहिले महानगरीय प्रहरी बृत्त सिंहदरबारको हिरासतमा राखिएको छ । प्रहरीले दुवै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।