विश्वकप क्रिकेटः बंगलादेशलाई हराउँदै भारत सेमीफाइनलमा

काठमाडाैं : विश्वकप क्रिकेट अन्तर्गत मंगलबार भएको ४० औँ खेलमा छिमेकी बंगलादेशलाई २८ रनले पराजित गर्दै भारत सेमीफाइनलमा प्रवेश गरेको छ। बर्मिङ्घमको एजबेस्टनमा भारतले टस जितेर पहिले ब्याटिङ गर्दै बंगलादेशलाई ३१५ रनको लक्ष्य दिएको थियो। तर बंगलादेशले ४८ ओभरमा २८६ रन बनाउँदै अलआउट भएपछि पराजित हुन बाध्य भयो। यो पराजयसँगै बंगलादेश विश्वकपबाट बाहिरिएको छ । १४ अंकसहित अस्ट्रेलिया विश्ववकपको सेमीमा पुगिसकेको थियो। अब सेमीमा पुग्ने २ टिमको छिनोफानो हुन बाँकी छ। पराजित बंगलादेशका लागि मोहम्म सैफुद्धिनले अन्तिम क्रममा क्रिजमा छिरेर ३८ बलमा अर्धसतकीय पारी खेल्दै ५१ रन बनाए। सबिर रहमानले ३६ बलमा ३६ रनकै योगदान दिए।

त्यस्तै तमिम इकबालले ३१ बलमा २२ रन बनाए । सकिब अल हसनले अर्धसतकीय पारी खेल्दै ७४ बलमा ६६ रन जोडे। अर्का ब्याटसम्यान सौम्य सरकारले ३८ बलमा ३३ रन बनाए। लिटोन दासले २२ रनको योगदान दिए। बंगलादेशविरूद्धको जितका क्रममा बुम्राहले ४ विकेट लिन सफल भए। हार्दिक पन्ड्याले ३ विकेट लिनए। मोहम्मद सामी, भुवनेश्वर कुमार, युजुबेन्द्र चहलले समान एक एक विकेट लिए। यसअघि पहिले ब्याटिङ गरेको भारतका लागि ओपनर रोहित शर्मा र लोकेश राहुलले शानदार सुरूवात दिलाए। अघिल्लो खेलमा टिक्न नसकेका राहुलले बंगलादेशविरूद्ध रोहितसँग मिलेर सतकीय साझेदारी गरे।

पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाउँदै ३१४ रन बनाएको थियो। रोहित शर्माले ९२ बलमा १०४ रनको शानदार पारी खेले। लोकेश राहुलले ९२ बलमा ७७ रनको पारी खेले। रोहितले यस विश्ववकपमा व्यक्तिगत चौथो शतक बनाए। उनी एकै विश्वकपमा चार सतक बनाउने पहिलो भारतीय ब्याटसम्यान पनि भए। उनले सौरभ गांगुलीको ३ सतको रेकर्ड तोडे। गांगुलीले सन् २००३ मा केन्याविरूद्ध २ र नामिबियाविरूद्ध एक सतक हानेका थिए।

भारतका लागि कप्तान विराट कोहलीले बंगलादेशविरूद्ध गतिलो प्रदर्शन गर्न सकेनन् । उनी २७ बलमा २६ रन बनाउँदै पभेलियन फर्किए। रिसभ पन्तले ४१ बलमा ४८ रनको पारी खेले। महेन्द्रसिंह धोनीले पनि ३३ बलमा ३५ रन बनाए । बंगलादेशका लागि मुस्ताफिजुर रहमान एक्लैले ५ विकेट लिन सफल भए। सकिब अल हसन १, रूबेल होसिएन र सौम्य सरकारले व्यक्तिगत एक एक विकेट लिए।

सम्बन्धित खवर

Back to top button