एकाएक सभामुखकाे राजीनामाः सबै परे चकित, यस्ताे छ कारण


काठमाडौं । नैतिकता र जवाफदेहितालाई राजनीतिको सबैभन्दा ठूलो पुँजी मानिन्छ । तर हाम्रोमा नेतृत्वको छवि र पारदर्शितामाथि अनेक प्रश्न उठ्दासमेत लाभको पदमा टाँसिरहने परिपाटी छ । यस्तैमा सभामुख इराक्ली खोबाखिजेले उच्च नैतिकता र जवाफदेहिता देखाउँदै देशमा भएको प्रदर्शनपछि पदबाट राजीनामा दिएका छन् । रुसको एक टोलीको विवादास्पद भ्रमणपछि जर्जियाको विपक्षी दल सत्तारुढप्रति रुष्ट छन् । सत्तारुढ दल रसियासँग टासिएको आरोप उनीहरुको छ । पछिल्लो आन्दोलनचाहिँ त्यहाँको संसदबाट रसियनले गरेको सम्बोधनपछि चुलिएको हो । सुरुमा सभामुखको राजीनमा मागेर आन्दोलनमा उत्रिएका विपक्षी दललगायतले आन्तरिक मामिला मन्त्रीको राजीनामा र आम निर्वाचनलाई पनि बटमलाइन बनाएका छन् । यहीबीच भएको आन्दोलनमा प्रदर्शनकारी घाइते भएपछि त्यहाँका सभामुख इराक्ली खोबाखिजेले पदबाट राजीनमा दिएका हुन् ।
आन्दोलनमा ठूलो सङ्ख्यामा नागरिक तथा सुरक्षाकर्मी घाइते भएको उल्लेख गर्दे उनले जर्जियाली ड्रिम पार्टीको जनताप्रतिको उच्च सम्मानका लागि आफूले राजीनामा दिएको बताएका छन् । संसद भवन नजिकै सांसदसमेतको सहभागितामा भएको आन्दोलनका क्रममा ४० प्रहरीसहित २४० जना घाइते भएका थिए । जसमध्ये २ को अवस्था गम्भीर रहेको बताइएको छ । इराक्ली जर्जियाको सत्ताधारी दल जर्जिया ड्रिम पार्टी (खाखा खालाजे) का महासचिवसमेत हुन् । इराक्लीले राजीनामा दिए पनि आन्दोलनकारीको निशानामा रहेका आन्तरिक मामिला मन्त्रीले भने राजीनामा दिएका छैनन् । त्यस्तै विवादास्पद सुपुर्दगी विधेयक खारेज गर्नुपर्ने माग गर्दै हङकङका हजारौं नागरिकले प्रहरी मुख्यालय घेराउ गरेका छन् । हङकङमा करिब दुई सातादेखि सुपुर्दगी विधेयकको विरोधमा प्रदर्शन भइरहेको छ । पछिल्लो प्रदर्शन प्रहरीको मुख्यालय बाहिर भएको हो । सरकारी मुख्यालय र विधायक काउन्सिल अगाडि जम्मा भएका प्रदर्शनकारीहरुले प्रहरी मुख्यालय घेराउ गरी विवादास्पद विधेयक खारेजीको माग गरेका हुन् । प्रदर्शनमा सहभागी भएकाहरुले विधेयक खारेज गर्नुका साथै यसअघिको प्रदर्शनका क्रममा पक्राउ परेकाहरुलाई तत्काल रिहा गर्न माग गरेका छन् । केही प्रदर्शनकारीले राजश्व भवनलाई समेत घेराउ गरेका छन् । प्रदर्शनकारीहरुका कारण हङकङमा सरकारी कामसमेत ठप्प भएका छन् । आपतकालीन सेवासमेत प्रभावित हुँदै गएका छन् । हङकङका प्रहरीले प्रदर्शनकारीहरुलाई शान्ति कायम गर्न र आन्दोलन फिर्ता लिन आग्रह गरेको छ ।



प्रदर्शनका कारण आपतकालीन सेवामा असर परेको भन्दै प्रहरीले प्रदर्शन रोक्न आग्रह गरेको हो । दुई सातादेखिको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच हिंसात्मक झडपसमेत भएका छन् । हङकङका प्रमुख कार्यकारी क्यारी लामले विधेयक स्थगित भएको घोषणा गरे पनि प्रदर्शन भने रोकिएको छैन । कार्यकारी प्रमुख लामले जुन १२ मा प्रदर्शनलाई साम्य बनाउन विवादास्पद विधेयक स्थगित गरेको घोषणा गर्नुभएको थियो । तर प्रदर्शनकारीहरुले विधेयक खारेज नै गर्न माग गर्दै आएका छन् । उनीहरुले विवादास्पद विधेयक खारेज नभए अझ कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । उता अमेरिकाले इरानमाथि हमलाको तयारी अन्तिम अवस्थामा पु¥याएर पनि आफ्नो योजना अचानक स्थगित गरेको तथ्य खुलासा भएको छ । अमेरिकी अखबार न्यूयोर्क टाइम्सका अनुसार इरानले अमेरिकी ड्रोन खसालेपछि अमेरिकाले जवाफी कारवाहीको तयारी गरेको थियो । सो अखबारका अनुसार बिहीबार साँझसम्म अमेरिकी सेना र कुटनीतिक अधिकारीहरु इरानमाथि जवाफी कारवाही हुनेमा ढुक्क थिए । अमेरिकी सेनाका उच्च अधिकारीलाई उद्धृत गर्दै न्यूयोर्क टाइम्सले जनाएअनुसार अमेरिकाका लडाकु विमानहरु तम्तयार अवस्थामा थिए ।
समुद्रमा युद्धपोतलाई पनि मोर्चामा तैनाथ गरिएको थियो । अन्तिम समयमा ‘आदेश परिवर्तन’ भएपछि जवाफी हमला स्थगित भएको सो अखबारले दावी गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तिम समयमा आएर निर्णय परिवर्तन गरेको बताइएको छ । सो अखबारका अनुसार पूर्वयोजना अनुसार शुक्रबार बिहान इरानमाथि हमला गर्नुपर्ने थियो । हमला गर्ने समय तालिका परिवर्तन गरिएको हो या निर्णय नै स्थगित गरिएको हो भन्नेबारे प्रष्ट भइसकेको छैन । अमेरिकी रक्षा मन्त्रालयले यसबारे केही उल्लेख गरेको छैन । बिहीबार बिहान इरानले अमेरिकी ड्रोन खसालेको दावी गरेको थियो । आफ्नो क्षेत्रमा अनधिकृत रुपमा उडेको अमेरिकी ड्रोनलाई क्षेप्यास्त्र आक्रमण गरी खसालेको इरानको भनाइ थियो । सञ्चारकेन्द्रबाट ।