प्रधानमन्त्री ओलीकाे स्पष्टीकरणः तरकारी कुहिने भएकाले निर्णय फिर्ता
काठमाडाैं : प्रधानमन्त्री केपी शर्मा ओलीले नाकाहरूमा पूर्वाधार तथा आधुनिक मेसिन नभएका कारण मन्त्रिपरिषद्ले विषादी जाँचसम्बन्धी गरेको निर्णय हाललाई फिर्ता लिएको बताएका छन् । नेकपा संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले क्वारेन्टाइन सुदृढ गरेर मात्र यसलाई लागू गर्ने स्पष्ट पारेका छन् ।
नयाँ बानेश्व रस्थित संसद् भवनमा बसेको नेकपा संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले नाकामा पूर्वाधार तथा मेसिन नहुँदा जाँचमा समय लाग्ने गरेको र त्यसबाट तरकारी कुहिने र बिग्रिने भएको हुनाले निर्णय तत्कालका लागि फिर्ता लिएको सांसदहरुलाई जानकारी दिए ।
संयुक्त जाँच चौकी निर्माण गर्ने क्रम सुरु भएको र ती सबै तयार भइसकेपछि यस्तो समस्या नहुने दाबी प्रधानमन्त्रीको छ। यसैबीच कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले भारत लगायत तेश्रो मुलुकबाट नेपाल आयात गरिने फलफूल तथा तरकारीको एकीकृत विषादी परीक्षणको काम सुरु गर्न कम्तिमा १ बर्ष लाग्ने जानकारी दिएका छन् ।