कांग्रेसकाे प्रश्नः मुडभेडका नाममा जनता मार्ने लाइसेन्स कसले दियो ?
काठमाडौं : प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले भारतको दवावमा विषादीयुक्त तरकारी र फलफूल आयात गर्न दिने खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकार खुलेर आलोचना गरेको छ । नेपाली कांग्रेसले राष्ट्रिय सभामा सरकारको निर्णयको विरोध गरेको छ । राष्ट्रिय सभामा नेपाली कांग्रेसकी सांसद अनिता देवकोटाले भारत लगायतका देशबाट आयात हुने तरकारी र फलफूलहरूलाई विषादी परीक्षण गरेर मात्रै भित्र्याउने भन्ने सरकारको निर्णय फिर्ता भएकोमा आश्चर्य व्यक्त गरेकी छिन् ।
‘प्राविधिकको विभिन्न बहाना गरेर सरकारले त्यो निर्णय फिर्ता लिएको छ । यो कस्तो गाईजात्रा हो ?’, प्रश्न गर्दै सांसद देवकोटो भनेकी छिन्, ‘आफै निर्णय गर्ने । फेरि आफै निर्णय कार्यान्वयन नगर्ने ?’ ‘निर्वाचनको बेलामा महानराष्ट्रवादीको नारा र भाषण दिने अहिलेको सरकार कसैको दवामा आएर लल्याक लुलुक परेर फेरि आफ्नो निर्णयबाट फिर्ता हुने यो कस्तो राष्ट्रवाद हो ?’, नेपाली कांग्रेसकी सांसद देवकोटाले भनेकी छिन्, ‘अहिले सरकारको राष्ट्रवाद कुन दुलोभित्र छिरेको छ ?’
उनले भनेकी छिन्, ‘विषयदीयुक्त फलफूल तथा तरकारीहरू उत्पादन र बिक्री वितरण गर्ने कुरामा कडाइका साथ रोक लगाइयोस् । त्यस कार्ययोजनाको सरकारले सदनमा उपस्थित भइ आफ्नो कार्ययोजनाको जानकारी गराओस् ।’ ‘त्यस्ता विषादीयुक्त तरकारी तथा फलफूलहरू नभित्रिने कुराको प्रत्याभूति सरकारले गराओस्’, कांग्रेस सांसद देवकोटाले भनेकी छिन्, ‘जनताको स्वास्थ्यमाथि खेलवाड गर्ने अधिकार सरकारलाई छैन ।’
नेपाली कांग्रेसकी सांसद देवकोटाले सर्लाहीको बाँके खोलामा १२ वर्षीय बालकको मृत्यु भएको विषयमा राजमार्ग अबरुद्ध हुँदा प्रहरीले अत्याधिक बल प्रयोग गरेर सर्वसाधारण जनता मारेको भन्दै आपत्ति जनाइन् । ‘१२ वर्षीय बालकको शव ढिला निकालिएको विरोधमा भएको प्रदर्शनमा प्रहरीले अत्याधिक बल प्रयोग गरेको छ’, उनले भनिन्, ‘राजमार्ग अवरुद्ध भयो भन्दैमा बल प्रयोग गरेर मान्छे मार्न पाइँदैन । बैकल्पिक उपायबाट सडक खुलाउन सकिन्थ्यो ।’
‘राजमार्ग खोल्ने बहानामा सर्लाहीमा केवल महतोको मृत्यु भएको छ । जनता मार्ने अधिकार कसले दियो ?’, उनले भनिन्, ‘गृह मन्त्रीजीलाई हिजोको बारुद र बमको धङधङी हटेको छैन । जनतालाई आतंकित बनाउने काम रोकिनुपर्छ । मुडभेडका नाममा जनता मार्ने लाइसेन्स कसले दियो ?’