यू-१९ क्रिकेटः मलेसियालाई हराउँदै नेपाल फाइनलमा

काठमाडौं : नेपाल मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । मलेसियालाई ७ विकेटले हराउँदै नेपालले फाइनलमा स्थान बनाएको हो । मलेसियाले दिएको ८८ रनको लक्ष्य नेपालले १५.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालको जितका लागि कप्तान रोहितकुमार पौडेल र भीम सार्कीले उत्कृष्ट साझेदारी गरे । सार्कीले ३४ बलमा ३३ रन र पौडेलले २९ बलमा ३१ रन बनाई अविजित रहे । ओपनर पवन सर्राफले १६ बलमा १८ रन बनाए । ओपनर रित गौतम १४ बलको सामना गरी जम्मा ३ रन बनाएर आउट हुँदा, खडक बोहरा शून्य रनमै आउट भएका थिए । छिट्टै लक्ष्य भेटाउने धुनमा खराब सट खेल्दा प्रारम्भिक ब्याट्सम्यान आउट हुन पुगेका थिए ।

मलेसियाका लागि हैक्वल मोद खैरले नेपालको दुई र मोहमद अमिरले एक विकेट लिए । क्वालालम्पुरको किनरारा मैदानमा भएको खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको थियो । पहिले ब्याटिङमा उत्रिएको मलेसियाको युवा टोलीले ओभरमा सबै विकेट गुमाइ रनको योगफल बनाउन सक्यो । मलेसियालाई सस्तैमा रोक्ने क्रममा नेपालका लागि सागर ढकालले ३ विकेट लिए । त्यसैगरी कुशल मल्लले २, कमलसिंह ऐरी र तिलक राज भण्डारीले एक–एक विकेट लिए ।

मलेसियाका लागि मोहमद अमिरले २४, हइक्वाल ममोद खैरले १२ र वान अमिरुल जुलकार्निनले ११ रन बनाए । अन्यले दोहोरो अंकको स्कोर बनाउन सकेनन् । अर्काे सेमिफाइनल खेलमा सिंगापुर र हङकङ प्रतिस्पर्धा गरिरहेका छन् । नेपालले अब फाइनलमा उपाधिका लागि सिंगापुर र हङकङबीचको विजेतासँग भिड्ने छ । हङकङले सिंगापुरलाई जितका लागि २४८ रनको लक्ष्य दिएको छ। समूह चरणको खेलमा नेपालले चीनलाई १० विकेट र सिंगापुरलाई २१७ रनले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो ।

सम्बन्धित खवर

Back to top button