सिरिन्ज आक्रमणपछि काभ्रेमा तनाव उत्पन्न


काभ्रे : काभ्रेमा ‘सिरिन्ज आक्रमण’लाई लिएर तनाव उत्पन्न भएको छ । स्थानीयबासीले प्रहरी चौकी घेराउ गरेका छन् । सोमबार विहान बाटो हिँडिरहेकी र बसमा रहेकी एक महिलाले आफूमाथि सिरिन्ज आक्रमण भएको बताएका थिए । लगत्तै स्थानीयबासीले चारदोबाटोस्थित बसपार्कबाट एक जनालाई प्रहरीको जिम्मा लगाएका हुन् ।
जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रमुख जयराज सापकोटाले स्याङ्जाका खगेन्द्रप्रसाद पाठकलाई पक्राउ गरिएको पुष्टि गरेका छन । प्रहरी उपरीक्षक (एसपी) सापकोटाले भने, ‘शंकित व्यक्ति भएको आशंकामा पक्राउ गरेका हौं ।’ बनेपाको चारदोबाटोमा युवतीमाथि सिरिन्ज हान्दै गर्दा स्याङ्गजा वालिङ्गका शिक्षक खगेन्द्र पाठकलाई प्रहरीले पक्राउ गरेको हो । सरस्वती माध्यमिक विद्यालय स्याङ्गजा वालिङ्गका शिक्षक पाठक काभे नमोबुद्ध नगरपालिका भकुन्डेका स्थायी बासिन्दा हुन् ।




उक्त सरकारी स्कुलका विज्ञान विषयका शिक्षक रहेका पाठकलाई स्थानीयहरुले आक्रोशित हुँदै कुटपिट समेत गरेका थिए । अहिले पाठकलाई हिरासतमा लगेर अनुसन्धान गर्न लागिएको सापकोटाले बताएका छन् । त्यसक्रममा उनलाई कुटपिट गर्न खोजेपछि प्रहरीले उद्दार गरेर तीन दोबाटोस्थित प्रहरी चौकीमा लगेको छ भने पीडित महिलालाई उपचारका लागि शिर मेमोरियल अस्पताल पुर्याइएको छ । पक्राउ परेका व्यक्तिले आफूले सिरिन्ज आक्रमण नगरेको बयान दिएका छन् ।