काठमाडौं : विषादी प्रकरणमा आफू झुक्किएकाे भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले क्षमायाचना मागेका छन् । ‘संविधान कार्यान्वयन र प्रशासनिक पुर्नसंरचना’ विषयक कार्यशाला गोष्ठीलाई बिहीबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले क्षमायाचना मागेका हुन्। प्रधानमन्त्री ओलीले भारतबाट आयात गरिने तरकारी र फलफूलमा विषादी परीक्षणबारे भारतीय दूतावासले पठाएको पत्रबारे आफूलाई पनि झुक्याइएको भन्दै क्षमायाचन गरेका हुन्।
विषादी प्रकरणमा आफू लज्जित हुनुपरेको प्रधानमन्त्रीले बताए। भारतबाट आएको पत्रको सम्बन्धमा आफूलाई पनि झुक्याएको उनले दाबी गरे। सुरुवातमा आफूलाई दूतावासबाट पत्र आएको छ भन्ने जानकारी नै नभएको बताए। ‘पत्र आएको रहेछ तर मलाई जानकारी दिइएन, यसबाट म लज्जित भएको छु, क्षमायाचना गर्छु,’ उनले भने।
यो विषयलाई गम्भीर रुपमा लिएको भन्दै प्रधानमन्त्रीले अनुसन्धान गर्ने पनि बताए। ‘नियतवस हो वा सामान्य लापरवाही हो,’ उनले भने, ‘त्यसमा म बुझ्दैछु’ । उनले नेपाली जनताको भान्सामा शुद्ध खाना पाक्नुपर्ने बताउँदै सरकारविरुद्ध चलाइएको मिसन पूरा नहुने समेत बताए।