के प्रचण्डले गाेप्य रूपमा श्यामशरणसँग भेटेका हाेइनन् त ?

काठमाडौं : नेपाल कम्नियुष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र भारतका पूर्वविदेश सचिव श्यामशरण बीच गोप्य भेटवार्ता भएको भन्ने समाचारप्रति प्रचण्ड सचिवालयले ध्यानाकर्षण भएको जनाएको छ । पूर्वप्रधानमन्त्री समेत प्रचण्डकी स्वकिय सचिव गंगा दाहालले शुक्रबार सञ्जाल मार्फत दाहाल र पूर्व भारतीय राजदूत श्यामशरणसँग गोप्य भेटघाट गरेको भन्ने समाचार प्रति आफूहरुको गम्भीर ध्यानाकर्षण भएको बताएकी हुन् ।

बुधबार, अध्यक्ष प्रचण्ड र श्यामशरणबीच खुमलटार गोप्य भेटघाट भएको समाचार प्रकाशित भएपछि दाहाल सचिवालयले त्यसको खण्डन गर्दै नेपाली पत्रकार जगतबाट सत्यतथ्य समाचार छाप्न आग्रह गरेको हो । बिहिबार प्रचण्डकी स्वकिय सचिव गंगाले आफ्नो फेसबुकमा लेखेकी छिन्- ने क पा अध्यक्ष तथा पूर्व प्रम क. प्रचण्डले हालै नेपालका लागि एक पूर्व भारतीय राजदूत श्यामशरण सँग गोप्य भेटघाट गरेको भन्ने समाचार प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

कमरेड प्रचण्डका कुनै पनि कुटनीतिक भेटघाटहरु गोप्य र रहस्यमय छैनन्, बरु ती पारदर्शी एवं पार्टी तथा सरकारी निकायहरुसँगको समन्वयमै भैरहेका छन् । हालसालै, कुनै भारतीय व्यक्ति वा निकायसंग वहॉको त्यस प्रकारको गोप्य भेट भएको छैन । तसर्थ, त्यससंग जोडेर गरिएका प्रचारबाजीहरु असत्य, नियोजित र दुराषययुक्त छन् ।

त्यस्तै, तरकारीको बिषादी परीक्षण प्रकरणमा अध्यक्ष प्रचण्डलाई जबर्जस्ती जोडेर गरिएको कुप्रचार भर्त्सनायोग्य छ । मुलुक र जनताको हितका लागि नेपाल सरकारद्वारा गरिएको र गरिनु पर्ने यस कामबारे अध्यक्ष प्रचण्ड सचेत र स्पष्ट हुनुहुन्छ । नेपालको रूपान्तरणका लागि ठूलो ऐतिहासिक भूमिका खेलेको नेपाली पत्रकार जगतबाट निरन्तर सत्य तथ्य समाचार मात्र आउने कुरामा हामी विश्वास व्यक्त गर्दछौं । धन्यवाद !

सम्बन्धित खवर

Back to top button