देशभर बाढीपहिरोले १७ जनाको ज्यान गयो, भीषण वर्षा रोकिएन
काठमाडौं : मनसून सुरु भएसंगै देशभर जारी अबिरल वर्षासँगैको बाढी र पहिरोमा परी १७ जनाको ज्यान गएको छ । गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्र (एनईओसी)का अनुसार बाढी र पहिरोमा परेर १३ जना घाइते भएका छन् । अहिलेसम्म खोटाङमा ३, काठमाडौंमा ३, काभ्रेमा २, भोजपुरमा २ तथा ललितपुर, मकवानपुर, पर्सा, महोत्तरी, रामेछाप, सिन्धुली र धादिङमा १–१ जना गरी ७ जनासहित १७ जनाको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ । काठमाडौंको मुलपानीमा छिमेकी घरको पर्खाल भत्किँदा एकै परिवारका ३ जनाको ज्यान गएको छ । पर्खालमा पुरिएर मृत्यु हुनेमा कुन्दन यादव, सर्मिला यादव र निलु यादव रहेका महानगरीय प्रहरी बृत्त बौद्धले जनाएको छ ।
यस्तै, खोटाङको खोटेहाङ गाउँपालिका– बाप्लुखामा पहिरोले घर बगाउँदा एकै परिवारका ३ जनाको ज्यान गएको छ । पहिरोले बगाउँदा बाप्लुखाका ३१ वर्षीया विष्णु राईकी श्रीमती रेखासहित छाेराहरु राेमन र रोहनको मृत्यु भएको हो । घरसँगै पहिरोमा पुरिएका विष्णुको स्थानीयले उद्दार गरेपनि उनकी श्रीमती, १ छोरा र १ छोरीको भने ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । गृह मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार बाढी र पहिरोमा परेर अहिलेसम्म ५ जना बेपत्ता छन् । गृह मन्त्रालयका अनुसार मोरङ, सुनसरी, महोत्तरी, पर्सा र काठमाडौंमा १–१ जना गरी ५ जना बेपत्ता छन् ।
बाढी र पहिरोमा परि अहिलेसम्म १३ जना घाइते भएका गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सिरहामा २, सर्लाहीमा १, रौतहटमा ५, खोटाङमा १, काभ्रेमा २ र ललितपुरमा १ गरी १३ जना घाइते भएका छन् । रौतहटको बृन्दावन नगरपालिका–१ बलरीखोरमा बागमती नदीमा आएको बाढीमा १५ जना फेसका र उनीहरुको उद्दार कार्य भइरहेको गृह मन्त्रालयले जनाएको छ ।यस्तै काठमाडौंको कलंकीस्थित ढुङ्गे अड्डाको होचो भागमा ३ जना फसेका र उनीहरुको पनि उद्दार जारी रहेको गृह मन्त्रालयले जनाएको छ ।
कहिलेसम्म पर्छ लगातार पानी, यस्तो छ तीन दिनको मौसम पूर्वानुमान बिबरण
बिहीबार रातिदेखि देशैभर मुसलधारे वर्षा भइराखेको छ। निरन्तरको वर्षाले तराईका विभिन्न जिल्लामा डुबान भएको छ भने पहाडमा ठाउँठाउँमा पहिरो खसेको छ। सडकमा पहिरो खसेपछि गए रातिदेखि बीपी राजमार्ग र मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । गोलन्जोर र सुनकोशी गाउँपालिकामा बीपी राजमार्ग अवरुद्ध भएको छ । गए राति गोलन्जोर गाउँपालिका–५ को सोलाभञ्याङ र खनियाखर्कको बीचमा सडकमा माथिबाट पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जानकारी जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले दिए।
यस्तै सुनकोशी गाउँपालिका–१ कमरेमा पनि पहिरोका कारण बीपी राजमार्ग अवरुद्ध भएको उनले बताए। उनका अनुसार पहिरोका कारण राजमार्ग अवरुद्ध भएपछि अहिले पहिरो पन्छाउने काम भइरहेको छ। यसैबीच माथिबाट खसेको पहिरोका कारण गोलन्जोर गाउँपालिकाअन्तर्गत मध्यपहाडी लोकमार्ग पनि अवरुद्ध भएको छ।
अवरुद्ध राजमार्ग हटाई सवारी आवागमन सञ्चालन गर्न गाउँपालिका अध्यक्षसँग समन्वय भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रमुख विष्णु बस्नेतले बताए। बिहानको समय भएकाले अहिले थोरै सङ्ख्यामा मात्र सवारी जाममा परेको उनको भनाइ छ। आवश्यक समन्वय गरी डोजर ल्याएर पहिरो पन्छाउने उनले बताए। राजमार्ग अवरुद्ध हुँदा गन्तव्यमा हिँडेका यात्रु बीचमै अलपत्र परेका छन् । भारी वर्षाका कारण काठमाडौं बाहिरका विमानस्थलमा उडान प्रभावित भएको छ।
बिहीबारदेखि लगातार परिराखेको वर्षाले अधिकांश विमानस्थल बन्द छ। त्रिभुवन विमानस्थलका प्रवक्ता प्रताप तिवारीका अनुसार लुक्ला, भोजपुर, तुम्लिङटार, फाल्पु, लामिडाँडा र धनगढी विमानस्थल बन्द छन्। तिवारीले भैरहवा, पोखरा, विराटनगर र भद्रपुर विमानस्थल भने वर्षा भइराखे पनि सुचारु रहेको जानकारी दिए। जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार दिनभर मुसलधारे वर्षा भइरहनेछ। मौसमविद् सुवास रिमालले देशैभर भारी र मुसलधारे वर्षा हुने बताए। वर्षासँगै हावाहुरी पनि चल्ने उनले जानकारी दिए।
‘मध्य तथा पूर्वीय क्षेत्रमा न्युनचापीय रेखा बनेको छ। त्यसले नै हावाहुरी र भारी वर्षा गराएको हो,’ उनले भने, ‘तीन दिनसम्म मनसुन सक्रिय रहन्छ। केही ठाउँमा भारी र केही ठाउँमा अति भारी वर्षा हुने पनि सम्भावना छ।’ वर्षाले नदी छेउका वस्तीमा डुबान हुनसक्ने भन्दै सरकारले सचेत रहन आग्रह गरेको छ।
यस्तो छ तीन दिनको मौसम पूर्वानुमान
असार २७ गते (शुक्रबार): दिउँसो देशभर अधिकांश बदली रही धेरैजसो स्थानहरुमा वर्षा हुनेछ। देशको खासगरि पूर्व र मध्य क्षेत्रका केही स्थानहरुमा भारि वर्षा हुने छ भने पूर्व क्षेत्रका तराई र मध्य पहाडका थोरै ठाउँहरुमा अति भारी वर्षासमेत हुनेछ। देशको केहि स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ। राति भने देशभर अधिकांश बदली रही धेरैजसो स्थानहरूमा वर्षा हुनेछ। देशको खासगरि पूर्व र मध्य क्षेत्रका केही स्थानहरुमा भारी वर्षा हुनेछ भने पूर्वक्षेत्रका तराई र मध्य पहाडका थोरै ठाउँहरुमा धेरै भारी वर्षासमेत हुनेछ। देशको केही स्थानमा हावाहुरीको सम्भावना रहेको छ।
असार २८ गते (शनिबार) दिउसो: देशभर व्यापक क्षेत्रमा वर्षा जारी रहनेछ। खासगरी पूर्व र मध्य क्षेत्रका केही स्थानहरूमा भारी वर्षा हुनेछ भने पूर्व र मध्य क्षेत्रका मध्य पहाड र तराईका थोरै ठाउँहरूमा धेरै भारी वर्षासमेत हुनेछ। देशका केही स्थानहरूमा हावाहुरीको सम्भावना छ।त्यस्तै राति देशभर व्यापक क्षेत्रमा वर्षा जारी रहनेछ। देशको खासगरि पूर्व र मध्य क्षेत्रका केही स्थानहरूमा भारी वर्षा हुनेछ भने पूर्व र मध्यक्षेत्रका मध्य पहाड र तराईका थोरै ठाउँहरूमा धेरै भारी वर्षासमेत हुनेछ। देशको केही स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ।
असार २९ गते (आइतबार) दिउसो: देशभर व्यापक क्षेत्रमा वर्षा जारी रहनेछ। देशको खासगरि पूर्व र मध्य क्षेत्रका केही स्थानहरूमा भारी वर्षा हुनेछ भने पूर्व र मध्य क्षेत्रका मध्य पहाड र तराईका थोरै ठाउँहरुमा धेरै भारी वर्षा समेत हुनेछ। राति भनेदेशभर व्यापक क्षेत्रमा वर्षा जारी रहनेछ। देशको खासगरि पूर्व र मध्य क्षेत्रका केही स्थानहरूमा भारी वर्षा हुनेछ भने पूर्व र मध्य क्षेत्रका मध्य पहाड र तराईका थोरै ठाउँहरूमा धेरै भारी वर्षासमेत हुनेछ।
देशको खासगरी पूर्व र मध्यक्षेत्रका केही स्थानहरुमा भारी वर्षा हुने र पूर्व क्षेत्रका तराई र मध्य पहाडका थोरै ठाउँहरूमा धेरै भारीसमेत हुने भएकोले पूर्व र मध्य क्षेत्रका पहाडी भू-भागमा पहिरो जान सक्ने र पूर्व र मध्य तराई क्षेत्रका नदीहरूमा जलको बहाव, स्तर बढ्न सक्ने भएको उच्च सतर्कता अपनाउनु पर्ने देखिन्छ। साथै, देशभर हवाई तथा सडक यातायातमा समेत अवरोध आउने सक्ने भएकोले उच्च सतर्क रहनुपर्ने देखिन्छ।