पारसकाे विस्फोटक ब्याटिंगः मलेसियलाई ७ विकेटले सहजै पराजित
काठमाडाैं : मलेसियामा सुरु भएको २ वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज अन्तर्गत नेपालले पहिलो खेलमा मलेसियालाई ७ विकेटले पराजित गर्दै सिरिजमा १-० को अग्रता लिएको छ। सिरिज अन्तर्गत दोश्रो तथा अन्तिम खेल आइतबार खेलिनेछ।
मलेसियाले पहिले ब्याटिंग गर्दै दिएको १२९ रनको लक्ष्य नेपालले ३ विकेट गुमाएर १८.३ ओभरमै पुरा गर्यो । लक्ष्य पछ्याउने क्रममा ओपनर प्रदिप ऐरी र पारस खड्काले २९ रनको ओपनिंग साझेदारी गरे। १७ बलमा ८ रन बनाएर प्रदिप पाँचौ ओभरमा फित्री शामबाट क्याच आउट भए।
दोश्रो विकेटको लागि पारसले ज्ञानेन्द्र मल्लसंग २१ रनको साझेदारी गरे। ज्ञानेन्द्र २० बलमा ७ रन बनाएर १० औं ओभरमा अनवर रहमानबाट बोल्ड हुन पुगे। रोहित पौडेल पनि ४ बलमा १ चौका मदतले ५ रन बनाएर अनवरबाट एलबिडब्लु आउट हुन पुगे। त्यसपछि पनि पारस खड्काले एक किनार सम्हालीरहे र आक्रामक इनिंग खेले।
११.२ ओभरमा ६८/३ को अवस्थाबाट पाँचौ नम्बरमा ब्याटिंग गर्न आएका शरद भेसावकर संग पारसले साझेदारी गरे।
यो बीचमा पारसले टि-२० अन्तर्राष्ट्रियमा आफ्नो दोश्रो अर्धशतक पुरा गरे। यस अघि पारसले नेदरल्यान बिरुद्ध २०१५ मा अर्धशतक ( ५४ रन ) बनाएका थिए। टि-२० अन्तर्राष्ट्रियमा पारस पछि सुबास खकुरेल र सन्दिप जोराले मात्र अर्धशतक बनाउन सकेका छन्।
पारस र शरदले अविजित इनिंग खेल्दै नेपाललाई जितसम्म पुर्याए। चौथो विकेटको लागि दुवैले ६१ रनको साझेदारी गरे।
पारसले अविजित ८६ रन बनाए जुन क्रममा ५० बलमा ८ चौका र ५ छक्का प्रहार गरे। शरदले २० बलमा १ छक्का मदतले १६ रन बनाए।
पारसले बनाएको ८६ रन टि-२० अन्तर्राष्ट्रियमा नेपाली खेलाडीको सर्वाधिक व्यक्तिगत रन समेत हो। यस अघि सुवास खकुरेलले अफगानिस्तान बिरुद्ध टि-२० विश्वकप २०१४ मा बनाएको ५६ रन सर्वाधिक थियो जुन रेकर्ड पारसले तोडेका हुन्।
मलेसियाको बलिंगमा अनवर रहमानले २ विकेट ( ४-०-२०-२ ) तथा फित्री शामले १ विकेट ( ४-०-२६-१ ) लिए।
मलेसियाको ब्याटिंग
यस अघि टस जितेर ब्याटिंग गरेको मलेसियाले २० ओभरमा ९ विकेट गुमाएर १२८ रन बनाएको थियो। मलेसियाको लागि ओपनर भिरनदिप सिंहले सर्वाधिक ५७ रन ( ४९ बलमा ७ चौका र १ छक्का ) , कप्तान एहमद फैजले ४५ ( ३९ बलमा २ छक्का ) बनाए। फित्री शामले १२ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।
नेपालको बलिंगमा करन केसीले ३ विकेट ( ४-०-२७-३ ) तथा बसन्त रेग्मी ( ४-०-२८-२ ) र सन्दिप लामिछाने ( ४-०-२५-२ ) ले २/२ र सोमपाल कामि ( ३-०-१५-१ ) ले १ विकेट लिए।
नेपालको अन्तिम ११ :- पारस खड्का ( कप्तान ) , ज्ञानेन्द्र मल्ल, शरद भेसावकर, बसन्त रेग्मी, सोमपाल कामि, करन केसी, बिनोद भण्डारी ( विकेटकिपर ) , प्रदिप ऐरी, सन्दिप लामिछाने, रोहित पौडेल, ललित राजबंशी