नवजात शिशु चोर्ने महिला स्याङ्जामा भेटिइन्, हेर्नुस् यसरी चोरेकी थिइन् शिशु
पाल्पा : पाल्पाको प्रभासस्थित लुम्बिनी मेडिकल कलेजबाट नवजात शिशु चोर्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । शुक्रबार दिउँसो ३ बजे तानसेन ९ मदनपोखराकी जमुना रानाको बच्चा चोरेर फरार रहेकी महिला स्याङ्जा जिल्लाको कालीगण्डकी गाउँपालिकामा भेटिएपछि नियन्त्रणमा लिइएको स्रोतले जनाएको छ ।
नियन्त्रणपछि बच्चा र चोरी गर्ने महिला दुवैलाई पाल्पातर्फ ल्याइएको प्रहरीले जनाएको छ । ४ दिनदेखि सुत्केरी वार्डमा रहेकी अपरिचित महिलाले शुक्रबार जमुनाकी आमालाई सहयोग गर्ने बहाना बनाएर अस्पतालबाटै बच्चा लिएर फरार भएकी थिइन् । त्यसबेलामा सुत्केरी जमुना अचेतजस्तै थिइन् । लामो समयदेखि अस्पतालभित्र ती महिलालाई बस्न दिनु शंकास्पद रहेको आफन्तको भनाइ छ ।
प्रहरीले बच्चा हराउने बित्तिकै सिद्धार्थ राजमार्गका नाका र आसपासका जिल्लामा खोजी गरेको थियो । नवजात शिशु चोरीमा संलग्न महिलाको परिचय भने खुलाइएको छैन । उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक कृष्णराज सापकोटासहितको टोली समेत महिला र बच्चा भेटिएको स्थलमा पुगेको छ । महिलाले चोरेर लगेको बच्चाको अवस्था सामान्य रहेको बताइएको छ ।
हेर्नुस् भिडियाे