त्रियुगा बाँध फुटेपछि भारतीय बस्ती डुबानमा, नेपाली सेना समेत उद्धारमा

काठमाडाैं : चार दिनदेखि आएको निरन्तर वर्षाका कारण उदयपुरको बेलका नगरपालिका–१ तपेश्वरीमा आज बिहान त्रियुगा नदीको बाँध फुट्दा तपेश्वरी क्षेत्रका पाँचसय भन्दा बढी घर डुबानमा परेका छन् । प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काका अनुसार त्रियुगा नदीको बाँध फुटेर पूरै त्रियुगा नदी तपेश्वरी क्षेत्रमा प्रवेश गरेपछि अहिले सशस्त्र प्रहरी नेपाल प्रहरी र नेपाली सेनाको टोलीले दुई सय जनाको उद्धार कार्य गरिसकेको छ भने अन्यको पनि उद्धार कार्य जारी राखेको छ ।

तपेश्वरी क्षेत्रमा थप क्षति हुन नदिन नेपाली सेना र सशस्त्र प्रहरी इटहरीबाट समेत थप सामग्री मगाएर उद्धार कार्य शुरु गरिएको प्रजिअ खड्काले बताउनुभयो । पूरै तपेश्वरी गाउँनै त्रियुगा नदीको डुबानमा परेको र हेलिकप्टर मगाउन प्रयास गरिए पनि उडान हुन नसक्ने अवस्था रहेका कारण अहिले प्रदेश नं १ इटहरीसहित जिल्लाका सुरक्षाकर्मी ‘जेटबोट’ परिचालन गरेर तपेश्वरीमा उद्धारकार्यमा जुटेका प्रजिअ खड्काले जानकारी दिनुभयो ।

अहिले नै रेडक्रससहित औषधि, लत्ताकपडा खानेकुराका लागि सहयोग गर्ने टोली पनि तपेश्वरीतर्फ पठाउने कार्य भइरहेकोे जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यस्तै कटारी नगरपालिकाको कटारी बजारस्थित तावा खोला किनारका पच्चीस घर मुसहरबस्तीसमेत डुबानमा परेपछि अहिले सो क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उद्धार कार्य गरिरहेको प्रजिअ खड्काले बताएका छन् ।

बाढीपहिराेमा परि भारतमा १५ जनाकाे ज्यान गयाे
भारतको उत्तर प्रदेशमा वर्षापछि भएका विभिन्न घटनामा परी कम्तीमा १५ जनाको ज्यान गएकाे छ । गत तीन दिनको अवधिमा १४ जिल्लामा उनीहरुको ज्यान गएको अधिकारीहरुले जानकारी दिएका छन् ।

पछिल्लो विवरण अनुसार १५ जनाको ज्यान गएकाे छ भने २३ जनावर पनि मरेका छन् । वर्षाका कारण १३३ ओटा घर भत्किएका छन् । यी घटना यही जुलाई ९ देखि १२ सम्ममा भएका हुन् ।

प्राकृतिक प्रकोपबाट प्रभावित हुने जिल्लाहरुमा उन्नाओ, अम्बेडकर नगर, प्रयागराज, बाराबाँकी, हार्डोइ, खिरी, गोरखपुर, कानपुर नगर, पिलिभित, सोनाभाद्र, चन्डोली, फिरोजवाद, माउ र सुल्तानपुर रहेका छन् ।

भारतको मौसम विभागले उत्तराखण्ड, पूर्वी उत्तर प्रदेश, झारखण्ड, मध्य महाराष्ट्र, कोन्कान र गोआ, कोस्टल कर्नाटक, अरुणाञ्चल प्रदेश र नागाल्याण्ड, मणीपुर, मिजोराम र त्रिपुरालगायतका क्षेत्र पनि वर्षा र बाढी पहिरोले बढी प्रभावित भएका छन् । ती ठाउँहरुमा अझै केही दिन बर्षा र बाढी पहिरोको प्रभाव पर्ने विभागले अनुमान गरेको अधिकारीहरुले जनाएका छन् ।

सम्बन्धित खवर

Back to top button