स्थानीय तहबीचको सीमा विवाद उत्कर्षमा
खलंगा : जाजरकोट र सुर्खेतको सीमानामा पर्ने छेडाचौरको विषयलाई लिएर दुई स्थानीय तहबीचको सीमा विवाद उत्कर्षमा पुगेको छ । छेडाचौर क्षेत्रमा सुर्खेतको सिम्ता गाउँपालिकाले टाँसेको बोर्ड जाजरकोटको शिवालय गाउँपालिकाले फ्याँकिदिएपछि सिमा विवाद उत्कर्षमा पुगेको हो ।
शनिबार सिम्ता गाउँपालिका सुर्खेतका अध्यक्ष कवेन्द्रकुमार केसी लगाएतको टिम आएर छेडाचौरमा आफ्नो वोर्ड टाँसे लगत्तै शिवालय गाउँपालिका जाजरकोटका अध्यक्ष नरेन्द्रकुमार शाहीको टिम आएर सिम्ता गाउँपालिकाले राखेको साईन वोर्ड उलेखेर फ्याँकी आफ्नो गाउँपालिकाको बोर्ड राखेको प्रहरीले जनाएको छ । जाजरकोटको शिवालय गाउँपालिका १ र सुर्खेतको सिम्ता गाउँपालिका वडा १ बीचमा रहेको छेडाचौरको विषयलाई लिएर तनाव उत्पन्न भएको हो ।
यो क्षेत्रमा आ-आफ्नो दावी लिएपछि विवाद उत्पन्न भई सीमा क्षेत्रमा राखिएको वोर्ड फालाफाल भएको हो । शिवालय गाउँपालिकाका प्रशासकीय अधिकृत धनीराम शर्माका अनुसार सर्वोच्च अदालतले जाजरकोटको पक्षमा पहिले नै फैसला गरिसेकेकोले विवाद गर्न जरुरी नभएको बताए । उनले सर्वोच्च अदालतले छेडाचौरको खोला देखि पारी पश्चिम क्षेत्र सुर्खेत र पूर्वमा जाजरकोट भनी प्रमाणित गरिसकेकाले खाटा बसिसकेकाे घाउँ बल्झाइ रहन आवश्यक नरहेको बताए ।
पहिले समाधान भएको विषय अहिले स्थानीय सरकार गठनपछि पुनः बल्झिएको स्थानीयले बताएका छन् । उता सिम्ता गाउँपालिकाका अध्यक्ष केसीलाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुँन सकेको छैन् । प्रशासकीय अधिकृत जनक हमालले सीमा क्षेत्रमा विवाद भएकाले दुवै पक्ष एक आपसमा वैठक वसेर छलफलबाट समाधान खोज्ने बताएका छन् । उनले विवाद भएको ठाउँमा अहिले तनाव कम गर्नका लागि सहमति, सहकार्य र छलफल नै उत्तम माध्यम भएकाले यसका माध्यमबाट छिटै निष्कर्षमा पुगिने बताए ।