शनिबारकै दिन सरकारद्वारा साढे दुई अर्ब रकम भुक्तानी
काठमाडौं : शनिबार सरकारी कार्यालयका साथै अधिकांश निजी कार्यालयहरू बन्द हुन्छन्। चालु आर्थिक वर्षको अन्तिम शनिबार भने कोष तथा लेखा नियन्त्रक कार्यालयका कर्मचारी दिनभर काममा खटिन बाध्य भए। यसअघि नै ८० प्रतिशत खर्च भइसकेको समीक्षा गरेको सरकारले शनिबारको दिन साढे दुई अर्ब रुपैयाँ बढीको भुक्तानी गरेको छ।
शनिबार दुई अर्ब ५० करोड २४ लाख रुपैयाँ विभिन्न कोष तथा लेखानियन्त्रक कार्यालयहरूबाट भुक्तानि गरेपछि सरकारले चालु आर्थिक वर्ष तीन दिन बाकी रहदाको अवस्थामा ७७.२५ प्रतिशत खर्च गरेको छ। महालेखा नियन्त्रकको कार्यालयअनुसार शनिबार चालु खर्चको लागि ९२ करोड ५० लाख रुपैयाँ र पूँजीगत खर्च एक अर्ब ५७ करोड ७४ लाख रुपैयाँ खर्च गरेको छ।
शनिबार मात्रै चालु आर्थिक वर्षमा विनियोजन गरिएको रकमको ०.५० प्रतिशत खर्च भएको छ भने हालसम्म गरिएको खर्चको आधारमा ०.७८ प्रतिशत खर्च भएको छ। शनिबार भुक्तानी गरिएको रकमसमेत गर्दा चालु हालसम्म सरकारले चालु खर्च ८२, पुँजीगत खर्च ६४ र वित्तीय व्यवस्थापन खर्च ७८ प्रतिशत मात्रै खर्च गरेको छ। महालेखा नियन्त्रकको कार्यालयले वर्षको अन्तिम समय भएको कारण कोष तथा लेखा नियन्त्रकको कार्यालयबाट भुक्तानी भइरहेको जानकारी गराएको छ। ‘वर्ष अन्त्यमा प्रेसर हुन्छ मन्त्रालयबाट पनि दबाब बढी भएको हुन्छ’ नियन्त्रण कार्यालयका एक उपमहालेखा नियन्त्रकले भने ‘सदा जस्तै अहिले पनि वर्ष अन्त्यमा भुक्तानीको बढी प्रेसर छ। कतिपय ठाउँमा अहिले काम पनि हुँदैछ।’
अबको तीन दिनमा सरकारले पूँजीगत खर्च दैनिक छ अर्ब माथि गर्दा पनि ७० प्रतिश पुर्याउन नसक्ने देखिएको छ। सरकारको संसोधित अनुमानअनुसार चालु खर्च ९४.४ पूँजीगत खर्च ८४.५ र वित्तीय व्यवस्थापन खर्च ८७ प्रतिशत खर्च गर्ने लक्ष्य निर्धारण गरेको छ। हालसम्मको खर्चले कुनै पनि अनुमान पूरा नहुने देखिन्छ। त्यस्तै, चालु वर्षमा राजस्व लक्ष्य पनि पूरा हुन नसक्ने भएको छ। शनिबारसम्म सरकारले लक्ष्य ८२ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ। चालु आर्थिक वर्षमा विभाज्यबाहेक सरकाले ८ खर्ब ३१ अर्बको राजस्व सकंलन गर्ने लक्ष्य निर्धारण गरेपनि वर्ष सकिन तीन दिन मात्रै बाकी रहँदा ६ खर्ब ८९ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ। जसमा कर राजस्वतर्फ ६ खर्ब ८ अर्ब रुपैयाँ रहेको छ भने गैरकरतर्फ ८१ अर्ब रुपैयाँ रहेको छ।