बालुवाटारमा खैलाबैलाः कांग्रेस नेताको गाडी चढेर श्यामशरण पुगे प्रचण्ड निवास


काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल र भारतीय पूर्व विदेशसचिव श्यामशरणबीच दुई महिनाअघि भेट भएको थाहा भएको छ।
संयुक्त राष्ट्रसंघको राजनीतिक विभागले शान्ति र सुरक्षाको विषयमा गरेको एउटा कार्यक्रममा सहभागी हुन नेपाल आएका बेला श्यामशरणले प्रचण्डलाई भेटेका हुन्। सो कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका सांसदहरू दीपकप्रकाश भट्ट र पूर्वसचिव तथा पूर्वमन्त्री विद्याधर मल्लिक सहभागी थिए।



नेपाली कांग्रेसका नेता अमरेश सिंहले नेकपाका अध्यक्ष प्रचण्ड र भारतीय पूर्वसचिव श्यामशरणबीच आफूले भेटवार्ता गराइदिएको र उनीहरुबीच कुनै त्यस्तो ‘गोप्य’ संवाद नभएको बताएका छन्।
सुरूमा यो कार्यक्रम श्रीलंकाको राजधानी कोलम्बोमा हुने तय भएको थियो। तर इस्टर डेका दिन कोलम्बोमा श्रृंखलावद्ध हमला भएपछि कार्यक्रम काठमाडौंमा भएको सिंहले जानकारी दिए।
‘संयुक्त राष्ट्रसंघको एउटा कार्यक्रममा भाग लिन श्यामशरण नेपाल आउनुभएको थियो, मैले सोही कुरा प्रचण्डजीसँग भनें, उहाँले भेटौं न त भनेपछि श्यामशरणलाई मेरै गाडीमा लिएर हामी खुमलटार गयौं र ब्रेकफाष्ट लियौं,’ सिंहले भने ‘त्यो दिनको ब्रेकफाष्टमा अमलेट र फापरको रोटी थियो।’ दुई जनाबीच भएको भेटमा लामो संवाद भने केही पनि नभएको सिंहले बताए।
यस्तै प्रचण्डको सचिवालयले पनि हालसालै कुनै पनि भारतीय कूटनीतिज्ञसँग गोप्य भेटघाट नभएको र भएका भेटहरू सरकारसँगको समन्वयमै भएको बताएको छ। तर श्यामशरणसँगको त्यो भेटबारे प्रधानमन्त्री केपी शर्मा ओलीले निकै पछिमात्रै थाहा पाएका थिए।
प्रधानमन्त्रीलाई थाहा नदिई गोप्य रूपमा प्रचण्डले श्यामशरणलाई भेटेको भन्दै बालुवाटार अन्तुष्ट बनेको थियो। भारतीय राजदूत मञ्जीवसिंह पुरीले पनि खबर नगरी जनकपुरमा पूर्वराजा ज्ञानेन्द्रलाई भेटेको भन्दै प्रधानमन्त्री ओलीले आफ्ना मन्त्रीहरूसँग भनेका थिए।
प्रचण्ड र श्यामशरणबीच भेटवार्ता भएको समाचार बाहरि आएपछि प्रचण्डको सचिवालयले उनले कुनै विदेशी नेतासँग भेटघाट नगरेको विज्ञप्ति निकालेको थियो।