तरकारीकाे मूल्य आकाशियाेः सातामा ७० प्रतिशतले वृद्धि

काठमाडौं : बाढी, पहिरो र डुबानलाई देखाउँदै एक सातामै तरकारीको भाउ आकासिएको छ । पछिल्लो एक वर्षको आधार मान्ने हो भने केही तरकारीको भाउ ३५० प्रतिशत भन्दा बढी पुगेको छ ।

एकसाता अघि र अहिले पनि तरकारीको भाउमा ७० प्रतिशतसम्म वृद्धि भएको छ । बिहिबार रातिबाट परेको अविरल वर्षासँगै देशका अधिकांश भागमा बाढी पहिरोसँगै डुबानमा परेपछि तरकारीको भाउ एक्कासी आकासिएको हो । त्यसअघि पनि भाउ बढ्न भने थालिसकेको थियो । भारतबाट आयात हुने तरकारीमा विषादी चेकजाँच क्रम बढेसँगै तरकारीको भाउ बढ्न थालिसकेको थियो । असार १८ गतेदेखि पुन सो काम रोकिएपछि फेरी तल झर्न थालेको भाउ अहिले पुन एक्कासी बढेको हो ।

कालिमाटी फलफुल तरकारी बजार विकास समितिको मंगलबारको मूल्यअनुसार ठूलो गोलभेडाको खुद्रा मूल्य अधिकतम १३० रुपैयाँ प्रतिकेजी छ । त्यस्तै प्याजको ५० रुपैयाँ, आलु रातो ५० रुपैयाँ, काउली ११० रुपैयाँ, गाजर १२० रुपैयाँ, मुला सेतो ९० रुपैयाँ प्रतिकेजी मूल्य तोकिएको छ । अघिल्लो वर्षको यही समयको तुलनामा यो वर्ष २९० प्रतिशतले मूल्य वृद्धि भएको छ ।

असार २४ गते भिन्डीको न्युनतम मूल्य ८० रुपैयाँ थियो भने अधिकतम ९० रुपैयाँ थियो तर असार ३१ गते यो मूल्य बढेर न्युनतम १२० देखी अधिकतम १३० रुपैयाँ पुगेको छ । यो एक साताको विचमा बोडी सय रुपैयाँ किलोबाट बढेर १३० रुपैयाँ पुगिसकेको छ । तितो करेला, लौका, परवल (स्थानीय)मा पनि प्रतिकिलो न्युनतम १० रुपैयाँ बढेको छ । बन्दाको भाउ भने शतप्रतिशत बढेको छ । एकसाता अघि न्युनतम ३० देखि अधिकतम ४० रुपैयाँमा बिक्री भइरहेको बन्दा मंगलबार न्युनतम ६० देखि ७० रुपैयाँमा बिक्री भएको कालिमाटीका व्यापारीहरू बताउँछन् ।

कालिमाटीमा तरकारीको भाउ यो भएपनि त्यहाँबाट खुद्रामा लगेर बेच्नेले थप नाफा राखेर बेच्ने गरेका छन् । जसका कारण उपभोक्तामा पुग्दा यो भाउ अझै बढ्ने गरेको छ । सरकारले तरकारीमा २० प्रतिशत नाफा खान मिल्ने व्यवस्था गरेको छ । तर, व्यापारीले ६० प्रतिशतसम्म नाफा खाने गरेका छन् । तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको व्यवसायीहरू स्वीकार्छन् । तर, उनीहरू भारतबाट आउने तरकारीको विषादी परीक्षणले पनि मूल्यमा प्रभाव पारेको दाबी गर्छन् ।

नेपाल फलफुल तथा तरकारी व्यवसायी माहासंघका अध्यक्ष खोम घिमिरेले विषादी परीक्षणको प्रभाव तरकारीको मूल्यमा पनि देखिएको दाबी गरे । व्यवासायीहरूले तराई क्षेत्रमा डुबान भएका कारण उत्पादित तरकारी बजारमा आउन समस्या परेका कारण पनि मूल्य बढेको बताएका छन् । उपभोक्ताले भने तरकारीमा विचौलियाले प्राकृतिक प्रकोपलाई कालोबजारीमा परिणत गरेको आरोप लगाएका छन् ।

बजार अनुगमन गर्ने जिम्मा पाएको वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले माग र आपूर्तिको सन्तुलन नमिल्दा केही दिनदेखि बजारमा तरकारी महँगो भएको स्वीकार गर्दछन् । आपूर्ति विभागले तरकारीको गुणस्तर र कालोबजारी भएर वा नभएको अनुगमन गर्ने भन्दै गौचनले भने, ‘व्यापारीले कालोबजारी र ठगी गरेको प्रमाणित भए कालोबजारी ऐनअनुसार कारबाही हुन्छ ।’

कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार गतवर्ष यो बेलाको तुलना हरियो तरकारी भाउ थोक मूल्यमै २० देखि ३५५ प्रतिशतसम्म बढेको छ । थोक मूल्यमै भाउ बढेपछि खुद्रा व्यापारीले पनि मनोमानी रूपमा मूल्य बढाउँदै आएका छन् । समितिका अनुसार सामान्य अवस्थामा अरू वेलामा कालिमाटीमा दैनिक झन्डै एक हजार टनको हाराहारीमा तरकारी भित्रिने गरेकोमा शनिबारदेखि ६०० देखि ६५० टनको हाराहारिमा मात्रै तरकारी भित्रिएको छ ।

उपत्यकावासीको माग झन्डै ७० प्रतिशत कम मात्रै तरकारी आयात हुनु र आएको तरकारी पनि पानीले बिग्रेका कारण भाउ आकासिएको समितिले जनाएको छ ।
तरकारीको खुद्रा मुल्य -असार ३१ र असार २४ – गोलभेडा ठुलो १२०–१३० ९०–१००, गोलभेडा सानो १००–११० ६०–७०, बन्दा ६०–७० ३०–४०, मुला सेतो ८०–९० ७०–८०, बोडी १२०–१३० ९०–१००, भिन्डी १२०–१३० ८०–९० रूपैयाँ फरक रहेकाे छ ।

सम्बन्धित खवर

Back to top button