विप्लव नेतृत्वकाे नेकपाले साउन ७ गतेदेखि सरकारी गाडी गु्ड्न नदिने

काठमाडौं : सरकारको प्रतिबन्ध झेलिरहेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले राज्यले गरेको दमनविरूद्ध साउन ७ गतेदेखि सरकारी गाडी गुड्न नदिने घोषणा गरेको छ । विप्लव समूहका मध्यपश्चिम कमाण्ड इन्चार्ज वीरजंगले बुधबार विज्ञप्ति निकालेर राज्यको कदमविरुद्ध साउन ७ गतेदेखि सेतो नम्बर प्लेट (सरकारी गाडीहरु सडकमा गुड्न नदिने घोषणा गरेका हुन् ।

‘हाम्रो पार्टी एकीकृत जनक्रान्तिको वैज्ञानिक कार्यदिशाको सफल कार्यान्वयनका साथ अगाडि बढिरहेको छ। यस प्रक्रियामा प्रतिक्रियावादी सत्ता र जनसत्ता बीचको मोर्चाबन्दी झन् कसिलो बन्दै गइरहेको छ,’ मध्य पश्चिम कमाण्ड इन्चार्ज वीरजंगले विज्ञप्तिमा भनेका छन्, ‘राजनीतिक लडाइँको मोर्चामा हारेको सत्ताले हाम्रा नेता कार्यकर्तालाई गैरन्यायिक गिरफ्तारी, दमन, यातना र ह *त्याका घटना गराएको छ ।

यसरी हाम्रो आन्दोलनलाई ठेगान लगाउन नसकेपछि वार्ताको भ्रमपूर्ण प्रचारसहित अरू दमनको तयारी गरिरहेको छ ।’ वीरजंगले जनप्रतिनिधिहरू भ्रष्टाचारमा लिप्त भएको आरोप पनि लगएका छन् । गाउँ गाउँमा सिंहदरबारको नाममा चर्को कर अुसली र दमन अभियान चलाइएकाले प्रतिरोधमा उत्रिनुपरेको उनले बताएका छन्।

‘गाउँ-गाउँमा सिंहदरवारको नारामा गठित स्थानीय सरकारले चर्को कर असुल्ने र जनतामाथि नै दमन गरेर जनपक्षीय आवाजलाई बन्द गर्ने काम गर्दैछ। जनप्रतिनिधिहरु नै ठेक्कामा सामेल हुने, आफ्नै टिप्पर, ट्रक, ट्याक्टर र स्काभेटर प्रयोग गर्दै राज्यको सम्पत्ति दोहन गरिरहेका छन्’, विज्ञप्तिमा भनिएको छ, ‘कतिपय जनप्रतिनिधि नै कार्यकर्ता ह *त्या र सुराकीको भूमिका खेलिरहेका हुनाले हाम्रो पार्टीले आगामी दिनमा ती सबै काम बन्द गर्ने निर्णय गरेको छ ।’

राज्य दमनमा उत्रँदै पार्टीलाई प्रतिबन्ध लगाउने, नेता कार्यकर्ताको ह *त्या, हिरासतमा राखी यातना र शान्तिपूर्ण भेला गर्न नदिएको उनले दाबी गरेका छन्। त्यहीविरूद्ध प्रतिरोधका लागि साउन ७ गते सेतो नम्बर प्लेटका गाडीहरु सडकमा गुड्न नदिने घोषणा गरिएको विप्लव नेकपाले गरेको छ। उक्त निर्णय नटेरे कारवाही चलाउने चेतावनी पनि उनले दिएका छन्।

हेर्नुस् विज्ञप्ति

सम्बन्धित खवर

Back to top button