नगर प्रमुख बने कराँतेको अन्तराष्ट्रिय ‘ए’ क्लासकाे रेफ्री
काठमाडाैं : भेरी नगरपालिका जाजरकाेटका प्रमुख चन्द्रप्रकाश घर्ती अर्थात सिपी घर्ती मगर जनप्रतिनिधि मात्रै हाेइनन् । उनी एउटा सफल खेलाडी पनि हुन् । उनी नगर प्रमुख हुँदैगर्दा जनप्रतिनिधि मध्ये नेपालकै पहिलाे कराँतेको अन्तराष्ट्रिय ‘ए’ क्लासकाे रेफ्री समेत बनेर छुट्टै छबि बनाउन सफल भएका छन् ।
उज्बेकिस्तानमा भएको “१६ औ एशियन सिनियर कराँते च्याम्पियनशिप” २०१९ को अवसरमा भएको एशियन कराँते महासंघ (AKF) को अपग्रेट परिक्षामा सफल भई उनले जज ‘ए’ काे सफलता हात पारेका हुन् । खेललाई नै आफ्नाे जीवन बनाइसकेका उनी राजनीतिक रूपमा पनि पछिल्लाे समय अब्बल मानिन्छन् । राजनीतिक खेलमा पनि अहिले सम्म हार्नु परेकाे छैन उनले ।
जाजरकाेट आफैमा पिछडिएकाे जिल्ला मात्रै नभइ विभिन्न किसिमका राेगभाेक र अभावले थिलाेथिलाे भएकाे जिल्ला हाे । यही जिल्लाबाट खेल क्षेत्रमा आफ्नाे करियर सुरू गरेका सिपी घर्ती मगरले यतिबेला कराँतेको अन्तराष्ट्रिय रेफ्री (जज)’ए’ काे सफलता हात पारेका छन् ।
जाजरकोटको भेरी नगरपालिका वडा नम्बर ६ भेरे जस्ताे विकट ठाउँमा जन्मेर पनि मेयर घर्तीले निकै ठूलाे सफलता हात पारिरहेका छन् । यसअघि उनी कराँतेको अन्तराष्ट्रिय जज ‘बी’मा रहेका थिए । मेयर घर्ती कराँतेको अन्तराष्ट्रिय जज ‘ए’ को सफलता पाउने कर्णाली प्रदेशकै पहिलो व्यक्ति हुन् भने नेपालकै एक मात्र जनप्रतिनिधि समेत हुन ।
लामो समय खेलकुद क्षेत्रमा सक्रिय घर्तीले बिभिन्न उपाधि समेत प्राप्त गरिसकेका छन् । बिद्यार्थी राजनीति हुदै हाल नेकपा कर्णाली प्रदेशको प्रदेश कमिटि सदस्य समेत रहेका छन् । उनले राजनीति र खेललाई एकैसाथ अगाडि बढाइरहेका छन् ।