‘बालुवाटार जग्गा प्रकरण छानबिनमा सहयाेग गर्छु, अनावश्यक मेराे नाम मुछियाे’

काठमाडौं : अत्यन्तै विवादस्पद बनेकाे बालुवाटार जग्गा प्रकरण छानबिनमा सहयाेग पुर्याउन आफू तत्पर रहेकाे नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले बताएकाे छन् । बालुवाटार जग्गा प्रकरणमा सरोकारवाला निकायले गर्ने छानबिनमा आफूले सघाउने बताएका हुन् ।

बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा हिनामिनामा अनावश्यक आफ्नाे नाम मुछिएकाे बारे दुःख व्यक्त गर्दै यस्ताे बताएका हुन् । उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग बालुवाटार जग्गा प्रकरणमा आफ्नो नाम अनावश्यक रूपमा मुछिएको बताए । बालुवाटनर जग्गा प्रकरणमा आफ्नो संलग्नता नरहेको जिकिर गर्दै उनले छानबिन गर्ने निकायलाई सघाउने बताएका हुन् ।

‘बालुवाटारको जग्गा भूमिसुधार तथा व्यवस्थापन मन्त्रालयसँग जोडिएको विषय हो, म त्यतिबेला भौतिक आवासमन्त्री थिएँ’, उनले भने, ‘मैले मन्त्रिपरिषदमा प्रस्ताव पेस मात्र गरेको हुँ । यो जग्गाको विषय मेरो मन्त्रालयसँग जोडिँदैन ।’

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बयानका लागि अहिलेसम्म कुनै सम्पर्क नराखेको उल्लेख गर्दै आवश्यक परे सघाउन तत्पर रहेको उनले बताए । ‘कुनै पनि सरोकारवाला निकायले छानबिनका लागि मलाई बोलाए म सहयोग गर्छु’, उनले भने, ‘तर अहिलेसम्म कसैले पनि मलाई यसबारे बुझ्नसमेत सम्पर्क गरेको छैन । म छानबिनबाट भाग्दिनँ ।’

विभिन्न सञ्चारमाध्यमले बालुवाटार जग्गा प्रकरणमा आफ्नो नाम मुछेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । गच्छदार आँखाको उपचारका लागि भारतको राजधानी नयाँ दिल्ली गएका थिए ।

सम्बन्धित खवर

Back to top button