स्मृतिमा विपी काेइराला
कांग्रेसभित्र कसरी खेल्थ्यो दरबार ?
म प्रधानमन्त्री भएको बखतमा नेपाली कांग्रेसको एउटा ठूलो अधिवेशन भयो–सातौं महाधिवेशन। त्यसमा विश्वबन्धुले सरकारलाई पूरा च्यालेन्ज दिएजस्तो लाग्यो। अलिकति अनुशासनहीनता पार्टीमा पनि भएको थियो। पार्टीको अध्यक्ष र सरकारको प्रधानमन्त्री एउटै व्यक्ति हुनुहुँदैन भन्ने कुरा चल्यो। त्यसभन्दा अरु कुरामा पनि, औद्योगिक नीतिमा पनि उसले आक्रमण गर्यो।
औद्योगिक नीतिको सम्बन्धमा उद्योगहरू पहाडतिर पनि हुनुहुँदैन, मधेसतिर पनि हुनुहुँदैन, उसको सम्पूर्ण भनाई भने उसको जमिन भएको ठाउँ भित्रीमधेसमा हुनुपर्छ भनेर उनले बोल्यो। पूरा विघटनकारी भूमिका उसको रह्यो। र, एकपटक त बडो संकटमा पनि उसले सृजना गर्यो। आधिकारिक लाइन नै परास्त हुन्छजस्तो लाग्यो। त्यसमा अनि मैले बोलेको छु।
मैले बोलेपछि विश्वबन्धुलाई के लागेछ भने अब त सबै प्रभावित होलान्। अनि मनेर आएर माफी माग्छ र भन्छ, ‘त्यो कुरा मैले फिर्ता लिएँ उहाँले अनुरोध गरेको हुनाले।’ बडो उदार भएर मलाई बचाउनको निम्ति जस्तो ‘हामीले उहाँको हात बलियो गर्नुपरेको छ’ भनेर प्रस्ताव फिर्ता लिएको छ। एकदम हंगामा खडा गरेको थियो त्यसबखत। फेरि १०/१५ जना मान्छे त भइहाल्छन् हँगामा गर्नलाई।
यद्यपि संसदमा केही छुन सक्तैनथ्यो। र, पार्टीमा त्यो गरेर विफल भयो। सरोजहरू पनि त्यस्तै त्यस्तै कुरा गर्ने, धेरै उग्र किसिमका कुरा गर्ने। त्यसरी त्यो अधिवेशन सम्पन्न भयो। एउटा विशाल प्रदर्शन भयो, मिटिङ भयो। ठूलो आमसभा भयो पार्टीको तत्वावधानमा। जुलुस निस्क्यो।
विदेशका प्रतिनिधिहरू आएका थिए। बर्माबाट, भारतबाट आएका थिए। तिनीहरू बडो चकित भए त्यत्रो ठूलो जुलुस देखेर। त्यसरुपमा त्यो बडो सफल भयो भन्नुपर्यो। तर, यसले बिघ्न गर्ने कोशिश गरेको थियो। अनि अरु विरोधी तत्वहरू छँदै थिए–मैले बिगारेको भन्नेहरू। कम्युनिस्टहरू त जहिलेपनि जुलुस लिएर आउने सिंहदरबार अगाडी कहिले डाल्डा घिउ त कहिले के, कहिले के चलेको थियो।
डाल्डाको बारेमा त कुरा पनि चलेको थियो। कुरा नचलेको होइन। त्यो खुला छलफल थियो, कुनै गुपचुप कुरा थिएन। संसदमा त खुला छलफल चलेको थियो र छलफल के चलेको थियो भने डाल्डा हामीले पैठारी गर्न दिनुपर्छ र हाम्रो कहाँबाट उत्पादित घिउ बाहिर बिक्री गर्नुपर्छ। भारतसँगको व्यापार असुन्तलनलाई केबाट पुरा गर्नेभन्दा त्यो एउटा सुझाव आएको थियो। त्यो कताकता मलाई चित्त बुझ्यो। कताकता डाल्डाको लबी पनि थियो क्यारे, त्यसमा त्यसको पनि प्रभाव हुँदो हो। त्यसमा कम्युनिस्टहरूले ‘हामीलाई मार्न आँटे, डाल्डा खुवाइकन हामीलाई मार्न लागे, राम्रो घिउ खानबाट नेपाली बञ्चित हुनथाले’ इत्यादि–इत्यादि नारा लगाएर विरोध गर्ने। तैपनि त्यसबाट कुनै खतरा थिएन। त्यस्तो विरोध भएपनि परिस्थिति मेरो नियन्त्रणमा थियो। विदेशमा प्रतिष्ठा राम्रो थियो र पार्टीभित्र जतिधेरै बिघ्न ल्याउने कोशिश भएपनि त्यसबाट हलचल हुँदैनथ्यो। किनभने कसैले केही भने पनि च्वास्स आएर अर्कोले भनिहाल्थ्यो यसले यसो भन्यो भनेर।
अर्को कुरा, मेरो संसदलाई पनि हलचल गर्न नसक्ने कुरा के भइदियो भने विरोधी पक्षको नेता भरत शमशेरले आएर मलाई के प्रतिक्षा गर्यो भने यस संसदलाई तपाईंलाई बिथोल्ने कोशिश भयो भने ‘मेरो पार्टीका १८ जना सदस्यले तपाईंलाई समर्थन गर्नेछन्’ भनेका थिए। यस प्रकारले १८ र ४ गरेर २२ जनाको थप बल मलाई प्राप्त थियो। हाम्रो जति संख्यामा बहुमत हुने हो, त्यसमा म सँग पार्टीको २५ जना बढी थिए। कोही गए पनि त्यति फरक पर्ने सम्भावना थिएन।
मलाई के लाग्दछ भने यी सब विघ्नबाधाहरू खडा गर्नमा दरबारको हात छ। स्वर्गीय राजा महेन्द्रको नभए पनि दरबारभित्रका तत्वहरूको हात छ तुलसी उठाउन भड्काउनमा। राजा के गर्थे भने कुनै प्रतिनिधिमण्डल आयो, भूमिपतिहरू वा कसैको भने भेट गरिदिन्थे, कुरा सन्थे। अनि उनीहरू प्रोत्साहित भएर मकहाँ आउँथे।
एकपटक मलाई याद छ, एउटा प्रतिनिधिमण्डल राजाकहाँ गयो अनि मकहाँ आयो। प्रधानमन्त्री निवासमा मैले बोलाएँ। अगाडिपट्टि एउटा बरण्डा थियो–ठूलो। त्यहीँ मैले मिटिङ राखेको थिएँ। ५० जनाजति तिनीहरू आएका थिए। अनि मैले भने, ‘तपाईंहरू गलत ठाउँमा जानुभएछ, महाराजधिराजकहाँ। यी कानुनहरू बनाउने त संसद हो। आउनुपर्थ्यो यहाँ।’
त्यसैगरी मैले भने, ‘मकहाँ आउनुपर्छ, मलाईं चित्त बुझाउनु पर्थ्यो। कानुन त हामीले बनाउनु पर्ने हो। र, म तपाईंहरूलाई सचेत पनि गर्छु। मैले त केबल तपाईंहरूको जमिनलाई मात्रै खोस्न थालेको छु। तपाईंहरूको टाउको काट्न थालेको छैन। अरु कुनै उग्रवादी आयो भने तपाईंहरूको टाउको काट्छ। यो दुनियाको तपाईंहरूले देख्नुभयो होला, जति पनि क्रान्ति भएका छन्, सुधारहरू भएका छन्, जमिन मात्र खोसिएको छैन, उनीहरूको टाउको पनि गएको छ। र, त्यसो हुनाले, तपाईंहरूको जमिन पनि त्यति कडा तरिकाले खोजेको छैन।’
मैले के कानुन बनाएको थिएँ भने २५ बिगाहा भन्दा बेसी कसैले राख्न नपाउने र, त्यसभन्दा माथिको लागि उत्तरोत्तर कर लाग्ने व्यवस्था गरिदिएको थियो। हदभन्दा बढी राखेपछि त्यो अनुत्पादक हुन्थ्यो। स्वामित्वहरणकारी करले कसैले पनि एक हदभन्दा बेसी जग्गा राख्न सक्तैनथ्यो। मैले उनीहरूलाई भनें,‘यो तपाईंहरूको बचाउ होस भनेर तपाईंहरूको वर्गको विचार मैले राखेको हुँ। यसलाई तपाईंहरू मान्नुहुन्न भने र उग्रतत्व आयो र त्यसले खोस्नथाल्यो भने धेरै नै ट्याक्स तिर्नुपर्ने छ।’
उनीहरूसँग जवाफ केही थिएन। मैले बोलाएको थिएँ ‘आउनुस् मसँग कुरा गर्न’ भनेर। मलाई के लाग्यो भने उनीहरूले चित्त बुझाएर गए। तर राजाले उचालेका थिए तिनीहरूलाई। त्यसबखतका पत्रकार पनि थिए त्यहाँ। तिनीहरूले त्यो समाचार छापेको होलाजस्तो लाग्छ। त्यो कुरा बडो महत्वपूर्ण थियो, किनभने मलाईं दुख दिनेहरूमध्ये त्यो एउटा ग्रुप थियो, त्यो पनि सन्तुष्ट भयो। त्यसो हुनाले, मलाई लाग्दैनथ्यो राजाले कसैसँग मिलेर केही गर्न सक्लान भनेर।
(‘विश्वेश्वरप्रसाद कोइरालाको आत्मवृत्तान्त’ बाट लिइएको अंश। गणेशराज शर्माले टेपमा संकलन गरी बीपीले बोलेका कुरा उतारेर २०५५ सालमा आत्मवृतान्तको पहिलो संस्करण प्रकाशन भएको थियो। बीपी स्मृति दिवसका अवसरमा सान्दर्भिक हुने ठानेर हामीले यो अंश साभार गरेका हौँ।) अन्नपूर्णपाेष्ट दैनिकबाट ।
समाजवादी चिन्तक कोइरालाको राष्ट्रवादी छवी
प्राचिन इतिहासदेखि हालसम्म नियाल्दा नेपालको राज्यसत्ता अधिकांश समय अनुदार शासकले कब्जामा गरेको पाइन्छ । त्यसबेलाका शासकहरूको स्वार्थीपन र अदूरदर्शीताका कारण प्राकृतिक श्रोतसाधन, कला संस्कृतिले बैभवशाली मुलुकअविकास, गरिवी, अशिक्षा, पछौटेपन, कुरित, कुसंस्कारले थलिन पुग्यो । सधै स्वतन्त्र र सार्वभौभ रहेको मुलकको पहिचान अन्तराष्ट्रिय स्तरमा समेत शासकको संकुचित सोचका कारण गुमनाम बन्यो ।
परिवर्तनको चाहान भए पनि निरंकुश र तानशाहा शासकका विरुद्ध आवाज उठाउने साहस जुटाउन निकै मुस्किल थियो राणा कालमा । हुन त त्यसबेला नेपाली समाजमा चेतनास्तरको समेत विकास भएको थिएन । त्यस समयमा पनि राणा शासनको विरुद्धछिटफूट विरोध र विद्रोह नभएका भने होइनन् । तर, संगठित जनवलको अभावमा ति सबै आन्दोलनहरू निरंकुश शासकासामु निरिह सावित हुन पुगे । आन्दोलन तुहाउन र विरोधीहरूमा सन्त्रास फैलाउने रणनीति अन्र्तगत चरम अमानवीय दण्ड दिन थालियो । तत्कालीन शत्ताको दुरुपयोग गर्दै शान्तिपूर्ण आन्दोलनमा होमिएका केही व्यक्तिलाई प्राणदण्ड समेत दिइयो ।
व्यवस्था परिवर्तनका लागि शसक्त संगठित शक्तिको आवस्यकता महशुस भइरहेको बखत विक्रम सम्वत् २००३ साल माघमा नेपाली राष्ट्रिय कांग्रेसको जन्म भयो । नेपाली राष्ट्रिय कांग्रेस र सुवर्ण शमशेरले नेतृत्व गरेको नेपाल प्रजातन्त्र कांग्रेसको एकिकरण वि.सं २००६ सालमा भएसंगै ‘नेपाली कांग्रेस’ नामकरण गरियो । जसका कारण सशस्त्र संघर्षका लागि थप शक्ति सञ्चय गर्ने अवसर मिल्यो । २००७ साल अश्विन १० गते वैरगनीया सम्मेलनबाट नेपाली कांग्रेसले राणा शासन विरुद्ध शसक्त आन्दोलन गर्ने निर्णय गर्यो । राणा शासनको विपक्षमा र लोकतन्त्रको पक्षमाविश्वेश्वरप्रसाद कोइरालाको नेतृत्वमा मुलुकभर शसस्त्र क्रान्ति चर्कियो । वीपी स्वयं आफू पनि शसस्त्र क्रान्तिमा सहभागी हुनु भयो । अन्तत ः २००७ साल फागुन ७ गते नेपाली कांग्रेसको नेतृत्वमा प्रजातन्त्र स्थापना भयो ।
सुरुमा कम्युनिष्ट विचारधाराबाट प्रभावित कोइराला भारत स्वतन्त्र आन्दोलनमा पक्रउ परि केही समय जेल समेत बस्नु भयो । नेपाली राष्ट्रिय कांग्रेसको स्थापन पस्चात राणा विरोधी गतिविधिमा सक्रिय वीपीलाई तत्कालिन शासककले बन्दी बनाएपछि जेलभित्रै अनसन बस्नु भयो । उहाँको स्वाथ्य अवस्था कमजोर भएपछि रिहा गरियो ।
अन्धकार युगको अन्त्य गरी प्रजातान्त्रिक व्यवस्थाको दीयो सल्काउने श्रेय महामानव वीपी कोरालालाई नै जान्छ । कोइरालले करिव ७० वर्ष अघि उठाएका ऐजेण्डा अहिले कार्यान्वयनका चरणमा छन् । उ बेलै कोइरालले संविधानसभा मार्फत संविधान बनाउने एजेण्डा अघि सार्नु भयो । वीपीको लाकप्रिय नेतृत्वसंग अत्तालिएका तत्कालिन शासकहरूले संविधानसभाको निर्वाचन टा¥दै गए ।
प्रजातन्त्र स्थापना भएको ७ वर्षपछि मात्र आम निर्वाचन घोषणा गरे । आम निर्वाचनमा दुई तिहाई जनमत कांग्रेसले पायो । वीपी कोइराला पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्नु भयो । कोइरालाको नेतृत्वमा २०१६ सालमा सरकार गठन भएपछि नेपालमा विकासको लहर आयो । भौतिक विकासका साथै क्रान्तिकारी भूमिसुधार, जमिन्दारी उन्मुलनजस्ता लोकप्रिय कार्यको सुरुवात भए ।
वीपीको लोकप्रियता राजालाई पाच्य हुन सकेन । दक्षिण एशिया कै शक्तिशाली नेताहरूको पंतिमा आफूलाई उभ्याउन सफल भएका कोइरालालाई असफल बनाउने गोटी छिमेकी राष्ट्रबाट समेत चालियो ।अन्ततः जनप्रिय नेता र जनप्रिय दललाई सत्ता बाहिर राख्ने डिजाइन सफल बनाइ छाडे । राजा महेन्द्रको डिजाइमा विसं २०१७ साल पुस १ गते प्रधानमन्त्री वीपी कोइराला र मन्त्रीहरूलाई तरुण दलको कार्यक्रमबाट पक्राउ गरी बन्दी बनाइयो । त्यसै दिन शिशु प्रजातन्त्रको हत्या गरियो । र, मुलुकमा पञ्चायती शासन व्यवस्थाको सुत्रपात गरियो ।
वीपी लगायत अन्य नेताहरूलाई २०१७ साल पुस १ गतेदेखि २०२५ सालसम्म ८ वर्ष सुन्दरीजल जेलमा बन्दि बनाइयो । जेलबाट रिहा भएलगत्तै वीपी भारत निर्वासित हनु भयो । भारतबाटै राजनीतिक गतिविधि सञ्चालन गर्नु भयो । त्यस बखत एकातर्फ नेपालमा ठूलो रक्तपात मच्चिएको थियो भने अर्को तर्फ वीपी र इन्धिरा गान्धीको सम्वन्ध विग्रिएको थियो । राष्ट्रको हितलाई मध्यनजर गरेर वि.सं २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर वीपी आफ्ना सहयोगीका साथमा स्वदेश फर्किएर राजनीतिक गतिविधिमा लाग्नु भयो ।
त्यस बखत वीपी माथि मृत्यु दण्डको सजाय हुनसक्ने आधा दर्जन मुद्दा लागाइएको थियो । निर्वाध रुपमा वीपीलाई देश दौडाहामा सहभागी हुन दिइएन । वीपी माथि पटक पटक दरवारीया र कम्युनिष्टहरूको मिलेमतोमा सांघातीक हमलाका प्रयास भए ।
पञ्चायत विरुद्धको आन्दोलन अनियन्त्रि बन्दै गएपछि राजा विरेन्द्रले जनमत संग्रह गर्न तत्परता देखाए । सत्ता पक्षको सड्यन्त्र र जालझेलका कारण विसं २०३६ सालको जनमत संग्रहमा सुखद परिणाम आएन । वीपीले निर्वाचनको परिणमलाई सहज रुपमा स्वीकार्नु भयो । त्यस लगत्तै वि.सं२०३८ सालमा भएको राष्ट्रिय पञ्चायतको निर्वाचन समेत कांग्रेसले वहिस्कार ग¥यो ।
करिव २९ वर्षे पञ्चायति साशन व्यवस्थको अन्त्य वीपीकै सहयात्री सर्वोच्च नेता गणेशमन सिंहको नेतृत्वमा२०४६ सालमा सफल भयो । तत्कालिन समयका पार्टी सभापति एवं प्रधानमन्त्री सन्त नेता कृष्णप्रसाद भट्टराईको नेतृत्वमा २०४७ सालको संविधान जारी भयो । त्यसछि पार्टी सभापति एवं प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालको नेतृत्वमा माओवादीलाई शान्तिप्रक्रियामा ल्याउनेदेखि, संविधानसभाको निर्वाचन गराउने, गणतन्त्रको घोषणा गर्ने र राजतन्त्र फ्याक्नेसम्मका काम भए । पार्टी सभापति एवं प्रधानमन्त्री शुसील कोइरालाको नेतृत्वमा संविधानसभाबाट संविधान जारी भयो । यसै गरी पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा संविधान कार्यान्वयनका लागि स्थानीय तह, प्रदेश र संघको निर्वाचन सम्पन्न भयो । यसरी हेर्दा २००७ सालदेखि हालसम्मको राजनीतिक परिवर्तनको नेतृत्व वीपीकै अनुयायीहरूले गर्दै आएको पाइन्छ ।
आधुनिक नेपालका सुत्रधार महामानव बीपी कोइरालाको जीवनकालभर सच्चा मुल्यांकन हुन सेकन । उहाँ विरुद्धको षड्यन्त्रमा निरंकुश शासक र कम्युनिष्टहरूले धेरै समय खर्चिए । मुलुकलाई अन्धकारतर्फ धकेल्न निरन्तर क्रियाशील रहे । मुलुकमा प्रतिक्रान्ति भित्रियाउनेउनीहरूको सक्रियता इतिहासले समेत समिक्षा गरिसकेको छ ।
आधुनिक राजनीतिका शब्दसागर वीपी कोइरालाको सामान्य ढंगबाट विश्लेषण गरिदा अन्याय हुन सक्छ । तर, समिक्षात्मक ढंगबाट कोइरालालाई सम्झनु न्याय संगत नै होला । कोइरालाई राजनीतिक आलोकबाट मात्रहेरिदा उनीप्रतिको दृष्टिकोण पूर्वाग्राही ठहरिन्छ । नेपाली साहित्यमा उहाँको योगदान निकै ठूलो रहेको छ । कोइरालाले साहित्यलाई सभ्यताको प्रतिक मान्नुभएको छ । तीन घुम्ती, सुम्निमा, नरेन्द्रदाई, मोदिआइन, हिटलर र याहुदी, बुवा आमा र छोराजस्ता कोइरालाका सार्वधिक रुचाइएका साहित्यि कृतिहरू हुन ।
अद्भूत सहास, प्रकाण्ड बौद्धिकता र चामत्कारीक नेतृत्वका धनी राजनेता वीपीको जन्म वि.सं १९७३ भदौ २५ गते पिता कृष्णप्रसाद कोइराला र मात दिव्या कोइरालाको कोखबाट भएको हो । वीपीमा अद्भूत विलक्षण प्रतिभा थियो । हुनत कोइरालाको जन्म नै विलक्षण क्षमता भएको पारिवारमा भएको थियो । वीपी कोइरालका बुवा मात्र नभई आमा, हजुरवुबा समेतमा विलक्षण प्रतिभा थियो भन्ने कुरा वीपी स्वयंमले आत्मावृत्तान्मा उल्लेख गर्नु भएकोछ। त्यसबेला नै वीपीका पिता कृष्णप्रसाद चलायमान हुनुहन्थ्यो । कृष्णप्रसाद सम्भावनाको खोजीमा दुम्जा छोडेर मधेस जानु भयो । देशभरका भन्सार अड्डाको ठेक्का लिएर व्यापारिक गतिविधिमा संलग्न हुनु भयो । विराटनगरमा बजार स्थापना गर्नु भयो । शिक्षा स्वास्थ्यको प्रवन्ध गर्नु भयो । उहाँमा अन्तर्राष्ट्रिय राजनीति बुझ्ने भोक जागेका कारण अंग्रेजी सिक्नुका साथै भारतबाट हिन्दुस्थान पत्रिका मगाएरपढ्न थाल्नु भयो ।
चन्द्रगञ्जमा कृष्णप्रसादले ढाक्रेहरूका फाटेका लुगा देखेपछि ढाक्रेहरूलाई नयाँ लुगा किनिदिनु भयो । र, फाटेको लुगा पार्सला गरेर चन्द्रसमशेरलाई पठाइ दिनु भयो । उहाँले लेखेको पत्रमा सरकारलाई आफ्नो पोशाक र प्रजाको पोसाकमा फरक हेर्न आग्रह गर्नु भएको थियो । त्यसबापत उहाँले ठूलो मुल्य चुकाउनु पर्यो । उहाँको सामाजिक जीवन मात्र नभई पारिवारीक जीवन समेत तहस नहस भयो ।राणासंग दुस्मनी लिएका कारण कृष्णप्रसादले जेलमै मृत्यु वरण गर्नु पर्यो ।
सगरमाथा चीनको हनुपर्छ भन्ने अभिव्यक्ति कम्युनिष्ट नेता तुलसीलालले दिएका कै बखत राष्ट्रवादी नेता वीपी कोइरालाले चीन भ्रमणमा गएको बेला सगरमाथाको शीर नेपालमा हुने सम्झौत्ता गर्नु भयो । सन् १९९० को सन्धीमा नेपालीलाई भारतमा र भारतीयलाई नेपालमा जग्गा किन्न रोक लगाए । गण्डक सम्झौत्तामा नेपाललाई पानी पुगेपछि मात्र भारतलाई दिने सम्झौत्ता गरे । यो सम्झौत्ता कार्यान्वयन हुन नपाउदै बीपीलाई सत्ताच्युत गरियो । राजा महेन्द्रले भारतको हितमा सम्झौत्ता कार्यान्वयन गरे । तर, दरवार, पञ्च र कम्युनिष्टहरू मिलेर गरेको गल्तीको शिकार कांग्रेस र वीपीलाई बनाउन खोजियो ।
वीपीले राष्ट्रवाद, समाजवाद र मानवताको लागिआजीवन संघर्ष गर्नु भयो । कसैको प्रलोभनमा पर्नु भएन । उहाँले कहिल्यै सम्झौत्ता गर्नु भएन । वीपीकोमान्यता नै थियो–कुनै कुरा दुविधा भए राष्ट्रको माटोसंग सोध्नु, त्यसले जे जवाफ दिन्छ त्यही गर्नु । नेपाली कांग्रेस महामनव वीपी कोइरालाको वैचारीक धरतलबाट पृष्ठपोषित हुदै आएको छ । लोकतन्त्रको स्थापना, जनताको सर्वोच्चता, विकास र समानता पक्षमा अझ संघर्षरत छ ।
क्यान्सर जस्तो प्राणघातक रोगबाट ग्रसित कोइरालाको ६६ वर्षको उमेरमा देहवशान भयो । कोइरालाले आफ्नो जीवनकालमा मुलुका र मुलुकबासीका निम्ति ठूलो योगदान गर्नु भयो । प्रतिकुल राजनीतिक व्यवस्थका कारण कोइराला आफ्नो जीवनकालमा करिव १६ वर्षमात्र नेपाल बस्न पाउँनु भयो । उहाँले १७ वर्ष त जेलमै विताउनु पर्यो । प्रजातन्त्र र आधुनिक नेपालको रथ हाकेका वीपीको कोइरालाको इहलिला वि.सं २०३९ साल साउन ६ गते समाप्त भयो ।
अन्त्यमाःसमाजवादका परिकल्पनाकार महामानव वीपी कोइरालाप्रति ३७ औं स्मृति दिवसको अवसरमा हार्दिक श्रद्धासुमन ! संकल्प खबरबाट ।
बिपी कोइराला : राजनीति र साहित्यमा गर्व गरिने महानायक
२०७६ नेपाली कांग्रेसका संस्थापक नेता तथा पूर्व प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालालाई वर्षमा ३ पटक सम्झना गरिन्छ। भदौ २४ गते जन्म जयन्तीको रुपमा, राष्ट्रिय मेलमिलाप तथा राष्ट्रिय एकताको नीति लिएर पुस १६ गते स्वनिर्वासनबाट नेपाल फर्केको दिन राष्ट्रिय मेलमिलाप दिवसको रुपमा र साउन ६ गते उहाँको निधन भएको दिन अर्थात् स्मृति दिवसका रुपमा।
साउन ६ गतेलाई स्मृति दिवसको रुपमा पहिले बृक्षरोपणको रुपमा मनाइन्थ्यो र अहिले नेपाली कांग्रेसले बिपी स्मृति दिवसको रुपमा विभिन्न कार्यक्रम गरी मनाउँदैछ भने विभिन्न साहित्यिक संस्थाहरूले बिपीको साहित्यसम्बन्धी विषयमा चर्चा परिचर्चा गरेको पाइन्छ। विक्रम सम्वत २०३९ साल श्रावण ६ गते नेपाली राजनीतिका एक अथक प्रजातान्त्रिक योद्धा तथा नेपाली जनताका पहिलो निर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला (बिपी) ६८ वर्षको उमेरमा यस संसारबाट विदा हुनुभएको थियो। आज बिपीलाई फाँसी दिनुपर्छ भनेर उदाएको राष्ट्रवादी विद्यार्थी मण्डलका नाइके कमल थापा आफूलाई बिपीवादी भएको घोषणा गर्न थालेका छन् र बिपीको सिद्धान्त कमल थापाले अपहरण गरेकोमा डाक्टर बाबुराम भट्टराईलाई पिर परेको छ। कांग्रेसले बिपीलाई बिर्सेको भनेर गैर बिपीवादीहरू छटपटिएका छन्।
राजनीतिमा सामाजिक प्रजातन्त्रवादी र साहित्यमा प्रयोगवादी मनोविश्लेषक बिपी मूलतः समाजको एक प्रगतिशील तथा गतिशील अभियन्ता हुनुहुन्थ्यो। उहाँको विचारमा उहाँलाई एउटा असल नेपाली भनी सम्झिए पुग्ने छ। उहाँलाई ठूलो हुने रहर कहिल्यै भएन र मोदिआइन लघु उपन्यासमार्फत समाजलाई एउटा अमृत वाणी छोडेर जानुभयो- ठूलो मानिस होइन, असल मानिस बन्नु पर्दछ। बिपी राजनीतिमा प्रजातान्त्रिक समाजवादी र साहित्यमा उदारवादी अभियन्ताको रुपमा देखिनुभयो। समाजवादको नेपाली प्रयोगकर्ता जसले प्रजातन्त्रविनाको समाजवादको कल्पनासम्म पनि गर्नुभएन। त्यो समाजवादलाई नेपाली कांग्रेसले आफ्नो विधानमा विक्रम सम्वत् २०१२ सालमा समावेश गरेको थियो भने नेपालको संविधानमा अहिले त्यो राखिएको छ समाजवाद उन्मुख राज्यका रुपमा।
जब नेपालको नयाँ संविधान तयार भयो र कार्यान्वयनमा आउन थाल्यो, सबैभन्दा चर्चित प्रसङ्गहरू हुन्-समाजवाद उन्मुख शासन प्रणाली र संघीयता। गणतन्त्र भनेको संघीयता होइन र संघीयता गणतन्त्रमा मात्र हुँदैन। संघीयताले स्वायत्त शासनका लागि केही सीमाभित्र रही तहगत राज्य प्रणालीलाई स्वीकार गरिएको हुन्छ भने समाजवाद उन्मुख राज्य प्रणालीमा राज्यको शासन प्रणालीमा समाज नै केन्द्रविन्दुमा हुन्छ। बीसौँ शताब्दीमा विश्वले हिटलरको समाजवाद पनि देख्यो र स्टालिनको समाजवाद पनि एउटै समयमा देख्यो। सोभियत संघ, चीन, क्युबा, उत्तर कोरिया, भियतनाम, पोल्यान्ड, पूर्वी जर्मनी, चेकोस्लोभाकिया आदि देशहरूको समाजवाद र पश्चिम जर्मनीसहितका स्क्यान्डेनिभियन देशहरूको समाजवाद सँगै उत्पत्ति भए र अपूर्वरुपमा विकसित भए। सत्तामा जुनसुकै दल भए पनि समाजवादी कार्यक्रमबाट कोही पनि टाढा जान सक्दैनन्।
आज चीनसहितका देशमा समाजवादको अर्थ र युरोपका अन्य देशहरूको समाजवादको अर्थ पक्कै पनि फरक छ। तर नेपालमा समाजवादको अर्थलाई जसले जे मन लाग्यो, त्यही तरिकाले व्याख्या गरेको पाइन्छ। समाजवादलाई बिपीले प्रजातन्त्रसँग यसरी जोडेर व्याख्या गर्नुभएको थियो कि समाजवादबाट प्रजातन्त्र झिक्यो भने त्यो साम्यवाद हुन्छ र साम्यवादमा प्रजातन्त्रका गुणहरू समावेश गरेको बेलामा त्यो समाजवाद हुन्छ। त्यसैले राजा महेन्द्रलाई उहाँले आफ्नो कल्पनाको नेपालको खाका कोर्दै भन्नु भएको थियो रे-यदि तपाइँले विकसित नेपालको नक्शा बिगार्न खोज्नु भयो भने म त विराटनगरमा गएर खेती गरुँला तर तपाइँ कहाँ जाने नि? त्यसो भन्नु भनेका राजतन्त्रको अन्त्यलाई इंगित गरिएको थियो। बिपीले जीवनमा प्रजातन्त्रको सेरोफेरोमा मात्र समाजवादको परिकल्पना र अभ्यासको थालनी गर्नु भएको थियो आफ्नो १८ महिने शासन कालमा।विश्वेश्वरप्रसाद कोइरालाको नाम नै नेपाली राजनीतिमा यस्तो नाम हो जसको जीवनवृत्तले एउटा पूर्ण अर्थ दिन्छ प्रजातन्त्रको।
जीवनका आरोह अवरोहको ज्वलन्त उदाहरण। पक्षमा लाग्नेहरू उनको सिद्धान्तका लागि ज्यान दिन तयार, विपक्षमा लाग्नेहरू ज्यान लिन सधैँ तयार। तरबारको धारमा जीवन जहिले पनि। तर बिपी भन्ने के भने खतरापूर्ण जीवन पो जीवन, जहिले पनि दुःख र पीडाले मात्र जीवन बाँच्न प्रेरणा दिन्छ। नभन्दै उहाँको जीवन सधैँ खतरापूर्ण र साहसको उदाहरणीय आदर्श मात्र बन्यो। जस्को आदर्श प्रजातन्त्र, त्यो पनि समाजमुखी प्रजातन्त्र जसलाई प्रजातान्त्रिक समाजवाद पनि भनिन थाल्यो। विधिको शासनमा मात्र जनताको कल्याणकारी राज्यको कल्पना गर्ने र आफ्ना कल्पनालाई साकार पार्नका लागि जनताको साझा चाहनामात्र आदर्शको रुपमा ग्रहण गर्ने एउटा नायकको रुपमा सधैँ बाँच्नु भयो। नेपालको प्रसंगमा त प्रजातन्त्र स्थापना, पुन:स्थापना र प्रजातान्त्रिक परिपाटीको स्थापना, संवर्द्धन, प्रवर्द्धन र संसदीय व्यवस्थालाई संस्कारजन्य बनाउने राजनीतिक संघर्षको मुहानको रुपमा नै लिइन्छ उहाँलाई। उहाँले यो धराबाट भौतिक रुपमा विदा लिनु भएको पनि ३७ वर्ष भएछ।
२०३९ साल साउन ६ गते उहाँको भौतिक शरीर हामीबाट चुँडिएको थियो। नेपालीले र विश्वका प्रजातान्त्रिक समाजवादीले उहाँलाई एउटा महान प्रजातन्त्रवादी र एउटा संस्कारयुक्त असल मानिसको रुपमा सम्झने गर्छन् अहिले पनि। प्रजातन्त्र र स्वतन्त्रताको सेनानीको रुपमा र समाजवादको प्रजातान्त्रिकीकरणमार्फत् प्रयोगकर्ताको रुपमा। राजनीति र साहित्यसँगै देखिएका बिपीका दुई अलग व्यक्तित्वले नेपाली राजनीति र साहित्य दुवैमा अलग-अलग तरिकाले आफ्ना स्थान ओगटेको सुन्न र देख्न पाइन्छ। एउटा प्रसङ्ग तत्कालीन नेपाल रोयल एकेडेमीको नेपाली साहित्य प्रदर्शनीको। कुलपति राजा महेन्द्र एकेडेमीमा आएर प्रदर्शनीको अवलोकन गरेर सोधेछन्-खोइ त महान साहित्यकारको फोटो? कसैले पनि अनुमान लगाउन सकेनन् कि उनै राजाले प्रजातन्त्रको पक्षपाती भएकाले सुन्दरीजल जेलमा कोचेर राखेको बिपीका वारेमा सोधेका होलान् भनेर।
सबै हात जोडेर अलमलमा पर्दै आदेशको तामेली गर्न चाहे तर कुरो बुझेका थिएनन्। यसो हेरे झुन्ड्याएका फोटोहरूमा, लेखनाथजीको पनि छ, देवकोटाको पनि छ, समको पनि छ, अरु साहित्यकारकोे पनि फोटा झुन्डिएका छन्। प्रतीक्षा गरे राजाको आदेशको, आज्ञाको। अनि गुत्थी फुकाउँदै राजाले भनेछन्-खोइ, महान साहित्यकार बिपीको फोटो, देख्दिन त? बिपीलाई राजाका शत्रुको रुपमा र अराष्ट्रिय तत्वका रुपमा चित्रण गर्दै आएका निर्देशित प्राज्ञहरूलाई त्यो भनाइ अप्रत्याशित लाग्यो र मुखामुख गरेछन्। अनि राजाले आफ्नो अंगरक्षकलाई तत्काल भनेछन्- मेरो पलङमाथि झुन्ड्याएको बिपीको फोटो लिएर आऊ र यहाँ झुन्ड्याऊ। सायद त्यही फोटो अहिले पनि एकेडेमीमा छ क्यारे। यसले राजा महेन्द्र र बिपीका बीचको प्रेम र घृणाको सम्बन्धलाई केही हदमा भने पनि देखाउँछ। राजाले के देखाउन चाहेका होलान् भने राजनीतिज्ञ बिपीमात्र मेरो प्रतिस्पर्धी हुन्, साहित्यकार बिपी मेरा सम्मानका पात्र हुन्। त्यसैले बिपी राजनीति र साहित्य दुवैमा नेपालले गर्व गरिने महानायक हुन्।
सिद्धान्त,आदर्श र निष्ठाका लागि जीवनभर अडिग रहने नायक नै जननायकको रुपमा नेपालीको हृदयमा बसेका हुन् भन्न कति पनि हिच्किचाउनु पर्दैन। उनै बिपी आजका युवाका लागि पनि प्रजातन्त्रका पक्षमा बोलिने र अभ्यास गरिने सिद्धान्तका प्रेरणास्रोत मानिनु हुन्छ। प्रजातन्त्रका पक्षमा आजसम्म त्यसप्रकारको नायक फेरि नेपाल आमाले पाउन सक्नुभएको छैन भन्दा पनि हुन्छ। एउटा प्रसङ्ग तत्कालीन नेपाल रोयल एकेडेमीको नेपाली साहित्य प्रदर्शनीको। कुलपति राजा महेन्द्र एकेडेमीमा आएर प्रदर्शनीको अवलोकन गरेर सोधेछन्-खोइ त महान साहित्यकारको फोटो? कसैले पनि अनुमान लगाउन सकेनन् कि उनै राजाले प्रजातन्त्रको पक्षपाती भएकाले सुन्दरीजल जेलमा कोचेर राखेको बिपीकाबारेमा सोधेका होलान् भनेर।
उहाँलाई विभिन्न कालखण्डमा नेपालले देखेको छ। २००७ सालमा क्रान्तिनायकको रुपमा देख्यो, २०१६सालमा प्रचण्ड बहुमतको संसदीय नेताको रुपमा प्रधानमन्त्री भएर समावेशी मन्त्रिपरिषद बनाउने नेपाली कांग्रेसको संसदीय नेताको रुपमा देख्यो। २०१७ पुस १ गते एउटा महत्वाकांक्षी राजाले सैनिक बुटले प्रचण्ड बहुमतको राष्ट्रिय नेतालाई कुल्चदै विनाकारण जेलमा कोच्दै प्रजातन्त्रका हत्या गरेको देखिएको थियो। र त्यो नायकले कहिल्यै पनि प्रजातन्त्रका विरुद्धमा कसैसँग सम्झौता नगरेको देख्यो। त्यसपछि प्रजातन्त्रका लागि सशस्त्र संघर्षदेखि स्वेच्छाले भारत निर्वासन त्यागी राष्ट्रिय मेलमिलापको समन्वयकारी भूमिका देख्यो नेपालले २०३३ साल पुस १६ गतेदेखि। उहाँको त्यो नीतिले राष्ट्रियस्वरुप लिन नपाउँदै २०३९ साल साउन ६ गते उहाँको महानिर्वाणको बाटो लिनु भयो। बिपीको जीवनको उत्तरार्द्धमा मुलुक आफैँ खुकुलोपनतिर डोरियो जसका कारणले नेपाली जनताले निर्दलीय पन्चायती व्यवस्था कि बहुदलीय व्यवस्था भनेर जनमत संग्रहमा जान पाए। बिपीको मेलमिलापको नीति कसैको विरुद्धमा थिएन। अरु त अरु उहाँलाई फाँसीको सजाय दिनका लागि नौटंकी गर्ने राजाका विरुद्धमा पनि थिएन। त्यो नबुझ्ने राजतन्त्र एकदिन आफैँले खनेको खाल्डोमा पुरियो जसलाई बिपीले अडिट फर्मुलाको रुपमा व्याख्या गर्नुभएको थियो।
एकदिन राजाले पुल्पुल्याएको वामपन्थी शक्तिले, पञ्चायत जोगाउन प्रयोग गरिएको शक्तिले नै राजतन्त्र खानेछ भन्ने भविष्यवाणी जुन बिपीले दिनु भएको थियो अडिट फर्मुला नाममा, आखिर प्रजातन्त्रको विकल्प खोज्ने राजतन्त्र त्यही माकुराको जालोमा अल्झियो, बल्झियो र नेपाली राजनीतिबाट सदाका लागि अस्तायो भनौँ, समाप्त भयो। आज बिपीलाई फाँसी दिनुपर्छ भनेर उदाएको राष्ट्रवादी विद्यार्थी मण्डलका नाइके कमल थापा आफूलाई बिपीवादी भएको घोषणा गर्न थालेका छन् र बिपीको सिद्धान्त कमल थापाले अपहरण गरेकोमा डाक्टर बाबुराम भट्टराईलाई पिर परेको छ। कांग्रेसले बिपीलाई बिर्सेको भनेर गैर बिपीवादीहरू छटपटिएका छन्। नेपाल अहिले पनि पार्टी पार्टीबीच राष्ट्रिय मेलमिलापको प्रतीक्षामा छ। आफ्नै पार्टीका कार्यकर्ता र नेताका बीचमा पनि मेलमिलापको आवश्यकता छ। बिपीले देखाउनु भएको समन्वयकारी तर सिद्धान्तनिष्ठ बाटोमा नेपाल हिँड्न छाडेकोले पनि नेपालले आफ्नो गन्तव्यमा पुग्न पनि लामो बाटो हिँड्नु पर्ने भएको छ। बिपीको यो शान्तिपूर्ण आन्दोलनले नेपालको राजनीतिमा गुणात्मक परिवर्तन ल्यायो। त्यसको पछिल्लो क्रमागत उपलब्धि भनेको संविधानसभाबाट प्राप्त संविधान नै हो र आगामी उपलब्धि भनेको नयाँ संविधानअनुसारको नयाँ नेपाल नै हुनेछ जहाँ लोकतन्त्र, गणतन्त्र, संघीय स्वरुप र समावेशी चरित्रको शासकीय स्वरुप हुनेछ जसले राज्यको अन्ततः शासकीय उपाय लोकतान्त्रिक समाजवादतर्फ नै उन्मुख हुनेछ।
बिपी एउटा प्रजातन्त्रप्रतिको अविचल आदर्श र समाजको रुपान्तरण तर्फको निरन्तर सजगताको प्रतीक हुनुहुन्थ्यो। उहाँको जीवन खुला पुस्तक झैँ थियो। सम्पूर्ण नेपालीलाई एउटा कर्तव्यशील नागरिक बनाउने र विकसित नेपालको खाका उहाँको मन र मस्तिष्कमा अमिटरुपमा थियो भन्ने कुरा उहाँका भनाइ र गराइले पुष्टि गर्थे। त्यसैले राजा महेन्द्रलाई उहाँले आफ्नो कल्पनाको नेपालको खाका कोर्दै भन्नु भएको थियो रे-यदि तपाइँले विकसित नेपालको नक्शा बिगार्न खोज्नु भयो भने म त विराटनगरमा गएर खेती गरुँला तर तपाइँ कहाँ जाने नि? त्यसो भन्नु भनेका राजतन्त्रको अन्त्यलाई इंगित गरिएको थियो। सायद त्यही फोटो अहिले पनि एकेडेमीमा छ क्यारे। यसले राजा महेन्द्र र बिपीका बीचको प्रेम र घृणाको सम्बन्धलाई केही हदमा भने पनि देखाउँछ। राजाले के देखाउन चाहेका होलान् भने राजनीतिज्ञ बिपीमात्र मेरो प्रतिस्पर्धी हुन्, साहित्यकार बिपी मेरा सम्मानका पात्र हुन्। त्यसैले बिपी राजनीति र साहित्य दुवैमा नेपालले गर्व गरिने महानायक हुन्।
न नेपालको विकास हुन सक्यो निर्दलीय पञ्चायत कालमा, न त त्यसपछि राजतन्त्र नै जोगिन सक्यो नेपालमा। बिपीको भौतिक शरीर हामीमाँझ नरहेको पनि ३७ वर्ष भयो। तर बिपी अहिले पनि नेपालीहरुको मन मस्तिष्कमा झन्झावत दिने गरी प्रजातन्त्रका पक्षमा एक्लो नायकका रुपमा हुुनुहुन्छ। आज उहाँका आदर्शलाई मानेर कम्युनिस्टहरू पनि प्रजातन्त्रवादी बनेका छन्। सायद यो नै उहाँको नीतिको ठूलो विजय हो। आज संसारमा नै प्रजातन्त्रको विकल्प देखिएको छैन र यदि प्रजातन्त्रको विकल्प छ भने प्रजातन्त्रमात्रै हो भन्ने बाहेक अर्को कुनै नीति तयार हुन सकेको छैन। बिपीका मौलिक नीति र शासकीय क्रियाकलापका वारेमा निष्पक्ष अनुसन्धान भएको छैन। बिपी आफैँ पनि भन्नुहुन्थ्यो-म लेफ्टह्यान्डेड क्रिटिकको फन्दामा छु ( अर्थात् कसैले मेरो प्रशंसा मात्रै गर्छन् त कसैले मेरो विरोधमात्र गर्छन् )। स्मृति दिवसमा यही कामना गरौँ-उहाँको निष्पक्ष मूल्यांकन हुनुपर्छ र समसामयिक विश्वमा उहाँको योगदानको अनुसन्धान हुनुपर्छ। सैतिसौँ स्मृति दिवसमा उहाँप्रति शब्द श्रद्धान्जलि, शब्द सुमनद्वारा कृतज्ञता ज्ञापन। थाहाखबरबाट ।