राहत काेटा शिक्षा कार्यालयबाटै गायब


भक्तपुर : कही नभएकाे जात्रा हाँडी गाउँ भने झै सवथाेक नेपालमै हुन्छ । यतिबेला शिक्षा कार्यालयबाटै शिक्षककाे राहत काेटा गायब भएकाे छ । हाल शिक्षा विकास तथा समन्वय इकाई बनेको भक्तपुरको तत्कालीन जिल्ला शिक्षा कार्यालयबाट सात राहत शिक्षकको कोटा गायब भएको तथ्य बाहिर आएको हाे।
भक्तपुरस्थित समुदायमा आधारित पुनःस्थापना केन्द्र (सीबीआर) लाई उपलब्ध गराएको प्राथमिक तहको सात राहत शिक्षकको कोटा शिक्षा कार्यालयबाटै गायब भएको हो।



देश संघीयतामा गएर माध्यमिक तहसम्मका शिक्षकहरुको जिम्मेवारी एवं दायित्व नगरपालिकामा सरेपछि सीबीआरको सात जना राहत शिक्षकको कोटा गायब भएको छ।
सीबीआरका संस्थापक अध्यक्ष सूर्यभक्त प्रजापतिले माध्यमिक तहसम्मका शिक्षकको जिम्मेवारी र दायित्व नगरपालिकामा गएसँगै आफूहरु भक्तपुर नपामा बुझ्न जाँदा सीबीआरमा कार्यरत शिक्षकको दरबन्दी गायब भएको थाहा भएको बताए।
‘शिक्षकको तलब र भत्तालगायतका सुविधा प्राप्त नभएपछि तत्कालीन जिल्ला शिक्षा कार्यालयमा बुझ्न जाँदा भक्तपुर नगरपालिकामा सबै पठाएको जवाफ दिइयो’, उनले भने, ‘भक्तपुर नगरपालिकामा बुझ्न जाँदा सीबीआर र यहाँ कार्यरत सातजना शिक्षक कुनै विवरण नै फेला परेन।’
उनका अनुसार पुनः बुझ्न जाँदा जिल्ला शिक्षा कार्यालयले भक्तपुर नगरपालिकामा विवरण नगएको तर विभागबाटै सीबीआरका राहत शिक्षकको दरबन्दी खुलेर नआएको जवाफ दिएको थियो।
फेरि शिक्षा विभाग जाँदा भक्तपुरमा रहेको ५९ राहत शिक्षक कोटाभित्रै सीबीआरका सात जनाको पनि विवरण रहेको प्रत्युत्तर दिएको सीबीआरका संयोजक रमेशराम श्रेष्ठले सुनाए।
‘तर विभागले भनेअनुसार ५९ राहत शिक्षकको दरबन्दीमा शिक्षा कार्यालयको रेकर्डमा सीबीआरका सातजना कतै फेला परेन’, उनले भने, ‘जिल्ला शिक्षामा राहत शिक्षकहरुको नियुक्तिसम्बन्धी कुनै फाइलसमेत फेला परेन।’
मन्त्रीकै निर्देशन भएन कार्यान्वयन
सीबीआरको समस्याबारे शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई समेत जानकारी दिइसकिइएको छ। मन्त्री पोखरेलले २०७५ साल भाद्र २६ गते ‘समस्या समाधान गरिदिने’ भनी तत्कालीन शिक्षा विभागका महानिर्देशकलाई लिखित आदेश दिएका थिए।
शिक्षामन्त्रीकै लिखित निर्देशन भएपछि महानिर्देशक आफैं सीबीआर र जिल्ला शिक्षा कार्यालय भक्तपुर पुगेर समस्याबारे जानकारी लिए पनि हालसम्म समस्या सम्बोधन नभएको सीबीआरका संयोजक श्रेष्ठले जानकारी दिए।
सीबीआरले शिक्षा विभागबाट २०६१ साल र २०६३ मा एउटा–एउटा र २०६६ सालमा थप ६ वटा गरी आठ वटा प्राथमिक तहको राहत शिक्षकको कोटा प्राप्त गरेको थियो। उक्त कोटाकै एकजना शिक्षकको मृत्यु भएपछि सातमा झरेको थियो।
सीबीआरले अपांगता भएकाको लागि भक्तपुरका दुई र मध्यपुर थिमी नगरमा एक गरी तीनवटा विशेष स्कुल सञ्चालन गर्दै आएको छ। उक्त स्कुलमा १५ बहिरा तथा ६३ बौद्धिक, अटिजम र बहुअपांगता भएका गरी ७८ जना अध्ययनरत छ।
तर दुई वर्षदेखि शिक्षकको तलब सुविधा उपलब्ध हुन नसक्दा ती स्कुल बन्द गर्नुपर्ने अवस्था आएको सीबीआरले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ। याे सामग्री अन्नपूर्णपाेष्टले तयार पारेकाे हाे ।