बालुवाटारमा एकाएक प्रधानमन्त्री जंगिएपछि कर्मचारीकाे साताे गयाे


काठमाडौं : बालुवाटरमा एकाएक प्रधानमन्त्री केपी शर्मा ओली जंगिएपछि कर्मचारीकाे साताे गएकाे छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई खेल मैदान बनाउने विषयलाई लिएर प्रधानमन्त्री ओली जंगिएपछि कर्मचारीकाे साताे गएकाे हाे । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई खेल मैदान बनाउन नहुने यदि त्यसो गरे उपकुलपति होस् कि पदाधिकारी होस्, कसैलाई पनि नछाड्ने उनले बताएका छन् ।
प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले बालुवाटारमा जंगिँदै भने, ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई खेल मैदान बनाउने होइन । मान्छे नियुक्त गर्ने भर्ती केन्द्र पनि होइन, ब्यापारको थलो पनि होइन । कुन पार्टीका छन् मलाई मतलब छैन ।’ दबावमा काम नगर्ने भन्दै उनले भने, ‘उपकुलपतिको गल्ती छ भने पनि माफी हुन्न । अरुको छ भने पनि हुन्न ।’



प्रधानमन्त्री ओलीले प्रतिष्ठानबारे छानबिन गर्न बनेको समितिको रिपोर्ट आफूले पाउनु अगाडि नै सार्वजनिक भएकोमा समेत असन्तुष्टि जनाएका छन् । ‘कुलपति कहाँ रिपोर्ट पुग्नु अगाडि कुलपतिले सञ्चार माध्यमहरबाट थाहा पाउँछ’ उनले भने, ‘कस्तो रिपोर्ट हो ? छानबिन गर्न जानु भयो कि राजनीति ?’ प्रधानमन्त्री ओलीले प्रतिष्ठानलाई स्वच्छ र पारदर्शी बनाउनेतर्फ केन्द्रित हुन निर्देशन दिएका छन् ।