‘राष्ट्रघाती सन्धीले नेपाल डुबान भयाे’

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका सांसद झपटबहादुर रावलले विगतमा भारतसँगका गरिएका राष्ट्रघाती सन्धीले नेपालमा डुबान भएको बताएका छन्। प्रतिनिधिसभाको बुधबारको बैठकमा जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै रावलले मुलुक शोकमा डुबेको बताए।

उनले बाढी र डुबानले नेपाली जनता दुखित भएको बताए। उनले नेपालको डुबान प्राकृतिक मात्रै नभएर मानव सिर्जित भएको बताए। उनले भने, ‘यो प्राकृतिक विपद मात्र होइन मानव सिर्जित प्राकृतिक विपद् हो। हिजोका पुस्ताले भारतसँग गरेका असमान, राष्ट्रघाती सन्धीले गर्दा हामी डुबानमा परेका छौँ।’ आक्रोशित रूपमा प्रस्तुत भएका रावलले भने, ‘भारतले बनाएका बाँधका केही ढोका खोल्दा मात्रै पनि हामीले गर्व गर्नुपर्ने अवस्था आएको छ।

आज भारतको हेपाहा प्रवृत्तिका कारण, दशगजाभित्र बनाएका संरचनाका कारण यो डुबान भएको हो।’ प्रतिपक्ष दल कांग्रेस सभापति शेरबहादुर देउवाले चुरे संरक्षणमा भारतको साथ लिनुपर्ने धारणा राखेकोप्रति असन्तुष्टि जनाउँदै रावललेभ ने, ‘ भारतसँग सँगसँगै गएर चुरे संरक्षण गर्नुपर्छ भनिएको छ, त्यो हुँदैन। चुरे संरक्षणका लागि हामी आफैँ सक्षम छौँ।’ यसअघि कांग्रेसले संसद अवरुद्ध गरेकोप्रति पनि उनले आक्रोश पोखेका थिए।

उनले कांग्रेसलाई कस्तो संसदीय अभ्यास गरेको हो भनेर प्रश्न गरेका थिए। ‘साउन ३ गते दर्ता गरिएको प्रस्ताव छलफलमा नआउने तर आज प्रस्तुत गरेको प्रस्ताव छलफलमा छ यो कस्तो हठ र दम्भ प्रस्तुत भइरहेको छ? प्रधानमन्त्री र गृहमन्त्री बोल्न खोज्दा वेल घेरेर कस्तो संसदीय व्यवस्थाको अभ्यास गर्न खोजिरहेका छौँ?’ भारतीय राजदूतले सांसदका घरमा पत्र काटे सांसद रावलले भारतीय राजदूत मञ्जिभसिंह पुरीले कुटनीतिक मर्यादा नाघेको बताएका छन्।

सांसदहरूलाई आफ्नोमा आऊ भनेर बारम्बार पत्र पठाएको भन्दै उनले असन्तुष्टि पोखेका थिए। उनले भने, ‘भारतीय राजदूतले कुटनीतिक मर्यादालाई नाघेर सांसदहरूका घरघरमा पत्र काटिरहेका छन्।’ उनले सांसदहरू लामबद्ध भएर राजदूतावासमा जानु मर्यादाविपरीत भएको बताए।

उनले सांसदहरूलाई भने, ‘लामबद्ध भएर, मर्यादा ख्याल नगरी जाने हामी आफैँलाई प्रश्न गर्न चाहन्छु।’ केही पहिले सांसदहरू भारतीय राजदूतलाई भेट्न सामूहिक रूपमा गएका थिए। केही महिला सांसदहरूलाई राजदूतावासले चिया खान बोलाएको कुरा सार्वजनिक भएको थियो। जसमा सत्तारुढ नेकपाका सांसदको पनि उपस्थिति थियो। थाहाखबरबाट ।

सम्बन्धित खवर

Back to top button