काठमाडाैं : भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख समान्त गोयलले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेका छन् । समान्त भेट्न ज्ञानेन्द्र लैनचौरस्थित भारतीय दूतावासको पछाडि वीरेन्द्र प्रहरी अस्पताल छेवैमा रहेको ‘सकारात्मक सोचका प्रवर्तक’ दाबी गर्ने विवादित पर्यटन व्यवसायी कर्णको शाक्य निवासमा भेटेका हुन् । ज्ञानेन्द्र राति ११ बजे आफैंले कार हाँकेर समान्त भेट्न शाक्य निवास पुगेका थिए । यद्यपि भेटलाई अहिलेसम्म गोप्य राखिएको छ ।
स्रोतका अनुसार ज्ञानेन्द्रले राजनीतिक दलहरुसँग जनता निराश बनेको र त्यसको विकल्प आफू भएको दाबी गरेका थिए । याे सँगै राजनीतिमा नयाँ तरंग थिपएकाे छ । एकातिर विप्लव नेतृत्वकाे नेकपाद्वारा तरंगित भैरहेकाे राजनीति थप तरंगित बनेकाे हाे ।
पूर्वराजा ज्ञानेन्द्रले राजतन्त्र पुनस्र्थापनाका लागि सहयोग गर्न र त्यसपछि आफू भारतीय चाहनामा काम गर्न तयार रहेको प्रतिबद्धता समान्तसमक्ष गरेका थिए । पहिला भारतलाई चिढ्याएर आफूबाट गल्ती भएको र आगामी दिनमा त्यस्तो नगर्ने पनि उनले बताएका थिए ।
गोयलले नेपालबाट धर्मनिरपेक्षता र संघीयता छिट्टै खारेज हुने र त्यसपछिको एजेण्डा राजतन्त्र भएको भारतीय संस्थापनको सन्देश ज्ञानेन्द्रलाई सुनाएका थिए । एकैपटक सबै एजेण्डाबाट व्याक हुन खोज्दा जनताले समर्थन नगर्ने भएकाले भारतीय चाहना पहिला नेपाललाई हिन्दू राज्य कायम गर्ने संघीयता खारेजी गर्ने रहेको बताए ।
‘राजतन्त्र रेलको अन्तिम डिब्बा हो’, गोलयको भनाइ उद्धृत गदै्र्र स्रोतले भन्यो, ‘अगाडिको डिब्बाका रुपमा रहेका धर्मनिरपेक्षता र संघीयता गएपछि पछाडिको डिब्बा (राजतन्त्र) स्वतः अगाडि आउँछ ।’ गोयलले त्यसअघि प्रधानमन्त्री केपी ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख विपक्षी काँग्रेस नेता शेबरहादुर देउवालाई छुट्टाछुट्टै भेटेका थिए । ती सबै भेटबारे नेताहरुले केही बोलेका छैनन् ।
यो पनि
प्रचण्ड र प्रम ओलीसँग गाेप्य भेट
रअ प्रमूख गोयल खुमलटार छिर्नासाथ प्रभु साह निस्किएका थिए । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसीस विङ्स रअ का प्रमूख सामन्त गोयलसँग नीजि निवास खुमलटारमा ‘वान टु वान’ वार्ता गरेको खुलेको छ । स्रोतका अनुसार गोयलसँग पुगेका रअका अन्य पदाधिकारीबाहेक पनि प्रचण्डले भेट गरेको खुलेको हो । भेटमा नेपालको राजनीतिक अवस्था र भारतसँगको सम्बन्धका विषयमा कुराकानी भएको अनुमान गरिएको छ ।
गोयल खुमलटार पुग्दै गर्दा नेकपाका अर्का नेता प्रभू साह प्रचण्डनिवासमा थिए । तर, साहले सामुहिक भेटमा समेत बस्ने मौका पाएनन् । गोयल छिर्नासाथ उनी खुमलटारबाट निस्किएका थिए । साह मंगलबार दिउँसो हुने भनिएको सचिवालय बैठकमा कुन नेतालाई कस्तो विभागका लागि दाबी गर्न सकिन्छ भन्ने परामर्शका लागि प्रचण्डनिवास पुगेका थिए । सोही मौकामा गोयल छिर्नासाथ साह निस्किए र प्रचण्डले अन्य नेता कार्यकर्तासँगको भेट रद्द गरी गोयलसँग वार्ता गरेका थिए ।
उच्च स्रोतले भन्यो,‘रअका पदाधिकारी आउनासाथ साह निस्कनु भयो, प्रचण्ड एक्लैले वार्ता गर्नुभएको थियो ।’प्रचण्ड–गोयलको भेटलाई कतिपयले कुटनीतिक मर्मविपरित भएको भन्दै आलोचना गरेका छन् । खासगरी नेकपाका नेता भिम रावलले नै उक्त भेटको आलोचना गरेका थिए ।
कतिपयले भने गोयलको भेट प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भएको तर प्रचण्डसँगको भेटको मात्र गलत हिसाबले व्याख्या गरिएको टिप्पणी गरेका छन् । गोयलसँग प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पनि भेट भएको थियो ।