‘यो देशमा गरिवको भागमा न्याय रहेनछ’
कञ्चनपुर : ‘मेरा आँखा यति कमजोर छन् भन्ने कहिल्यै सोचेकै थिइनँ’, निर्मला पन्तकी आमा दुर्गादेवी भक्कानिइन् । जब निर्मलाको नाम दुर्गादेवीको कानमा ठोकिन्छ, उनका आँखा यसरी नै बगि…..रहन्छन् । अविरल । आँशु बग्दाबग्दै मुखबाट हिक्का छुट्छ – ‘हिक्क हिक्क…’ । दुर्गादेवीका आँखा तिनै हुन्, श्रीमानले भक्कु कुट्दा पनि नरसाएका । दुर्गादेवी गर्भवती थिइन्, त्यहीबेला भएभरको पैसा कुम्ल्याएर श्रीमानले अर्की भगाउँदा पनि उनका आँखा यति धेरै रसाएनन् । यति धेरै कमजोर बनेनन् ।
काखे छोरी च्यापेर सीमापारिबाट भारी बोक्दा दुर्गादेवीको निधारबाट पसिना चुहिन्थ्यो । तैपनि आँखाबाट आँशु खसेन । बसेर रुनुको साटो बरु उनी खेतमा फलेको गहुँ/धानको भाग मलाई पनि चाहिन्छ भन्दै श्रीमानसँग अधिकार खोज्न पुग्थिन् ।
दुर्गादेवीलाई श्रीमानले चटक्कै माया मारेको १२ वर्ष भयो । तर, तीन छोरीसँग दुःख बाँडेर, दुःख खाएरै हाँसिन् दुर्गादेवी । उनका आँखामा यिनै तीन छोरीको सफलता देख्ने सपना पो थियो । त्यसैले छोरीहरुकै सुखका लागि उनी मजदुरी गर्थिन् । गाउँलेलाई खाजा खुवाएर छोरीहरुको कलमकापीको जोहो गर्थिन् । चटपटे बेचेर चामल किन्थिन् । हिम्मतिली दुर्गादेवीलाई लाग्थ्यो, ‘मेरा छोरा भनेकै यीनै छोरीहरु हुन् । मलाई के पीडा ? यिनीहरुकै सुख देखेर जिन्दगीभर बाँच्नेछु ।’
तर, एकाएक दुर्गादेवीका अगाडि दुःखको पहाड यसरी उभियो कि उनका आँखाहरु साउन बनेर बर्सिन थाले, मन भुकम्प जसरी काप्न थाल्यो । त्यो पनि सानो हो र ? नौ रेक्टरको भूकम्पजसरी । गत साल साउनदेखि र्झन सुरु भएको आँखाको झरी यो वर्ष पनि ओभाएको छैन । लाग्छ, आँशु यस्तो भल रहेछ, जो रोएर कहिल्यै नरित्तिने ।
११ साउन, ०७५ । दिउँसोको त्यस्तै ११ बजेको हुँदो हो । सूर्यलाई बादलले छपक्क छोपेको थियो । रातभरको पानीले पनि खुलेको थिएन आकाश । घरदेखि करिव डेढ किलोमिटर पूर्व बाटो छेउमा भासी खोला छ । खोला छेउको उखुबारीको डिलमा सुतिरहेकी थिइन्, निर्मला । त्यो उखुबारी छेउछाउ घर छैनन् । बरु रुखहरु छन् ।
खै निर्मला कतिबेलादेखि त्यसरी त्यहाँ सुतिरहेकी थिइन् ? यसको उत्तर गर्भमै छ । तर, रातभरको पानीले जलमग्न थियो उखुबारी । त्यही हिलाम्मे पानीमा निर्मलाको मुख गडेको थियो । आधा हरमा कपडा थिएन । आधा हरमा भएको रातो कुर्तामा रगतका टाटा थिए । र, शरीरमा चो ट । रक्तसञ्चार र श्वासप्रश्वास लुटिएकी निर्मलाको छालाको रङ नीलो थियो । नजिकै रातो साइकल टल्किएको थियो – टिलिक्क ।
यही दृश्य हो, दुर्गादेवीको हेउ खसाल्ने । यो दृश्यको फोटो/भिडियोले साहसी दुर्गादेवीलाई क्षणरभरमै चौदोब्बर कमजोर पारिदियो । ‘कहिल्यै कसैको अपमान नगर्ने जिम्मेवार छोरीलाई त्यो हालतमा देख्दा आमाको मन कस्तो होला ? मन अरुलाई देखाउन मिल्दैन’, घरको भित्तामा टाउको टेकाएर रुँदैछिन् दुर्गादेवी । दुर्गादेवी रोई बसेको उल्टाखामको यो घर सुनसान छ आजभोलि । मूलढोकाका दुवैतर्फका ढोकाहरु बन्द छन् । दुबै ढोका अगाडि एक-एक वटा साइकल छन् । ढोकाछेउमै प्लास्टिकको कुर्सीमा छिन् दुर्गादेवी ।
रातोमाथि कालो रङको बुट्टेदार कुर्ता पहिरिएकी दुर्गादेवीको अनुहार मख्लक्क छ । ‘मलाई यो घर देख्दै उन -निर्मला) को यादले पिरोल्छ । उ… त्यहाँको दोकान उसले नै सम्हाल्थी । भान्सा देख्दा उसको याद आउँछ’ दुर्गादेवी झन् अँध्यारो बन्छिन्, ‘हिजो तीनवटा थाल हुनेमा आज दुईवटामा भात देख्दा आँत सुक्छ । कहिले त झुक्किएरै तीनवटा थालमा भात पस्किन्छु । पस्कँदा पस्कँदै झस्कन्छु ।’
निर्मलाको सम्झनमा पलपल झस्कँदै बाँच्नु त छँदैछ दुर्गादेवीलाई । तर, एक वर्षसम्म पनि छोरीका बलत्कारी र हत्यारा पत्ता नलाग्दा आमाले हार खाएकी छिन् । दुर्गादेवीसँग पीडामिश्रति आ क्रोश छ, ‘सबले न्याय पाए, मेरी छोरीले पाइन । पापीलाई किरा परोस् । म पीडितलाई त पीडा भोग्नुबाहेक अर्को उपाय के छ र ?’
निर्मलाको न्यायको निम्ति देश नै उर्लिएको थियो । तर, आज त्यो न्यायको आन्दोलन परालको आगोजस्तो सामसुम छ, सामसुम पारिएको छ । दुर्गादेवीको आत्मा शून्य-शून्य छ । शून्य आत्मा बोल्छ, ‘यसरी आवाज उठेर न्याय नपाउनुभन्दा त आवाज नै नउठ्नु राम्रो रहेछ । उल्टै मलाई पीडामाथि पीडा थपिएको छ । अब देशले निर्मलालाई न्याय दिलाउला भन्ने आशै छैन ।’ न्यायको आश त गर्नसम्मै गरेकी थिइन् नि दुर्गादेवीले ।
****
निर्मला गएपछि दैनिकीहरु कसरी आए, कसरी गए दुर्गादेवीलाई थाहा भएन । तर, उनका घरमा मानिसहरु आइरहे । सम्झाइरहे । कहिले गाउँले आएर सम्झाए, कहिले अधिकारकर्मी आएर सम्झाए । कहिले नेता आएर सम्झाए, कहिले पत्रकार आएर समाचार बोकेर गए । निर्मलाविनाको त्यो घर जहिल्यै भरिभराउ । दुर्गादेवीका आँखाले भने भरिभराउलाई पनि शून्य देख्थ्यो ।
दुर्गादेवीलाई थाहा हुँदैनथ्यो, को मान्छे आए, को गए । उनी त अन्योलमा बाँचेकी थिइन्, ‘के गर्ने, के नगर्ने ?’ त्यतिबेला दुर्गादेवीलाई मात्र आँशुको भाका थाहा थियो । प्यारी छोरीको वियोगले दुर्गादेवीको गाँस बिर्सायो । शरीर थररर काँपेपछि बल्ल उनलाई थाहा लाग्थ्यो – अहो ! मैले त खानै पो खाएकी रहेनछु । र, पनि गाँस घाँटीमुनि मरे छिरे त !
अभाव बिर्सायो । जिन्दगी बिर्सायो । विस्तारै छोरीको न्यायले सम्झायो । नराम्ररी झक्झक्यायो । र, दुर्गादेवीले अड्डी कसिन्, ‘छोरीको जीवन नर्क बनाउनेलाई हत्कडी लगाएरै छोड्छु । ता कि निर्मलाले जस्तो पीडा अरुका छोरीहरुले भोग्नु नपरोस् । अरुका आमाहरुले मैले जसरी तड्पिनु नपरोस् ।’ दुर्गादेवीको यो संकल्पका पछि लाखौँ जनता उभिए । मिडियाकर्मीहरु उभिए ।
दुर्गादेवी कञ्चनपुरको सडकमा गएर कुर्लिईन् । दिनदिनै पत्रकारहरुलाई अन्तरवार्ता दिइन् । सडक संघर्षमा प्रहरीको गोलीबाट सनी खुना मारिए, कैयौँ घाइते भए । प्रहरीले अपराधी भन्दै कहिले कसलाई पक्राउ गथ्र्यो, कहिले कसलाई । दुर्गादेवीलाई अलिकति आशा जाग्थ्यो । कहिले कसको नेतृत्वमा अनुसन्धान टोली गठन हुन्थ्यो, कहिले कसको । उनलाई लाग्थ्यो, ‘यतिजना धेरै मानिस उठेका छन्, एकजनाले त कसो पत्ता नलगाउला र त्यो पिचासलाई ।’
निर्मलालाई सारा देशले चिन्यो । तर, अहिलेसम्म निर्मलाका हत्यारालाई कसैले चिन्दै चिनेन । कञ्चनपुरबाट कराउँदा सिंहदरबारको कानले सुनेन कि भनेर दुर्गादेवी काठमाडौं पुगिन् श्रीमानसँगै । निर्मलाको वियोगले दुर्गादेवीलाई १२ वर्षपछि श्रीमानसँगको योग जुरायो । दुर्गादेवी माइतीघरबाट हाते माइक समाएर सिंहदरवारतर्फ फर्किइन् र न्यायको भिख मागिन् । अझै सुनेनन् कि भनेर बालुवाटार पुगेर प्रधानमन्त्रीलाई नै भेटिन् ।
‘त्यतिबेला अपराधी पत्ता लाग्छ भन्ने ठूलो आशा बोकेर काठमाडौं पुगेकी थिएँ । अझ जसको हातमा कानुन छ, देश छ उसलाई नै भनिसकेपछि त छोरीले पक्कै न्याय पाउछे भन्ने विश्वास थियो’, यतिबेला मन नलागी नलागी बोलिरहेकी छिन् दुर्गादेवी । केही समयपछि दुर्गादेवीलाई भेटेका प्रधानमन्त्रीले भनिदिए, ‘निर्मलाको हत्यारा पत्ता लाग्न १२ वर्ष पनि लाग्न सक्छ ।’
****
आशाको ठूलो भारी बोकेर दुई छोरी भएको घरमा फर्केकी थिइन्, दुर्गादेवी । उनलाई नगरपालिका, प्रदेश र केन्द्रीय सरकारबाट राहत रकम पनि आयो । तर, उनको हातमा राहत के आएको थियो, उनका श्रीमान घाँटी निमोठ्न आइपुगे । आन्दोलनका क्रममा दुर्गादेवीसँग तीन महिना बसेपछि श्रीमान आफ्नो पुरानै गुँडतिर लागेका थिए । फेरि उनै श्रीमान राहतको भाग खोज्दै दिनदिनै झगडा गर्न दुर्गादेवीकहाँ आउन थाले ।
दुर्गादेवी बोल्दैछिन्, ‘यसरी घाँटी अँचेट्थ्यो कि सास फेर्नै गाह्रो पथ्र्यो । कुट्नुसम्म कुट्थ्यो ।’ विस्तारै-विस्तारै सरकारबाट दुर्गादेवीले १८ लाख राहत बुझिन् । पछिल्लो समय उनका श्रीमान किचकिच गर्न आउन छाडेका छन् । तर, गाउँलेले कुरा काट्न थालेका छन्, ‘छोरीको पैसाले सेठिनी भई ।’ दुर्गादेवीको मुटुमा सियो घोँचेजस्तो भएको छ । यसको जवाफ उनीसँग आशु मात्र छ, ‘मैले माग्न गएकी त होइन नि !’
१० महिना बित्यो । रगत र आँशुमा लुट्पुटिँदै चिहानमा पुगेकी निर्मलाले न्याय पाइनन् । बाँकी दुई छोरीको जीवन त चालउनु नै छ । दुर्गादेवी जागिरको खोजीमा भौतारिइन् । एक महिनाअघि भीमदत्त नगरपालिकाका मेयरले दिए नगरपालिकामा जागिर । अहिले नगरपालिकाको महिला तथा वालवालिका शाखाकी कर्मचारी छिन् दुर्गादेवी ।
कञ्चनपुर ४० डिग्री सेल्सियस तातोले हपहपी छ । दुर्गादेवी साइकलमा कुद्दै नगरपालिका गेटभित्र छिरिन् । दुर्गादेवी चढ्ने साइकल पनि रातो छ – निर्मलाकै जस्तो । कार्यालयअघि साइकल रोक्दै दुर्गादेवीले भनिन्, ‘साइकल छुँदा पनि छोरीको याद आउँछ । उसले चढ्ने साइकल अहिले पनि जिप्रकामा छ । झुक्किएर त्यो साइकल देखे मुटु थरथर काँप्छ ।’
सम्झनाहरु ठोक्किएका हरेक वस्तुहरुमा लुकेर बसेका हुन्छन् ।
छोरीको याद दिलाउने चिज -साइकल मा कार्यालय आउजाउ गर्दा दुर्गादेवीको बाटो छेक्न आइपुग्छ- निर्मलाको सम्झना । अझ जहाँ निर्मलाको विभ त्स दृश्य थियो, त्यही बाटो हुँदै दुर्गादेवीले दिनमा दुईचोटि साइकलको पाउदानी हान्नुपर्छ । ‘त्यो ठाउँ आउँदा आङ सिरिंग हुन्छ’, हालखबर सुनाउँछिन् दुर्गादेवी, ‘अर्को बाटो जाऔँ त निकै लामो छ । फेरि त्यो ठाउँमा पनि सद्दे मान्छे हुन्छन् भन्ने ग्यारेण्टी के छ र ?’
आज पनि यही बाटो हुँदै घर पुगिन् दुर्गादेवी । यतिबेला दुई छोरी दिउँसै गेटमा ताल्चा ठोकेर घरभित्र बसिरहेका थिए । ती छोरी पलपल यस्तो डर बोकेर बाँचिरहेका छन् कि कतै कोही आएर मलाई पनि दिदी/बहिनीलाई जस्तै अवस्थामा पुर्याउनँछन कि !
निर्मलाकी दिदीबहिनी आजभोलि बजार पनि त्यति निस्कँदैनन् । निस्किहाले पनि अगाडि-पछाडि हेर्दै हिँड्छन् । बाटोमा लोग्ने मान्छे देख्यो कि उनीहरुको मनमा चिसो पस्छ । डरैडरमा जेठी छोरीको एसईईको रिजल्ट खस्कियो – सी प्लस । कान्छी छोरी आमासँग भन्छिन्, ‘स्कुल पनि डराई-डराई जान्छु ।’
थाहा छैन उनीहरुलाई निर्मलाको दिदीबहिनी भएकै भरमा भोलि समाजले के-केसम्म भन्ने हो । दुर्गादवीको डर बोल्छ, ‘म कार्यालयमा हुन्छु, घरमा छोरीलाई केही हुन्छ कि भन्दै तडि्पएरै काम गर्छु । आजभोलि जता गयो, त्यतै डर लाग्छ मलाई ।’ यसरी नै दुर्गादेवीले नगरपालिकामा एक महिना काम गरिन् । पहिलो महिनाको तलब बुझिन् । तर, तलब लिँदा पनि निर्मलाकै यादले सतायो ।
‘आज छोरी भएकी भए त उसले पनि खान्थी होला नि ! मलाई त उसको रगत र आँशु खाएजस्तो लाग्छ ‘, दुर्गा फेरि भक्कानिइन् ।’ तर, पनि मान्छेहरु दुर्गादेवीलाई उडाउँछन् – ‘यसले त जागिर पो खाई !’ आजभोलि दुर्गादेवीलाई लागेको छ, ‘यो आमाको तडि्पएको आत्मा बुझ्ने कोही रहेनछ । सबैले आफ्नो मनोमानी गरे, छोरीको अपराधी पत्ता लगाएनन् । अनि अहिले मलाई एक्लै पारे ।’
श्रीमानले अर्को घरजम गर्दा पनि हार नमानी तीन छोरीलाई हुर्काएर शिक्षादीक्षा दिइरहेकी दुर्गादेवीले यतिबेला आएर जिन्दगीदेखि नै हरेस खाइसकेकी छिन् । दुई छोरीको मायाले गर्दा उनले चरेस खान सकेकी छैनन् । भन्छन् नि, चरेस खाऊ तर हरेस नखाऊ ।
कसैले निर्मलाको विषयमा कुरा गर्न पुग्दा आमा दूर्गादेवी रुँदै भन्छिन्, ‘मलाई चिन्ता थप्न नआउनुस् । पटक-पटक नगिजोल्नुस् । म ठूलो अन्यायमा परेँ, तर आफ्नै दुःखमा बाँच्न दिनुहोस् । न मेरी छोरीले कसैको केही बिगारेकी थिई, न मैले बिगारेकी छु ।’
१० महिनासम्म निर्मलाको न्यायकै लागि दौडेकी दुर्गादेवीको मनमा अहिले रकेट गतिमा हुण्डरी दौडिरहन्छ । उनको मुटु थरथर छ । उनको दिन आँशुबाट शुरु हुन्छ र आँशुबाटै अन्त्य । अहिले उनीसँग अर्को निश्कर्ष छ, ‘यो देशमा गरिवको भागमा न्याय रहेनछ ।’ अनलाइन खबरबाट ।